कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाकिस्तानमा कालो दिन–‘कडा प्रतिक्रिया दिन्छौं’

'कश्मीरमा १२ दिनदेखिको कर्फ्यु जारी रहनु, थप सेना खटाइनु, राष्ट्रिय स्वयंसेवक संघका दस्ता परिचालन गरिनु तथा सञ्चार सम्पर्क पूर्णरूपमा विच्छेद गरिनु जातीय सफायाको तयारी’
एजेन्सी

इस्लामाबाद — पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मीरमा मुस्लिम समुदाय निकै प्रताडित हुनुपरेको भन्दै पुनः अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । 

पाकिस्तानमा कालो दिन–‘कडा प्रतिक्रिया दिन्छौं’

खानले ‘कश्मीर मुद्दामा अन्तर्राष्ट्रिय समुदाय मौन रहेको बताउँदै मुसलमानविरुद्ध जातीय सफाया प्रयास भए कडा प्रतिक्रिया दिने’ चेतावी दिएका छन् ।

भारतले जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरेसँगै उक्त क्षेत्रमा १२ दिनदेखि कर्फ्यु जारी छ भने सञ्चार सम्पर्कविच्छेद छ । भारतले स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानले भने कश्मीरमा भारतले गरेको दमन र मानवअधिकार उल्लंघनको विरोध स्वरूप बिहीबारलाई ‘कालो दिन’ को संज्ञा दिएको छ ।


पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमार्फत् कश्मीरमा जातीय सफायाको तयारी गरिएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘मोदीले यसअघि गुजरातमा मुस्लिमविरुद्ध गरेको जातीय सफायाको उदाहरणसँगै

कश्मीरमा १२ दिनदेखिको कर्फ्यु जारी रहेको, ठूलो संख्यामा सैनिकीकृत क्षेत्रमा थप सेना खटाइएको, राष्ट्रिय स्वयंसेवक संघका गुन्डा परिचालन गरिएको तथा सञ्चार सम्पर्क पूर्णरूपमा विच्छेद गरिएको छ ।’


यसअघि खानले पाकिस्तान शासित कश्मीरको विधानसभाको विशेष सत्रलाई सम्बोधन गर्दै बुधबार कश्मीरको विशेषाधिकार खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड खेलेकाले ‘भारतलाई पाठ सिकाउने समय आएको’ बताएका थिए ।


खानले जम्मु–कश्मीरविरुद्ध मोदीको क्रियाकलापका कारण युद्धको अवस्था आउने चेतावनी दिएका थिए । उनले मोदीको नाम लिएर भनेका थिए, ‘तपार्इंको इँटाको जवाफ हामी ढुंगाले दिन्छौं ।’


सम्बोधनका क्रममा खानले ‘कश्मीर स्वतन्त्रतातर्फ अघि बढ्ने’ बताएका थिए । पाकिस्तानले यस वर्षको आफ्नो स्वतन्त्रता दिवस ‘कश्मीर एकता दिवस’ का रूपमा मनाएको हो ।


त्यस क्रममा प्रधानमन्त्री खान बुधबार पाकिस्तान शासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेका थिए । जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने भारतको निर्णयबारे आपत्कालीन बैठक डाक्न राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष पाकिस्तानले औपचारिक अनुरोध गरिसकेको छ ।


भारतीय सरकारले भारत प्रशासित जम्मु–कश्मीरको विशेष मान्यता खारेज गरेसँगै परमाणु शक्तिसम्पन्न दुवै मुलुकबीच तनाव चुलिएको छ । पाकिस्तानले भारतको यो कदमविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।


पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरूका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुने छैन ।

यसै साताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तरर्राष्ट्रियजगत्ले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका छन् ।


अगस्ट १९४७ मा बेलायतको शासनसत्ता ढलेसँंगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।


सीमा क्षेत्रको भिडन्तमा ८ सैनिक मारिए

एजेन्सी (इस्लामाबाद)– कश्मीरमा भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा दुई देशका सेनाबीचको गोली हानाहानमा ८ सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३ पाकिस्तानी र ५ भारतीय सैनिक रहेका पाकिस्तानी सेनालाई उद्धृत गर्दै अर्न्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले बिहीबार ट्वीट गर्दै सैनिकबीच गोली हानाहान भएको जनाएका हुन् । उनले लाइन अफ कन्ट्रोल (एलओसी) मा भारतीय सेनाले गोली हानेको बताएका छन् ।


प्रवक्ता गफुरले जम्मु–कश्मीरबाट ध्यान अन्तै मोड्न भारतीय सेनाले गोलीबारी गरेको दाबी गरेका छन् । एलओसीमा दुवै मुलुकका सैनिकले गोली हानाहान गरिरेहका छन् ।


पाकिस्तानी दाबीलाई कतिपय भारतीय सञ्चारमाध्यमले अस्वीकार गरेका छन् । उनीहरूले भिडन्तमा भारतीय सेनाको मृत्यु नभएको दाबी गरेका छन् । अलजजिराले भने पाकिस्तान नियन्त्रित कश्मीरमा बिहीबार २ सर्वसाधारण मारिएको उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?