१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भारतमा कसले गर्ला कंग्रेसको नेतृत्व

केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु-कश्मीरको विशेषाधिकार खारेज गर्ने लगायतका निर्णयले भारतीय राजनीतिक तरंगित बनिरहेका बेला सबैभन्दा पुरानो राजनीतिक पार्टी भारतीय राष्ट्रिय कांग्रेस भने अलमलको अवस्थामा रहेको छ । जसले गर्दा एकातिर सशक्त विपक्षीको भूमिका खेल्न नसकेको भन्दै सर्वत्र आलोचना भएको छ भने अर्कोतर्फ नेतृत्वको र प्रष्ट कार्यदिशाका अभावका कारण पुरै पार्टी पंक्ति अन्यौलग्रस्त देखिन्छ ।

भारतमा कसले गर्ला कंग्रेसको नेतृत्व

नेतृत्व चयन र यही अन्यौल चिर्न चौतर्फी दबाब बढेपछि शनिबारदेखि पार्टीको सबैभन्दा उच्च निकाय केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बस्ने भएको छ । दुई दिनसम्म चल्ने बैठकले विगत दुई महिनादेखि रिक्त समान रहेको नेतृत्वको चयन गर्ने प्रबल सम्भावना छ ।


दुई महिनाअघि राहुल गान्धीले लोकसभा चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरे लगत्तै अध्यक्ष पदबाट अलग भएको घोषणा गरेका थिए । चुनावी अभियानलाई एक्लै हाँकेका राहुल स्वयं आफ्नो परम्परागत सिट अमेठीबाट पराजित भएका थिए । उनी केरलाको वायनाड लोकसभा सिटबाट भने विजयी भएका थिए । पार्टीले औपचारिक रपमा राजीनामा स्वीकृत नगरे पनि पार्टीको निर्णय प्रक्रियाबाट भने उनी अलग बस्दै आएका थिए । तर, उनले त्यस्तो घोषणा गरेको दुई महिना बितिसक्दा समेत पार्टीले न त उनलाई राजीनामा फिर्ता गराउन सकेको छ न त नयाँ नेतृत्व चयन गर्न । जसले गर्दा पार्टी कार्यकर्तामा अन्यौल र निराश छाएको देखिन्छ । त्यतिमात्र होइन, नेतृत्वमा चयनमा भएको ढिलाईले दोस्रो तहका नेताहरुमा पनि छटपटी सुरु भएको छ ।


गान्धी परिवार र कांग्रेस पार्टीलाई विगत लामो समयदेखि नजिकबाट नियाँल्दै आएका वरिष्ठ पत्रकार रसिद् किदवाई पार्टीभित्रको पछिल्लो छटपटी लडाई गान्धी परिवारको बर्चस्वलाई के-कसरी निरन्तरता दिन सकिन्छ भन्ने रहेको बताउँछन् । किदवाई भन्छन्, ‘कसैलाई थाहा छैन, गान्धीहरुको दिमागमा के छ ।’ गान्धी परिवारले भावी नेतृत्वबारेमा संकेत नगर्दा पार्टीभित्र थप अन्यौल सिर्जना गरेको उनी बताउँछन् । यसले पार्टी पंक्तिमा पार्टीको भविष्यको चिन्ता गर्ने भन्दा पनि गान्धीहरुले के सोच्छन् भन्नेमा नै सबैको ध्यान केन्द्रित हुन पुगेको किदवाईको विश्लेषण छ ।


किदवाईको भनाईमा नेतृत्वमा जो आए पनि गान्धी नभए पनि पार्टीको कमाण्ड उनीहरुकै हातमा रहनेछ । तर, अहिले कांग्रेसमा सबल नेतृत्व भन्दा पनि कमजोर नेतृत्वको खोजी भइरहेको छ, त्यसका पछाडि कांग्रेसलाई बलियो बनाउने नभएर गान्धी परिवारको बर्चस्वलाई निरन्तरता दिओस् स्वार्थ लुकेको किदवाईको ठहर छ । यही स्वार्थले गर्दा कांग्रेसभित्र दोस्रो तहको नेताले भविष्य देखेको छैन र उसमा बेग्लै किसिमको छटपटि छ । र, त्यो छटपटि ३७० धारा खारेजी पछि पनि केही हदसम्म मुखरित भएको किदवाईको विश्लेषण छ । मोदी सरकारको जम्मु-कश्मीरको विशेषअधिकार खारेज गर्ने निर्णयको गान्धी परिवारको नजिक भनेर चिनिँदै आएका ज्योतिरआदित्य सिन्धिया, मिलिन्द देवरा, दिपेन्दर हुडालगायतका नेताहरुले त्यसको सार्वजनिक रुपमै समर्थन गरेका थिए ।


