जम्मु–कश्मीर विवाद : राहुल र मल्लिकबीच जुहारी

कान्तिपुर संवाददाता

नयाँदिल्ली — जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयलाई लिएर विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा पूर्वअध्यक्ष राहुल गान्धी र त्यहाँका गभर्नर सत्यपाल मल्लिकबीच सार्वजनिक रूपमै जुहारी चलेको छ ।

गान्धीले सोमबार जम्मु–कश्मीरको शान्तिसुरक्षालाई प्रश्न उठाउँदै आफू त्यहाँ जान चाहेको बताएपछि यी दुईबीच जुहारी सुरु भएको हो ।


गान्धीले केही दिनअघि धारा ३७० खारेजीपछि जम्मु–कश्मीरको अवस्था हिंसात्मक बनेको बन्दै नागरिकले भोगिरहेको पीडा बुझन्, नजरबन्द र पक्राउ परेका राजनीतिक नेतालाई भेट्न आफू त्यहाँ जाने बताएका थिए । गत शुक्रबारको प्रार्थनापछि श्रीनगरमा निस्किएको जुलुसमा सुरक्षाकर्मीले दमन गरेको खुलासा बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेपछि राहुलको त्यस्तो प्रतिक्रिया आएको थियो ।


५ अगस्टमा धारा ३७० खारेज गर्ने निर्णयसँगै भारतको जम्मु–कश्मीरको अवस्था तनावपूर्ण रहँदै आएको छ । दुई दिनयता जम्मु र लद्दाकको स्थिति केही सहज बने पनि कश्मीरका श्रीनगरलगायतका ठाउँमा अझै पनि कर्फ्यु कायम छ । अघिल्लो आइतबारदेखि बन्द गरिएका मोबाइल, केबुल र इन्टरनेटलगायतका सेवाहरू अझै बन्द छन् । जसले गर्दा स्थानीय सर्वसाधारणको जीवनयापन कष्टकर बन्दै गएको छ । यसबीच सरकारको निर्णयको विरोधमा ठाउँठाउँमा जुलुस प्रदर्शनसमेत भएको र केही ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरूबीच हिंसात्मक झडप भएको दाबीसमेत अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले गर्दै आएका छन् ।


तर, सरकारले भने सञ्चारमाध्यममा आएका हिंसासम्बन्धी रिपोर्टलाई गलत र भ्रामक भएको दाबी गर्दै आएको थियो । त्यही भएर नै राहुललाई जवाफ दिने क्रममा गभर्नर मल्लिकले राहुल गान्धीले सीमा पारिबाट फैलाइएका भ्रामक समाचारहरूलाई हेरेर त्यस्तो टिप्पणी गरेको तर, यहाँको स्थिति केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको भन्दै वस्तुस्थिति बुझ्न जम्मु–कश्मीरमै आउन चुनौती दिएका थिए । बरु त्यसका लागि आफू हेलिकप्टर पठाइदिनेसमेत उनले बताएका थिए । ‘मैले राहुल गान्धीलाई यहाँ आउन निम्तो गरेको छु । बरु जहाज नै पठाइदिन्छु । यहाँ आएर वस्तुस्थिति हेरेर मात्र बोल्न आग्रह गर्छ । तपार्इं जिम्मेवारी व्यक्ति भएकाले त्यसरी विचार नपुर्‍याई नबोलिदिनुहोला,’ उनले ट्वीटमा भनेका थिए ।


त्यसको जवाफमा राहुलले सबै विपक्षी दलका नेताहरूले जम्मु–कश्मीर र लद्दाक भ्रमणको मल्लिकको निम्तो स्वीकार गरेको बताएका थिए । ‘निम्तो स्वीकार गरेका छौं । हामीहरूलाई जहाज चाहिँदैन बरु त्यहाँ निर्बाध ढंगले हिँडडुल गर्न तथा सर्वसाधारण, स्थानीय राजनीतिकर्मी र त्यहाँ खटिएका हाम्रा सेनासँग भेट्न पाउने सुनिश्चितता गरिदिनुहोला,’ राहुलले ट्वीटमार्फत् जवाफ दिएका थिए ।


राहुल र मलिकबीच चलेको जुहारीमा कंग्रेसका अर्का नेता शशि थरुर पनि मिसिन पुगे । उनले ट्वीटमार्फत् राहुल गान्धीलाई मात्र किन आफूले लोकसभामै सर्वदलीय प्रतिनिधि मण्डललाई जम्मु–कश्मीरका निम्ता दिन आग्रह गरेको बताएका थिए । ‘किन राहुल गान्धीलाई मात्र निम्तो गभर्नर साब ? कंग्रेसका तर्फबाट लोकसभामा बोल्दै मैले जम्मु–कश्मीरको वास्तविक अवस्था बुझ्न सर्वदलीय टोलीलाई नै निम्तो दिनुपर्ने र राजनीतिक प्रचारबाजी गर्नुभन्दा त्यसको आवश्यक व्यवस्था गर्न आग्रह गरेको थिएँ,’ थरुरले ट्वीटमार्फत् मलिकलाई व्यंग्य कसेका थिए ।


राहुल र थरुरको जवाफले अप्ठ्यारोमा परेका गभर्नर मल्लिकले व्यक्तव्य नै निकालेर आफूले राहुललाई पूर्वसर्तहरू राखेर भ्रमणका लागि आउन नभनेको दाबी गरेका छन् । साथै, उनले राहुलको आग्रहलाई स्थानीय प्रहरी र प्रशासनलाई आवश्यक प्रक्रियालाई जिम्मा लगाएको समेत बताएका छन् । ‘राहुल गान्धीले स्थानीय सर्वसाधारणका लागि थप स्थिरता र समस्या सिर्जना गर्न विपक्षी नेताहरूको प्रतिनिधिमण्डलाई ल्याउँछु भनेर विषयलाई राजनीतीकरण गर्दै हुनुहुन्छ,’ मल्लिकले भनेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?