हज गर्न मक्कामा लाखौं 

अब्दुल्लाह मियाँ

मक्का, साउदी अरब — साउदी अरबको मक्का र मदिनामा हज (तीर्थाटन) का लागि विश्वभरका लाखौं मुसलमान भेला भएका छन् । हिजरी पात्रोको बाह्रौं महिना जिल्हिज्जामा विश्वभरका मुसलमान हज गर्न मक्का र मदिना आउँछन् । 

हज गर्न मक्कामा लाखौं 

हज इस्लामका पाँच आधार स्तम्भमध्ये एक हो । हिजरी पात्रोको नवौं रमजानल मुबारक महिनामा विश्वभरका मुसलमानले एक महिना रोजा (ब्रत) बस्छन् र रोजा सकिएको हर्षोल्लासपूर्वक इदुल फित्र मनाउछन् । हजसँग बकर इद (इदउल अजहा) जोडिएको हुन्छ । मक्कामा भेला भएका मुसलमानले हज गरेको भोलिपल्ट नेपालसहित विभिन्न मुलुकमा बकर इद (इदउल अजहा) मनाइन्छ । जसअनुसार नेपालमा सोमबार उक्त पर्व मनाइने छ ।

जिल्हिज्जा महिनाको ८ तारिखदेखि हज सुरु हुन्छ । हजका लागि त्यसअघि सबै यहाँ आइसकेका हुन्छन् । जसअनुसार शुक्रबार साँझ मक्का वरपर होटलमा बसेका लाखौं हजयात्री हजको कसम खाएर मिना भन्ने स्थानतर्फ लाग्छन् । पुरुषले अनिवार्य रूपमा त्यहाँ प्रस्थान गर्नुअघि एहराम (सेतो रंगको नसिलाएको कपडा) लगाउनुपर्ने हुन्छ । महिलाका लागि यो अनिवार्य छैन ।


मिनामा हज यात्रीका लागि यहाँको सरकारले लाखौं टेन्ट राखेको छ । हजकार्य सुरु हुनुअघि नै उमरा सिध्याउँछन् । हज वर्षमा एकपटक अर्थात जिलहिज्जा महिनामा मात्र गर्न सकिन्छ भने उमरा बाह्रै महिना मक्कास्थित काबासरिफ र ऐतिहासिक सफा, मर्वाको परिक्रमा गरेर पूरा गर्न सकिन्छ ।

मिनाको खिमा (टेन्ट) मा गुजारेपछि ९ तारिखको बिहान फज्रको नमाजपछि (बिहानको प्रार्थना) पवित्र अराफात मैदान प्रस्थान गर्नुपर्ने हुन्छ । अराफात मैदान मिनाबाट साढे नौ किलोमिटर टाढा छ । उक्त मैदानमा यात्रीहरूले दिउँसोको जोहोर र अस्र (मध्याहृनको प्रार्थना) नमाज एकैपटक पढ्नुका साथै अन्य उपासना गर्छन् । मैदानसँगै लाखौं मानिस हट्ने मस्जिदे नम्र छ । घाम डुबेपछि यात्रीहरू अराफात र मिनाको बीचमा पर्ने मुज्दिल्फा भन्ने स्थानका लागि प्रस्थान गर्छन् । जुन स्थानमा अशक्तबाहेकका तीर्थालुलाई अनिवार्य एक रात बिताउनुपर्ने हुन्छ ।


मुज्दिल्फा एउटा पहाडको नाम हो । यहाँ बस्नका लागि खिमा र घरहरू छैनन् । खाली जमिनमा आफूले लगेका कपडा बिछ×्याएर रात कटाउनुपर्ने हुन्छ । लाखौं मानिस एकै स्थानमा सहभागी हुने भएकाले खाली जमिनसमेत पाउन मुस्किल हुन्छ । मज्दिल्फामा रातभरि तीर्थालुहरू जाग्राम बसेर प्रार्थनाका साथै अन्य उपासनामा व्यस्त हुन्छन् । फज्रको नमाज (बिहानको प्रार्थना) पछि यात्रीले सैतानलाई हिर्काउन सोही ठाउँबाट स साना ढुंगा (चनाको दाना जत्रो) संकलन गर्छन् ।


जम्रात (सैतान) का लागि ४९ वटा ढुंगा आवश्यक पर्छ । ढुंगा संकलनपछि मिनाबाट तीन किलोमिटर परको जम्रात (सैतान) लाई ढुंगाले हिर्काउन प्रस्थान गर्नुपर्ने हुन्छ । जानकारहरूका अनुसार सैतानलाई ढुंगा हान्नु पनि हजको एक अंग हो । सैतानलाई ढुंगा नहानेसम्म हज पूरा नहुने विश्वास छ । जम्रातमा तीनवटा सैतानलाई ढुंगा हान्नु अनिवार्य छ । पहिलो दिन सबभन्दा ठूलो सैतानलाई सातवटा ढुंगाले अल्लाह (ईश्वर) को नाम पुकार्दै (विस्मिल्लाहे अल्लाहु अक्बर भन्दै) हान्नुपर्ने हुन्छ ।

ढुंगा हानिसकेपछि प्रत्येक तीर्थालुले जनावरको कुर्बानी (बलि) दिनुपर्ने हुन्छ । बलि दिइसकेपछि कपाल मुण्डन गर्नु अनिवार्य छ । महिलाले भने कपालका केही रौं काटे पनि हुन्छ । दोस्रो र तेस्रो दिन तीन वटै सैतानलाई सात/सातवटा ढुंगाले हान्नुपर्ने हुन्छ । लाखौं मानिसले एउटै समयमा ढुंगा हान्नुपर्ने भएकाले त्यो कार्य कठिन पनि हुन्छ ।

चारवटा तल्लामा ढुंगा हान्ने व्यवस्था मिलाइएको छ । ढुंगा हानिसकेपछि तीर्थालुले अनिवार्य रूपमा मक्का हरमसरिफस्थित काबा (अल्लाहको घर) त्यस्तै, काबासँगैको सफा र मरवा नामका पहाडको समेत सातपटक परिक्रमा गर्नुपर्ने हुन्छ । यति भइसकेपछि हजको मुख्य अंश सकिन्छ ।


मक्कामा यी सबै काम सकेपछि तीर्थालुहरू अर्को पवित्र तीर्थस्थल मदिना मनौव्वरा जान्छन् । त्यहाँ कम्तीमा पनि आठ दिन बिताउनुपर्ने हुन्छ । हज गरी फर्किएका व्यक्तिलाई हाजी साहेब भनिन्छ । त्यो एक पदबीसमेत हो ।

राजाका ७ हजार भीआईपी पाहुना

यो वर्षको हजमा साउदी राजा सलमान बिन अब्दुलअजिज अलसाउदले आमन्त्रण गरेका ७९ देशका करिब ६ हजार ५ सय जनासमेत सहभागी छन् ।

२५ वर्षअघिदेखि राजाले हजकालागि विभिन्न देशका विभिन्न पेशाकर्मीहरुलाई आमन्त्रण गर्ने गरेका छन् । नेपालबाट १० जना आमन्त्रित यात्री छन् । सबैभन्दा बढी यमनबाट करिब ३ हजार जनालाई आमन्त्रण गरिएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?