कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जनमत कदर हुनुपर्छ : म्याक्रों

बेलायत–फ्रान्स ब्रेक्जिट वार्ता
एजेन्सी

पेरिस — फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ‘बेलायती जनताले युरोपेली संघ (ईयू) छाड्न दिएको मतको कदर गनुपर्ने’ बताएका छन् । 

जनमत कदर हुनुपर्छ : म्याक्रों

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) वार्ताका लागि पेरिस पुगेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग म्याक्रोंले ‘समयमै ब्रेक्जिट मुद्दा टुंगोमा पुर्‍याउनु’ दुवै पक्षको हितमा रहेको बताए ।


यद्यपि, म्याक्रोंले राजनीतिक स्थायित्व र एकल बजारका लागि ‘ब्याकस्टप’ (आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने) योजना निकै महत्त्वपूर्ण भएको बताएका छन् । उक्त योजनाको विपक्षमा रहँदै आएका बेलायती प्रधानमन्त्री जोन्सन भने दुई देशबीच कडा सीमा हुनुपर्ने बताउने गर्छन् ।


जर्मन चान्सलर एंगेला मर्केलले बुधबार ‘टुंगोमा पुग्ने योजना बनाउने जिम्मेवारी बेलायतको भएको’ प्रतिक्रिया दिएकी थिइन् । बेलायती प्रधानमन्त्री जोन्सनले बेलायत बिनाकुनै सम्झौता ईयूबाट बाहिरिने अवस्था सिर्जना भए सीमा कडाइ गर्नुको विकल्प नहुने बताएका छन् ।


युरोपेली संघले यसअघि बेलायती पूर्वप्रधानमन्त्री टेरेजा मेले पेस गरेको ब्रेक्जिट सम्झौतामा ‘ब्याकस्टप’ बारे पुनः वार्ता नहुने उल्लेख गरिएको बताउँदै आएको छ । यद्यपि, ईयूले बेलायतसँगको भविष्यको सम्बन्ध निर्धारण गर्ने ‘राजनीतिक घोषणा’ को सुधारका लागि आफू तयार रहेको बताउने गरेको छ । जसका कारण बेलायतको आन्तरिक राजनीति यति बेला निकै गरम बनेको छ ।


ब्रेक्जिट विवादका कारण बेलायतको आन्तरिक राजनीति यति बेला निकै गरम बनेको छ । जोन्सन नेतृत्वको सरकारले आगामी अक्टोबर ३१ को समयसीमाभित्रै बेलायत युरोपेली संघबाट कुनै पनि हालतमा अलग हुने बताउँदै आएका छन् । तर, उनको अडानका कारण प्रधानमन्त्री पद नै धरापमा पर्ने अनुमान गरिएको छ ।


विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ‘युरोपेली संघबाट बिनासम्झौता बेलायतको बहिर्गमन रोक्न जस्तोसुकै कदम चाल्न’ तयार रहेको बताउने गरेका छन् । उनले त्यसका लागि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावसमेत ल्याउने चेतावनीसमेत दिइसकेका छन् । उनले ‘बिनासम्झौता बेलायत ईयूबाट बाहिरिने अवस्था रोक्न आफूलाई कामचलाउ प्रधानमन्त्री बनाउनसमेत आहृवान गरिसकेका छन् ।


गतसाता कोर्बिनले वर्तमान सरकारविरुद्ध आफ्नो दलले ल्याउन लागेको अविश्वास प्रस्ताव पारित भए मध्यावधि चुनाव घोषणा गरी ब्रेक्जिट समयसीमा बढाउने बताएका थिए ।


बेलायत ईयूसँग बिनासम्झौता बहिर्गमन भए प्रतिकूल असर पर्ने भन्दै अधिकांश व्यवसायीहरू विपक्षमा उभिएका छन् । जोन्सन ब्रेक्जिटसम्बन्धी विवाद अन्त्यको प्रयासका लागि जर्मनी र फ्रान्सको भ्रमणमा निस्केका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछिको यो जोन्सनको पहिलो युरोप भ्रमण हो ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?