२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आप्रवासी नीति कडा पार्दै अस्ट्रेलिया

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले आफ्नो आन्तरिक सुरक्षालाई मजबुत बनाउने उद्देश्यले आप्रवासी नीति कडा पार्ने तयारी गरेको छ । आप्रवासी नियममा पछिल्लो समय कडाइ गर्दै आएको सरकारले विदेशी नागरिकले आफ्नो देशमा कुनै अपराध गरेको खण्डमा उनीहरूको देशमा फिर्ता पठाउने नियममा परिमार्जन गर्न लागेको हो । 

आप्रवासी नीति कडा पार्दै अस्ट्रेलिया

आप्रवासीका लागि सुरक्षित देशका रूपमा चिनिँदै आएको अस्ट्रेलियाले आफ्नो आन्तरिक सुरक्षा र व्यवस्थालाई मध्यनजर गर्दै आप्रवासी नियम परिवर्तन गरी कडाइ गर्न लागिएको हो । परिवर्तित नियमअनुसार कुनै पनि अपराधमा एक वर्ष जेल सजाय भोगेका व्यक्तिलाई देशनिकाला गर्दै आएको अस्ट्रेलियाली सरकारले अबदेखि कुनै जेल सजाय नभोगेका विदेशी नागरिकलाई समेत उनीहरुको देश फिर्ता पठाउन सक्ने भएको छ । कुनै पनि सजायमा दुई वर्षसम्म सजाय तोकिएको खण्डमा उनीहरुलाई अस्ट्रेलिया सरकारले अबदेखि उनीहरुकै देशमा फिर्ता पठाउने भएको हो । यससम्बन्धी नयाँ नियमबारे अध्यागममन्त्री डेभिड कोलम्यानले सार्वजनिक गरेका छन् ।


‘वास्तवमा यो आप्रवासीहरूप्रति कठोर रूपमा प्रस्तुत हुनेभन्दा पनि आफ्नो देशको भाइचारा र सुरक्षालाई ध्यान दिएर ल्याउन लागिएको नियम हो,’ अध्यागमन विषयका विज्ञ सञ्जीव पाण्डेले कान्तिपुरसँग भने । उनको भनाइमा पछिल्लो समय अस्ट्रेलिया देशको आन्तरिक सुरक्षा र सद्भावमा केन्द्रित भएका कारणसमेत नयाँ नियम ल्याइरहेको हो । कुनै पनि देशले आफ्नो देशका नागरिक तथा व्यवस्थाको सुदृढीकरणका लागि ल्याउने नयाँ नियमहरुलाई अन्यथा मान्न नहुने उनको भनाइ छ ।


स्थानीय सञ्चारमाध्यमका अनुसार ६ वर्षको अन्तरालमा अस्ट्रेलियाले ४ हजार ७ सय विदेशी नागरिकलाई उनीहरुकै देशमा फिर्ता पठाइसकेको छ । जसमा नेपालीहरूको संख्या समेत उल्लेख्य रूपमा रहेको जानकारहरूको भनाइ छ । अस्ट्रेलियाली कानुनमा विद्यावारिधि गरेका डा. शमशेरसिंह थापा अस्ट्रेलियाली समाज र नागरिकलाई कुनै खतरा हुने अवस्था आएमा विदेशीलाई उनीहरुकै देश फिर्ता पठाउने उद्देश्यका साथ नयाँ नियम ल्याइएको बताउँछन् ।


‘अस्ट्रेलिया सरकारले केही समयदेखि आफ्नो देश र नागरिकलाई सुरक्षा दिने उद्देश्यका साथ नियमहरू परिवर्तन गरिरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने कुनै कार्य गरेको थाहा पाए सरकारले जोसुकैलाई पनि फिर्ता पठाउन सक्छ । ’


अस्ट्रेलियाले पछिल्लो समय विदेशका दक्ष कामदारलाई भित्र्याउने तथा यहाँका आपराधिक गतिविधिमा संलग्न भएकालाई फिर्ता पठाउने नीति लिँदै आएको छ । चारित्रिक जाँचमा उत्तीर्ण नहुनेलाई फिर्ता पठाउने उद्देश्यका साथ परिवर्तन गर्न लागिएको नयाँ नियमले दशौं हजार विदेशीलाई समस्यामा पार्ने भन्दै सरकारको नयाँ नियमको विरोधसमेत गरिएको छ ।


अस्ट्रेलियाका अध्यागमनमन्त्री कोलम्यानले यसले गैरनागरिकलाई यहाँको समाज कुनै पनि अपराधमा दोषी ठहरिएकाहरुका लागि सहनशील नभएको सन्देश दिने बताएका छन् । अस्ट्रेलियामा बसोबास गर्न पाउनु विशिष्ट अधिकार भएको उनको भनाइ छ । उनले अस्ट्रेलियामा रहेर यहाँको कानुन तोड्न खोज्ने र सामाजिक संवेदनामा खलल पुर्‍याउनेले उनीहरुको विशेषाधिकार गुमाउने जनाए ।

प्रकाशित : श्रावण २७, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?