कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतका पूर्व वित्त मन्त्री जेट्लीको निधन

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । अघिल्लो नरेन्द्र मोदी सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा शनिवार मध्यान्ह नयाँ दिल्लीको अल इण्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स् (एम्स) मा उपाचारकै क्रममा निधन भएको हो । 

भारतका पूर्व वित्त मन्त्री जेट्लीको निधन

जेट्लीलाई श्वास फेर्न कठिनाई र मुटुको चालमा समस्या देखिए पछि दुईसता अघि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य झन् विग्रदै गए पछि केही दिनदेखि उनलाई लाइफ सपोर्टमा राखिएको थियो ।

जेट्लीलाई मोदीको पहिलो कार्यकालमा सरकारको ‘ट्रबल शुटर’ कै रुपमा लिइन्थ्यो । मोदीको साथ पाएर नै जेट्लीले अर्थमन्त्रीको रुपमा नोटबन्दी र जिएसटीजस्ता अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने क्रिटिकल निर्णयहरु समेत लिएका थिए ।

मोदी र जेट्लीबीच करीब दुई देशदेखि घनिष्ट सम्बन्ध थियो ।

मोदीलाई दिल्लीको राजनीतिक केन्द्रहरुसँग परिचित गराउन जेटलीको अहं भूमिका रहेको बताइन्छ । सन् १९९५ पछि मोदी गुजरातको राजनीतिबाट केही समय विश्राम लिएर दिल्ली आएपछि जेटली र मोदीबीचको सम्बन्ध झाँगिएको थियाे । पछि मोदीलाई गुजरातको मुख्यमन्त्री बनाउने पार्टीको निर्णयका पछाडि पनि जेट्लीको महत्वपूर्ण हात रहेको बताइन्छ । मोदी पार्टीको महासचिव बनेपछि दिल्लीमै बस्न थाले र त्यसपछि यी दुई बीचको सम्बन्ध थप प्रगाढ हुन पुगेको थियो ।

दिल्लीमा राम्रो प्रभाव बनाएका जेट्लीको साथले मोदीले दिल्लीको सत्तालाई नजिकबाट बुझ्न पनि सघाएको बताइन्छ । पछि मोदी र जेट्लीबीच सम्बन्ध यति गाढा बन्यो कि सन् २००२ को गुजरात दंगाका कारण पार्टीभित्र मोदीको विरोध भए पनि जेट्ली भने मोदीको पक्षमा उभिएका थिए । त्यसयता जेट्लीले मोदीलाई निरन्तर साथ दिइरहे । जेट्लीको राजनीतिक रणनीतिमात्र होइन तार्किक प्रस्तुति र भाषण शैलीबाट मोदी भलिभाँती परिचित थिए ।

जेट्ली पेशाले वकिल पनि थिए । वरिष्ठ राजनीतिज्ञदेखि पेप्सी र कोकलगायतका बहुराष्ट्रिय कम्पनीहरु उनका क्लाइन्ट थिए । उनको राजनीतिक जीवनको शुरुआत भने १९९१ म भारतीय जनता पार्टीबाट भएको हो । सन् १९९९ मा अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा उनी पहिलो पटक सूचता तथा प्रसारण राज्य मन्त्री बनेका थिए ।

सन् २००९ को चुनाव पछि उनी माथिल्लो सदन राज्य सभामा विपक्षी दलको नेता समेत चुनिए । विपक्षी दलको नेता बन्नुअघि जेट्ली पार्टीको महासचिव थिए ।

यिनै जेट्लीको विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो । सन् २०१८ मा उनको एम्स्‌मै मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि फेरि खुट्टामा क्यान्सरको शकां भएपछि न्यूर्योकमा उपचार गरिएको थियो । त्यसपछि उनी राजनीति र मन्त्रालयको काम पहिले जस्तो सक्रिय हुन छाडेका थिए ।

स्वास्थ्यकै कारण देखाएर मोदीको दोस्रो कार्यकालमा मन्त्री बन्न असमर्थता जनाएका थिए । मोदीले अन्तिम समयसम्म पनि उनलाई मनाउने कोशिष गरेका थिए । तर उनले मानेनन् बरु बाहिरबाटै आफूले सक्ने सहयोग गर्ने जवाफ दिए । जेट्लीले मन्त्री बन्न असथर्मतता जनाएपछि निर्मला सितारमणलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रकाशित : भाद्र ७, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?