कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हङकङ प्रदर्शन : अमेरिका र चीनबीच वाक्युद्ध

हङकङ विमानस्थलमा उत्रे प्रदर्शनकारी 
एजेन्सी

हङकङ — हङकङमा हालै भएका सरकारविरोधी प्रदर्शन चर्कदै जाँदा अमेरिका र चीनबीच वाक्युद्ध सुरु भएको छ । हङकङस्थित अमेरिकी कूटनीतिज्ञले प्रदर्शनकारीसँग कुराकानी गरेको तस्बिर चिनियाँ सरकारी सञ्चारमाध्यमले बिहीबार सार्वजनिक गरेपछि अमेरिकाले ‘हिंस्रक शासक’ को संज्ञा दिएको थियो । उक्त आरोप खारेज गर्दै चीनले अमेरिकालाई ‘गुन्डागर्दी’ तर्क गरेको जनाएको छ । 

हङकङ प्रदर्शन : अमेरिका र चीनबीच वाक्युद्ध

हङकङ सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन पछिल्ला दिनमा लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ । पछिल्ला प्रदर्शनहरूमा विवादास्पद सुपुर्दगी विधेयक फिर्ता, कार्यकारी प्रमुख क्यारी लामको राजीनामा तथा प्रहरी दमनको स्वतन्त्र छानबिन माग गरिएको छ ।


यसै क्रममा प्रदर्शनकारीले शुक्रबारदेखि हङकङ विमानस्थलमा ३ दिने विरोध सुरु गरेका छन् । उनीहरूले आफ्ना मागप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै विमानस्थलमा विरोध गरेका हुन् । विरोधमा हजारौं सहभागी छन् । एएफपीका अनुसार प्रदर्शनकारीले ‘तानाशाही शासन र प्रहरी दमनबाट हङकङलाई बचाऊ’ भन्दै नारा लगाइरहेका छन् । गतसाताको आमहडतालका कारण २ सयभन्दा बढी हवाई उडान रद्द भएका थिए ।


बिहीबार चीनले अमेरिकालाई आफ्ना कूटनीतिज्ञ हङकङको विरोध प्रदर्शनको नेतृत्वसँग सम्पर्कमा रहेको भन्दै विवरण मागेको थियो । बेइजिङ समर्थित ता कुङ पावो अखबारले अमेरिकी कूटनीतिज्ञ जुली एडेहले एक होटलमा विद्यार्थी नेतासँग भेटवार्ता गरेको तस्बिर ‘विदेशी शक्तिको हस्तक्षेप’ शीर्षकमा छापेको थियो ।


हङकङमा राजनीतिक संकट बढाउन अमेरिकाले साँठगाँठ गरेको चीनको आरोप छ । अमेरिकाले उक्त आरोप अस्वीकार गर्दै ‘आफ्नो देशका कूटनीतिज्ञले सरकारीदेखि व्यावसायिक तथा अन्य विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने गरेका’ जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन डिन आर्टागसले पत्रकारहरूसँग भनेकी छन्, ‘मलाई लाग्छ यो औपचारिक विरोध होइन, यो हिंस्रक राज्यले जे गर्छ त्यही हो ।’


उनले चीनले जिम्मेवार राष्ट्रले जस्तो व्यवहार नगरेको समेत आरोप लगाइन् । गतसाता गरिएको बृहत् विरोधपछि चीनले प्रदर्शनकारीलाई ‘आगोसँग खेल्ने प्रयासले आफैंलाई जलाउने’ चेतावनी दिएको थियो । हङकङस्थित चिनियाँ प्रमुख कार्यालयका प्रवक्ताले प्रदर्शनकारीलाई ‘केन्द्रीय सरकारको संयमलाई कम नआँक्क’ भनेका थिए ।


विश्वकै शान्तमध्येको सहर हङकङमा गरिएका विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक घटना हुने गरेका छन् । पछिल्ला सातामा प्रदर्शनकारी, प्रहरी र आपराधिक समूहसँग निकट ठानिएका मुखुन्डोधारीबीच हिंसात्मक झडपहरू हुन थालेका हुन् ।

विगतका प्रदर्शनमा केही सहभागी चिनियाँ सरकारी कार्यालयतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । कार्यालय रहेको भवनको ढोकामाथिको चिनियाँ प्रतीकमा प्रदर्शनकारीले तोडफोड प्रयास गरेपछि चिनियाँ अधिकारीले उक्त कदम ‘सह्य नहुने’ चेतावनी दिएका थिए ।


अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने प्रदर्शनकारीको दाबी छ । विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्ने भदै विशाल प्रदर्शन गरिँदै आएको छ ।


सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । बेलायतबाट स्वतन्त्र भएयता हङकङलाई ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत चीनले शासन गर्दै आएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?