२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बेलायती प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव योजना 

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनविरुद्ध अविश्वास प्रस्ताव योजना बनेको छ । ब्रिटेनको मुख्य विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनले बिना कुनै सम्झौता ब्रिटेन युरोपियन यूनियन (ईयू) बाट बाहिरिने स्थिति ‘नो डिल ब्रेक्जिट’ लाई रोक्न आफूलाई कामचलाउ प्रधानमन्त्री बनाउन आव्हान गरेका छन् ।

बेलायती प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव योजना 

उनले बोरिस सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने जनाउँदै त्यो पारित भए आफूले ब्रेक्जिटलाई ढिलो गराउने, मध्यावधि चुनाव आव्हान गर्ने र अर्को जनमत संग्रहका लागि अभियान चलाउने जनाएको बीबीसीले उल्लेख गरेको छ ।


तर, संसदको तेश्रो ठूलो दल लिबरल डेमोक्रयाटकी नेता जो स्वीन्सनले आफ्नो दलले कोर्बिनलाई समर्थन नगर्ने जनाएकी छिन् ।

बरु उनले आफ्नो दलले सत्तारुढ दलका केन क्लार्क वा लेबरकी हयारियट हर्मनलाई समर्थन गर्नसक्ने संकेत गरिन् । तर, कोर्बिनले आफ्नो प्रयास जारी राखेका छन् ।


स्कटिस प्रथम मन्त्री निकोला स्टर्जनले बिना सम्झौताको खतरा टार्न स्कटिस नेशनल पार्टीले वेष्टमिनिस्टरमा जोसग पनि सहकार्य गर्ने जनाएकी छन् ।


प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ भित्र कुनैपनि अवस्थामा बेलायत ईयूबाट बहिर्गमन (ब्रेक्जिट) हुने घोषणा गर्दै आएका छन् । तर, यो अडानले उनकै पद अप्ठेरोमा पर्ने अनुमान शुरु भइसकेको छ ।


वहुसंख्यक ब्यवसायीले बेलायत ईयूसँग बिना सम्झौता बहिगर्मन भए ब्यापारमा प्रतिकुल असर पर्ने बताउँदै आएका छन् । बैंक अफ इंग्ल्यान्डले नो डिल ब्रेक्जिट भए वार्षिक ३० अर्ब पाउण्ड भन्दा बढी नोक्सान पर्ने जनाएको छ ।


यसैबीच, ब्रिटेनले ईयु छाड्नेबारे कुराकारी गर्न ब्रिटिश प्रधानमन्त्री जोन्सन आउँदो साता पेरिस र बर्लिन जाने भएका छन् । उनले फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों तथा जर्मनीकी चान्सलर एंगेला मर्केलसँग कुराकानी गर्नेछन् ।


टेरेजा मेले राजीनामा गरेर ब्रिटेनको प्रधानमन्त्री चुनिएपछि जोन्सनको यो पहिलो यूरोप भ्रमण हो । उनले आइरिस प्रधानमन्त्री लियो भारदकर तथा युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसंग फोनमा कुरा गर्ने द गार्डियन समाचारपत्रले जनाएको छ ।


आउँदो सप्ताहन्त फ्रान्सको बिएरित्जमा हुन गइरहेको ‘जी ७’ भनिने रुस बाहेकका औद्योगिक मुलुकहरुको शिखर सम्मेलन अघि प्रधानमन्त्री जोन्सनले भेटघाट गर्न लागेका हुन् ।


यद्यपि ब्रिटिश अधिकारीहरुले ति भेटवार्ताबाट कुनै ठोस उपलब्धि हुने सम्भावना न्यून रहेको संकेत गरेका छन् । जर्मन सरकारबाट चुहिएको एक दस्तावेजमा कुनै सम्झौता भए पनि वा नभए पनि आउँदो अक्टोबर ३१ तारिखका दिन ब्रिटेनले युरोपेली संघ छाड्ने छ भन्ने प्रधानमन्त्री जोन्सनको भनाइले युरोपेली नेताहरुको सोचाइमा कुनै परिवर्तन नल्याएको उल्लेख छ ।


जर्मन अर्थ मन्त्रालयले ब्रेक्जिटबारे ब्रिटेनसँग फेरि औपचारिक वार्ता हुने सम्भावना नरहेको जनाएको छ ।

प्रकाशित : भाद्र १, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?