२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

कश्मीरमा केही खुकुलो, टेलिफोन र इन्टरनेट आंशिक खुला

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत प्रशासित कश्मीरमा १२ दिनदेखि बन्द फोन सेवा आंशिक रूपमा सुचारु गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जम्मुका पाँच जिल्लामा २ जी सेवासहितको इन्टरनेट सेवासमेत चल्न थालेको छ ।

कश्मीरमा केही खुकुलो, टेलिफोन र इन्टरनेट आंशिक खुला

दुई सातादेखिको निषेधाज्ञासमेत केही खुकुलो पारिएको छ । कश्मीर उपत्यकामा मोबाइल सेवा भने अझै बन्द नै छ । ल्यान्डलाइन सेवाका सयभन्दा बढीमध्ये शनिबार १७ एक्सचेन्ज खुला गरिएपछि करिब ५० हजार टेलिफोन सुचारु भएका छन् । अधिकारीहरूले आइतबारदेखि सबै टेलिफोन लाइन खुला गरिसक्ने बताएका छन् ।

भारत सरकारले जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गर्ने निर्णय गरेसँगै कश्मीरमा टेलिफोन तथा इन्टरनेट सेवा बन्द गरिएको हो । अगस्ट ५ मा जम्मु–कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने भारतीय संविधानका धारा ३७० र ३५ (क) खारेजी गरिएको हो ।

ती धारा खारेज भएसँगै भारत प्रशासित कश्मीर केन्द्र शासित दुई प्रदेशमा विभाजन गरिएको हो । सरकारको उक्त निर्णयसँगै कश्मीरमा आन्दोलन तथा हिंसात्मक गतिविधि फैलन सक्ने आंकलनका कारण भारतले सञ्चार सम्पर्कविच्छेद गरेको थियो । कश्मीर उपत्यकाका श्रीनगरलगायतका अधिकांश स्थानमा कर्फ्यु लगाइएको थियो भने जम्मु र लद्दाखमा धारा १४४ अनुसार निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसयता थप गरिएका सुरक्षाकर्मीको संख्या भने यथावत् नै छ । उक्त निर्णयसँगै पूर्वमुख्यमन्त्रीहरू सहित ४ सयभन्दा बढी स्थानीय राजनीतिज्ञलाई पक्राउ गरिएको थियो । तीमध्ये केहीलाई घरमै नजरबन्दमा राखिएको छ भने अन्य थुनामा छन् । सरकारको उक्त निर्णयको स्थानीय नागरिकबाट पनि तीव्र विरोध सुरु हुँदै आएको थियो ।

जम्मु–कश्मीरका प्रिन्सिपल सेक्रेटरी रोहित कांसलले शनिबार बिहानैदेखि उपत्यकाका ३५ प्रहरी स्टेसन भएका क्षेत्रमा प्रतिबन्ध खुकुलो पारिएको बताए । उनले भने, ‘आइतबारदेखि संवेदनशील ठानिएका केही क्षेत्रबाहेक अन्य ठाउँमा टेलिफोन सुचारु गरिने छ । उनले जम्मुमा पहिल्यैदेखि ल्यान्डलाइन र मोबाइलले काम गरिरहेको र कम्तीमा जिल्लामा मोबाइल सेवा सुरु गरिएको छ । कांसलले सोमबारदेखि सबै शैक्षिक संस्था तथा कार्यालयले सेवा सुचारु गर्ने सम्भावना व्यक्त गरे ।

बीबीसी हिन्दीले पत्रकार मोहित कंधारीलाई उद्धृत गर्दै जम्मुका रियासी, साँबा, कठुआ जम्मु र उधमपुर गरी पाँच जिल्लामा २ जी इन्टरेन्ट सेवा सुचारु भएको उल्लेख गरेको छ । उनका अनुसार मुस्लिमा बाहुल्य राजौरी, पन्छु, किस्तवाड, डोडा र रामबनमा इन्टरनेट सेवा बन्द नै छ ।

नेपालीमूलका सैनिकको मृत्यु

भारत र पाकिस्तानबीच पछिल्लो समय बढ्दै तनावबीच जम्मु–कश्मीरको विवादास्पद लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा नजिक भएको गोलीबारीमा परेर एकजना नेपालीमूलका भारतीय सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाले युद्धविरामलाई उल्लंघन गर्दै एलओसी छेउमा रहेका चौकी र गाउँमा शनिबार बिहान गरेको गोलाबारीमा परेर जम्मु–कश्मीरको नोसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका लेसनायक सन्दीप थापाको मृत्यु भएको भारतीय सेनालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गोलाबारीमा घाइते देहरादून निवासी नेपालीमूलका ३६ वर्षीय थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : भाद्र १, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?