राहुल गान्धीले राजीनामा दिएको घोषणा गरे लगत्तै पार्टी अध्यक्षका लागि पन्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंह, सुशिलकुमार सिन्दे, अशोक गेहलोत, मल्लिकार्जुन खार्जे, प्रियन्का गान्धी, शशि थरुर, गुलामनबि आजादहरुको नाम चर्चामा रहे पनि पछिल्लो समय अध्यक्षको दौडमा महाराष्ट्रका ५९ वर्षीय कांग्रेस नेता मुकुल वासनिक अगाडि देखिएका छन् । गान्धी परिवारको निकट भएकाले पनि उनको अध्यक्ष बन्ने सम्भावना बढी रहेको जानकारीहरु बताउँछन् । गान्धी परिवार निकट नेताहरुले राहुल गान्धीलाई राजीनामा फिर्ता गराउन असफल भएपछि महासचिव प्रियन्का गान्धीलाई नेतृत्वमा अगाडि सार्न नखोजेको होइनन् । तर, राहुलले आफूले राजीनामा दिएको घोषणा गरेकै बेला प्रियन्काले नेतृत्व लिने सम्भावनालाई ठाडै नकारेका थिए । त्यसपछि ती नेताहरु गान्धी परिवारप्रति वफादारको खोजीमा लागेको बताइन्छ । र, त्यही क्रममा वासनिक विकल्पका रुपमा अगाडि सारिएको स्रोतको दावी छ ।


मुकुललाई नेतृत्वमा ल्याउन गान्धी परिवारका विश्वास पात्र वरिष्ठ नेता तथा पार्टी कोषाध्यक्ष अहमद पटेलको विशेष जोड रहेको कांग्रेस राजनीतिसँग परिचित जानकारहरुको दाबी छ । दलित समुदायबाट समेत भएकाले गान्धी परिवारले युपी र बिहारको जातीय राजनीतिलाई समेत ध्यानमा राख्दै उनलाई अध्यक्षमा अगाडि सार्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । उनी पार्टी संगठनका लागि अनुभव मानिन्छन् । सोनिया गान्धी पार्टी अध्यक्ष भएका बेला महासचिवका रुपमा काम गरिसकेका छ्न् । यदि वासनिक अध्यक्ष बनेको खण्डमा १३४ वर्ष लामो इतिहास भएको भारतको सबैभन्दा बुढो पार्टीमा गैर गान्धी परिवारबाट नेतृत्व सम्हाल्ने तेस्रो व्यक्ति हुनेछन् । यसअघि पिभि नरसिंह राव र सिताराम केसरीले त्यस्तो अवसर पाएका थिए । लोकसभा चुनावको नतिजा सार्वजनिक भएलगत्तै पार्टीका वरिष्ठ नेता मणिशंकर ऐय्यरले पनि गैरगान्धी व्यक्ति पनि अध्यक्ष हुन सक्ने बताए । तर, उनले गान्धी परिवार पार्टीभित्र भने सक्रिय रहनुपर्ने धारणा राखेका थिए ।


त्यसो त गान्धी परिवारले वासनीलाई अगाडि सार्ने सम्भावना रहे पनि पार्टीभित्र नेतृत्वका लागि चुनाव हुनुपर्ने माग समेत नउठेको होइन । विशेषगरी दोस्रो पंक्तिका नेताहरुले पार्टी संगठनलाई चुस्त र पारदर्शी नेतृत्वका लागि चुनाव गराउनु पर्ने माग भित्रभित्रै उठाउँदै आएका छ्न् । त्यसैले यदि गान्धी परिवारले वासनीलाई अध्यक्षका रुपमा अघि सारेको खण्डमा ज्योतिरआदित्य सिन्धिया, सचिन पाइलट, मिलिन्द देवरा, दिपेन्दर हुडालगायतका दोस्रो पंक्तिका नेताहरुलाई असन्तुष्ट पार्ने सम्भावना पनि त्यत्तिकै छ । मोदी सरकारको ३७० अनुच्छेद खारेज गर्ने हालैको निर्णयको पक्षमा यिनीहरुले दिएको सार्वजनिक अभिव्यक्तिलाई पनि उनीहरुको पार्टी नेतृत्व चयन प्रक्रियामा भएको ढिलाई र गान्धी परिवारको अपारदर्शी शैलीको सांकेतिक विरोधका रुपमा समेत अर्थ्याइएको छ ।


किदवाईका अनुसार कांग्रेस भारतीय जनता पार्टी (भाजपा) जस्तो विचारधारामा आधारित पार्टी नभएकाले भावनाको कुरा आउनासाथ कंग्रेस जहिल्यै पनि समस्या पर्ने गरेको छ । ‘यसपटक पनि भएको त्यही हो । विगतमा राममन्दिरको सवालमा पनि यस्तै भएको थियो । यसपटक धारा ३७० को विषयमा पनि,’ उनले भने । यसलाई कतिपयले कांग्रेस अन्यौलमा रहेको अर्थ्याउने गरेको किदवाईको ठहर छ ।


दुईदिन चल्ने सिडब्लुसिको बैठकले यिनै अन्यौल चिर्ने अपेक्षा पार्टी भित्र र बाहिर रहे पनि केही जानकारहरु भने यसपटक बैठक पनि पार्टीले कुनै ठोस निर्णय नलिने र अन्तरिम अध्यक्ष वा उपाध्यक्ष राख्ने किसिमको टालटुले निर्णयमै सिमित हुने सम्भावना पनि रहेको दाबी गर्छन् । स्वयं राहुल पनि पछिल्लो समय पार्टीको भावी नेतृत्वका लागि थप बृहत छलफल हुनुपर्ने पक्षमा रहेको बताइन्छ ।

प्रकाशित : श्रावण २५, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?