बेइजिङले भारतीय विदेशमन्त्रीलाई भन्यो, 'कश्मीरमा विकसित परिस्थितिमा हामी चिन्तित छौं'

लक्ष्मी लम्साल

बेइजिङ — भारतले कश्मीरको विशेष राज्यको मान्यता हटाएपछि उत्पन्न परिस्थितिलाई लिएर बेइजिङ चिन्तित रहेको स्पष्ट पारेको छ । आइतबारदेखि चीनको तीन दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग चिनियाँ समकक्षी वाङ यीले खुलेरै भारतको पछिल्लो कदमको विरोध गरेका छन् ।

बेइजिङले भारतीय विदेशमन्त्रीलाई भन्यो, 'कश्मीरमा विकसित परिस्थितिमा हामी चिन्तित छौं'

उनले भने, ‘कश्मीरको स्थितिलाई झन् जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीन विरोध गर्छ। शान्तिपूर्ण तरीकाले विवाद हल गर्न पाकिस्तान र भारतको ध्यानाकर्षण गराउन चाहन्छ।’


कश्मीरको विशेष राज्यको मान्यता खारेज गर्ने भारतीय निर्णयको साता नबित्दै भारत र पाकिस्तानी विदेशमन्त्रीले पालैपालो बेइजिङको यात्रा गरेका छन् । भारतीय विदेशमन्त्री जयशंकर वुहान वार्ताको दोश्रो संस्करणको तयारीका लागि बेइजिङ उत्रिएका थिए भने पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेशी जयशंकरभन्दा दुई दिन अगाडि नै आकस्मिक रूपमा बेइजिङ आएका थिए।


चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटेर कुरेशीले कश्मीर मामिलामा पाकिस्तानको अडानबारे जानकारी गराएका थिए। उनी फर्किए लगत्तै बेइजिङ आएका भारतीय समकक्षी जयशंकरसँग वाङले पनि आफ्नो र पाकिस्तानको सीमा क्षेत्र तथा क्षेत्रीय शान्ति र स्थिरताको एजेण्डा उठाउँदै सशक्त ढंगले ध्यानाकर्षण गराएको चिनियाँ संचारमाध्यमहरूले लेखेका छन् । जयशंकरसँग वाङले भने, ‘चीनको पनि भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासित हुने कुराले चिनियाँ सार्वभौम अधिकार र हितमाथि नै चुनौती दिएको छ।’


भारतीय विदेशमन्त्री जयशंकर मूलतः वुहान अनौपचारिक वार्ताको वनारस वा वाराणासी संस्करणको तयारीका लागि भ्रमणमा आएपनि वार्ताको मुख्य मुद्दा नै कश्मीर बन्न पुगेको थियो । वाङले महत्वका साथ कश्मीरको कुरा उठाउँदै भारतको पछिल्लो गतिविधि बेइजिङ-दिल्ली सीमा सम्झौता अनुरूप नभएको दोषारोपण गरे । ‘मैत्रीपूर्ण विश्वास र सीमावर्ती क्षेत्रको शान्ति र स्थिरता रक्षाका लागि भारतले धेरै गर्नुपर्छ,’ उनले भने, ‘सीनो-इण्डियन सम्बन्धमा सीमा क्षेत्रका अनावश्यक अवरोधहरू हटाउनुपर्छ।’


प्रत्युत्तरमा भारतीय विदेशमन्त्री जयशंकरले भारतले गरेको कश्मीर मुद्दामा गरिएको संविधान संशोधन संप्रभुता दावीको नयाँ कारक नबन्ने, भारत-पाक सीमा क्षेत्रको युद्धविराम तथा लाइन अफ कन्ट्रोलमा कुनै परिवर्तन नगर्ने प्रतिवद्धता जनाए । उनले इस्लामावादसँग सम्बन्ध सुधार्न प्रतिवद्ध रहेको र संयमता, शान्ति र क्षेत्रीय स्थिरताका लागि प्रयास गर्ने बताए । उनले चीनका सीमा सम्झौताहरूको अक्षरसः पालन तथा आपसी परामर्शमा सहमतिमा टुंग्याउन तयार रहेको पनि सुनाए।


त्यसअघि सोमबार नै दुवै नेताहरू भारत-चीन उच्चस्तरीय मिडिया फोरममा सहभागी भएका थिए । सन् २०१८ मा चीनको हुपै प्रान्तको वुहानमा भएको अनौपचारिक वार्ता यसै वर्षको अन्त्यतिर भारतमा हुने प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर जयशंकर चीन भ्रमणमा आएका हुन्। यसबीचमा दुवै नेताबीच व्यापार, लगानी, पर्यटन तथा रक्षा आदानप्रदानका क्षेत्रहरू विस्तारका बारेमा पनि छलफल भएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रकाशित : श्रावण २८, २०७६ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?