१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिक्किम विधानसभामा दास

पर्वत पोर्तेल

गान्तोक, सिक्किम — सिक्किम विधानसभाको करिब चार दशक लामो इतिहासमा दलित समुदायबाट पहिलोपटक अध्यक्ष (स्पिकर) चुनिएका छन् । गत अप्रिल ११ मा सम्पन्न सिक्किमको १० औं विधानसभा चुनावमा पूर्व गान्तोक जिल्लाको पश्चिम पेंडमबाट निर्वाचित ५० वर्षीय एलवी दास अध्यक्ष भएका हुन् । 

प्रेमसिंह तामाङ (पीएस गोले) नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का उम्मेदवार दासले सिक्किम प्रजातान्त्रिक पार्टी (एसडीएफ) का प्रतिस्पर्धीलाई पराजित गर्दै विधानसभा विधायक बनेका थिए । गत जुन ३ मा उनी विधानसभा अध्यक्षमा निर्वाचित भएका हुन् । ‘दलित समुदायबाट विधानसभा स्पिकर हुनु हाम्रा लागि ठूलो राजनीतिक उपलब्धि हो,’ गान्तोकमा कान्तिपुरसँग दासले भने, ‘यो हाम्रा लागि ऐतिहासिक उपलब्धि हो ।’


सिक्किम विधानसभामा दलितका लागि २ सिट आरक्षित छ । अर्को सिट सुनीता गजमेरले जितेकी थिइन् । उनी पश्चिम सिक्किमको गेजिङ जिल्ला सालघारी जुम निर्वाचन क्षेत्रबाट विजयी भएकी थिइन् । सिक्किमको राजनीतिमा २ दलित विधायक त सधैं चुनिन्छन् । तर, प्रायः विधायकमै सीमित हुन्छन् । पवन चाम्लिङ नेतृत्वको सरकारमा अर्जुनकुमार घतानीबाहेक अहिलेसम्म कुनै दलित मन्त्री बनेका थिएनन् ।


सिक्किमको राजनीतिमा पुर्‍याएको योगदानका कारण दास महत्त्वपूर्ण पदमा चुनिन सफल भएका हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय दास सामाजिक असमानता तथा विभेदविरुद्ध आवाज बुलन्द पार्दै आएका छन् । ‘सामाजिक विभेद र उचनिचले मलाई राजनीति गर्न प्रेरित गर्‍यो,’ दासले भने, ‘यस्ता विकृति र विसंगतिको विरोध राजनीतिक रूपमै गरे मात्रै समाज परिवर्तन हुन्छ भन्ने लाग्यो ।’


सामान्य दलित परिवारमा जन्मिएका दास पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको राजनीतिक पार्टी सिक्किम संग्राम परिषद् (एसएसपी) मा सामेल भए । उनी संग्राम परिषद्को कार्यकर्ता हुँदा सिक्किममा पवन चाम्लिङ नेतृत्वको सिक्किम प्रजातान्त्रिक फन्ट (एसडीएफ) सत्तामा थियो । सत्ताको मोहले डोर्‍याएको भए उनी एसडीएफमै जान सक्थे ।


तर सन् १९९९ को विधानसभा निर्वाचनमा संग्राम परिषद्बाट उम्मेदवार बनेका उनी पराजित भए । तर करिब १५ वर्षपछि एसकेएममार्फत राजनीतिमा फर्किएका दासले अत्यधिक मतले चुनाव जिते । ‘मैले चाहेको भए सत्ताधारी दलबाटै उम्मेदवार बन्न सक्थें,’ दासले सुनाए, ‘तर, लामो समय शासन गरेको एसडीएफप्रति जनता खुसी थिएनन्, त्यसैले परिवर्तनको पक्ष थिए ।’


सिक्किम विधानसभामा ३२ सिट छन् । जसमा यसपटक पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १६ र पवन चाम्लिङ नेतृत्वको सिक्किम प्रजातान्त्रिक फन्टले १३ सिट जिते । बाँकी ३ सिटका लागि केही महिनापछि उपनिर्वाचन हुँदै छ । यी ३ सिट जितेमा चाम्लिङ नेतृत्वको एसडीएफले पुनः सरकार बनाउने सम्भावना छ । तर, जनलहर गोलेकै पक्षमै रहेकाले ३ सिट जितेर १९ बनाउने एसकेएमको दाबी छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?