१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

आक्रामक बन्दै सार्क

सामुद्रिक किनारमा मानिसको चहलपहल बढ्नु, सार्कको बासस्थान नष्ट हुँदै जानु, पानीको गुणस्तर बिग्रनु, मौसम परिवर्तनलगायतले सार्क मानिसमाथि आक्रामक हुने गरेको विज्ञहरूको भनाइ 
नारायण खड्का

(अस्ट्रेलिया) — एक महिनाअघि अस्ट्रेलियाको पर्यटकीय जलक्षेत्र ग्रेट बारियर रिफमा २१ वर्षीया युवतीलाई सार्कले आक्रमण गरेर घाइते बनायो । सुरक्षाकर्मीले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएपछि गम्भीर घाइते युवतीको ज्यान जोगियो ।

आक्रामक बन्दै सार्क

डेढ महिनाअघि मात्र सिड्नीको मेन्ली विचमा पौडीबाज पिटर सल्जलाई पौडी खेलिरहेका बेला सार्कले आक्रमण गर्‍यो । स्थानीय पौडी संस्थामा आबद्ध उनले पनि सुरक्षाकर्मीको तत्काल उद्धारका कारण पुनर्जीवन पाए ।


ुअस्ट्रेलियाका सामुद्रिक क्षेत्रहरूमा हरेक वर्ष सार्कको आक्रमणबाट दर्जनौं व्यक्तिहरु घाइते हुने गरेका छन् भने केहीले ज्यान गुमाउँछन् । तथ्यांकअनुसार सन् २०१९ को अहिलेसम्ममा मात्र अस्ट्रेलियामा सार्कको आक्रमणबाट ८ जना गम्भीर घाइते भइसकेका छन् । सार्कको आक्रमणबाट घाइते हुने नागरिकको सूचीमा अस्ट्रेलिया दोस्रो नम्बरमा पर्छ । सन् २०१८ मा सार्कको आक्रमणबाट यहाँ एक व्यक्तिले ज्यान गुमाएका थिए भने १९ घाइते भएका थिए ।


माछा प्रजातिको मानिने सार्कका विभिन्न प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषले खतराको सूचीमा राखेको छ । विश्व वन्यजन्यु कोषका अनुसार विश्वभर सार्क र यससम्बन्धी प्रजातिका १ हजार बढी प्रजाति रहेका जनाउँदै सार्क र मानिसबीचको सम्बन्धलाई सन्तुलित राख्न १० वर्षे कार्ययोजना नै तयार गरिएको जनाएको छ ।


आखिर किन गर्छ त सार्कले मानिसमाथि आक्रमण? बीबीसीका अनुसार सार्क तथा मानिसको संख्या एकै समयमा एकै पानीमा भएका यसले मानिसप्रति आक्रमण गर्ने गरेको हो । जसले विश्वभरका सार्क आक्रमणको तथ्यांक राख्ने संस्था ‘इन्टरनेसनल सार्क अट्याक फाइल’ का निर्देशक गेभिन नेयलोरले ‘धेरै सार्कहरू र मानिस एकैपटक पानीमा भएको खण्डमा आक्रमण हुन सक्ने’ बताउँछन् । उनले सार्कको आक्रमणलाई मुख्यतः ‘धेरै संख्यामा मानिस पानीमा खेल्न जानुसँग’ जोडेका छन् ।


त्यसैगरी अस्ट्रेलियाका दक्षिणी सामुद्रिक किनारामा सिलको संख्या बढेकाले पनि सार्कले मानिसमाथि आक्रमण गर्ने अनुमान गरिएको छ । सार्कले आफ्नो भोजनका लागि सिललाई निकै मन पराउँछ । ‘इन्टरनेसनल सार्क अट्याक फाइल’ का अुनसार सार्कको मुख्य लक्ष्य भने मानिसलाई आक्रमण गर्नु नभएको जनाएको छ । यद्यपि, सार्कले मानिसमाथि किन आक्रमण गर्छ भन्नेबारे विज्ञहरूले अध्ययन/अनुसन्धान गरिरहेका छन् ।


समुद्रमा पौडी खेलिरहेका मानिस सार्कका लागि सजिलोसँग पाइएको खाना भए पनि उनीहरु मानिसप्रति खासै आकर्षित नहुने नेयलोरले बीबीसीलाई बताएका छन् । ‘तिनीहरु सामान्य रूपमा मानिसलाई उपेक्षा गरेर नै हिँड्छन् ।’ सार्ककै बारेमा किताब लेखिसकेका सामुद्रिक जैविकविद् ब्लेक चापमानले सार्कको आक्रमण बढदै जानुमा एक मात्र कारण नभएको बताउँछन् । उनले सामुद्रिक किनारमा मानव जनसंख्या बढ्नु सँगसँगै उनीहरुको बासस्थान नष्ट हुँदै जानु, पानीको गुणस्तरमा गिरावट आउनु, मौसम परिवर्तन हुनुलगायत कारण मुख्य भएका दाबी गर्छन् ।


सार्कले मानिसलाई गरेको आक्रमणको तथ्यांक हेर्ने हो भने यसमा सन् २०१७ को तुलनामा सन् २०१८ मा केही कमी आएको छ । ‘इन्टरनेसनल सार्क अट्याक फाइल’ को तथ्यांकअनुसार विश्वभर भएका सार्क आक्रमणका १३० घटनामा ४ जनाले ज्यान गुमाएका थिए । सन् २०१७ मा भने १५५ घटनामा ५ जनाले ज्यान गुमाएका थिए ।


सार्क आक्रमणका कारणबारे थप तथ्य पत्ता लगाउन केही अनुसन्धानकर्ताले विभिन्न नयाँ प्रविधिको उपयोग गरिरहेको बीबीसीले जनाएको छ । अनुसन्धानकर्ताहरूले डीएनएको प्रयोग गर्ने र आक्रमण गर्ने शैलीको समेत अनुसन्धान गरिरहेका छन् भने सार्क आक्रमणको भिडियो हेरी आक्रमणबाट भएको घाउलाई समेत अनुसन्धान गरिरहेका छन् ।


अर्कोतिर केही अनुसन्धानकर्ताहरूले भर्खरका युवा सार्कले आफ्नो आक्रमण शैलीलाई परिष्कृत गर्न उनीहरुभन्दा अग्रज सार्कको तुलनामा कडा आक्रमण गर्ने सक्नेसमेत सुझाएका छन् । ब्रिटानिका इन्साइक्लोपेडियाका अनुसार सार्कले आफ्नो बासस्थान मानिएको पानीमा पौडी खेल्ने मानिसलाई बाहिरी वस्तुका रूपमा देख्ने र मानिस आक्रमणको सिकार हुने गरेका जनाएको छ । यसैगरी यसले पनि सार्कले आफ्नो प्राकृतिक बासस्थान र खानेकुराको स्रोतलाई बचाउने क्रममा मानिस आक्रमणमा पर्ने गरेको जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?