उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण

एजेन्सी

सोल — उत्तर कोरियाले शनिबार दुईटा क्षेप्यास्त्र परीक्षण गरेको छ । शनिबारको परीक्षण उत्तर कोरियाले तीन सातायता गरेको पाँचौ हो ।

दक्षिण कोरियाली सेनाले शनिबार परीक्षण गरिएका प्रक्षेपित क्षेप्याप्त्र छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र भएका अनुमान गरेको छ । छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र क्षेप्यास्त्र निर्माण तथा परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषद्का विभिन्न ११ वटा प्रस्तावको उल्लंघन हो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनबाट ‘एक सुन्दर पत्र’ प्राप्त गरेको बताएलगत्तै प्योङयाङले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिएको हो । ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासका कारण किम रुष्ट छन् ।


दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाको हामग्योङ प्रान्तको हामहुङ सहर नजिकैबाट शनिबार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो । ती क्षेप्यास्त्रहरू करिब ४८ किलोमिटर माथिबाट उड्दै ४ सय किलोमिटर परको कोरियाली द्वीपको पूर्वमा अवस्थित ‘सी अफ जापान’ खसेका थिए ।


दक्षिण कोरिया र अमेरिकाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासका कारण उत्तर कोरिया रुष्ट छ । अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास हुँदै छ । उत्तर कोरियाले त्यसलाई युद्धको तयारी भएको बताउने गरेको छ ।


उत्तर कोरियाले एक साताअघि परीक्षण गरेका छोटो दूरीका दुई क्षेप्यास्त्र नयाँ किसिमका भएका दक्षिण कोरियाली अधिकारीहरूले दाबी गरेका थिए । पछिल्लो समय भएका परीक्षणलाई सैन्य अभ्यासप्रति उत्तर कोरियाको असन्तुष्टिका रूपमा लिइएको छ । उत्तर कोरियाको असन्तुष्टिका बाबजुद दक्षिण कोरिया तथा अमेरिकाले अभ्यास रद्द गर्न भने अस्वीकार गरेका छन् ।


यसअिघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्र छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आत्तिनु नपर्ने बताएका थिए । यद्यपि, कतिपय अधिकारीले उत्तर कोरियाका पछिल्ला कदमले कोरियाली द्वीपमा शान्ति स्थापनाका लागि उसको इमानदारीमाथि प्रश्न उठाएका छन् ।


गत महिना दुई कोरियालाई छुट्याउने गैरसैनिक क्षेत्रमा भएको अप्रत्याशित भेटवार्तामा ट्रम्प र किमले कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने सहमति दोहोर्‍याएका थिए । ट्रम्प र किमबीच सिंगापुर र भियतनाममा समेत शिखर बैठक भएको थियो । दुई नेताबीचका वार्ता उत्तर कोरियाको निःशस्त्रीकरणमा केन्द्रित भएका थिए ।


दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास सिंगापुर बैठकका क्रममा जारी संयुक्त वक्तव्यको ‘मर्मविपरीत’ भएको उत्तर कोरियाको ठहर छ । उसले सैन्य अभ्यासका कारण पुनः वार्ता हुने सम्भावना टर्न सक्ने चेतावनी दिएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?