कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बुद्धचित्त : अस्वस्थ प्रतिस्पर्धाले हिंसा बढ्दै

करोडौंको कारोबार हुने बुद्धचित्तको सुरक्षा चुनौतीपूर्ण, पालिकाले कार्यविधि बनाए पनि व्यवस्थित भएन

काभ्रे — असार–साउन नलाग्दै काभ्रेको रोशीमा बुद्धचित्तको मालाको कारोबारको चर्चा सुरु हुन्छ । तर, यस पटक भने चैत महिनामै बुद्धचित्त मालाको चर्चा चर्कियो । कारण, चैत २९ को मध्यराति रोशी गाउँपालिका–५ नागबेलीस्थित शेरबहादुर तामाङको घरमा रहेको बुद्धचित्तको रूख काटियो ।

बुद्धचित्त : अस्वस्थ प्रतिस्पर्धाले हिंसा बढ्दै

यो त्यही रूख थियो, जसमा फलेका बुद्धचित्त वार्षिक ९० लाखमा बेच्न शेरबहादुरले पाँच वर्षका लागि व्यवसायी सत्यमान लामा र समीप त्रिपाठीसँग सम्झौता गरेर अग्रिम ५० लाख रुपैयाँ बुझिसकेका थिए । बाँकी पैसा फल लागिसकेपछि दिने सम्झौता भएको थियो ।

घटनाको दिन शेरबहादुर काठमाडौंमा थिए । रातको २ बजेतिर उनलाई घरबाट फोन आयो । परिवारका सदस्यले त्रसित स्वरमा बुद्धचित्तको रूख काटिएको खबर सुनाए । त्यो रात परिवारका सदस्यले भोगेको घटना सुनाउँदै उनले भने, ‘१२:३० बजे एउटा समूह आएर गोली पड्काएर घरबाट बाहिर निस्कन नदिई त्रसित बनाएछ । कोही घरबाट बाहिर निस्किए मारिदिने धम्की दिएछन् । १५/२० जनाको समूहमा आएका उनीहरूले रूख काटेर घर वरपर ४ वटा सकेट बम राखी जनमुक्ति सेना लेखेको ज्याकेट राखेर भागेका रहेछन् ।’

यो बुद्धचित्त रूख शेरबहादुरकी आमा ठाकुरानी तामाङको नाममा छ । ठाकुरानीका ४ छोरा छन् । साइँला छोरा शेरबहादुरले बुद्धचित्त मालाको कारोबारको जिम्मेवारी सम्हाल्दै आएका थिए । शेरबहादुरका अनुसार यति बेला बोटमा भर्खरै फूल लाग्दै थियो । शेरबहादुरले गरेको बुद्धचित्तको कारोबार अरू केही व्यवसायीहरूलाई मन परेको थिएन । ‘गएको फागुन २२ मा परिचित व्यवसायीले ‘गेम इच ओभर’ भनेर म्यासेज गरेका थिए,’ शेरबहादुरले भने, ‘यो रूखमा बुद्धचित्त मालाको कारोबारीहरूले आँखा लगाइरहेका थिए, आफूले नपाएपछि बोट नै सिध्याउने कार्य गरे ।’

काभ्रेको रोशी र तेमाल गाउँपालिकाका सयौं स्थानीयको आम्दानीको मुख्य स्रोत बनिरहेको बुद्धचित्तको कारोबार पछिल्ला वर्षमा अपराध, हिंसा र बेमेल बढाउने माध्यम बनिरहेको छ । बुद्धचित्तको बढ्दो मूल्य र यसको कारोबारमा भइरहेका अस्वस्थ प्रतिस्पर्धाले कलह उब्जाइरहेको छ । जस्तो कि, शेरबहादुरले सम्झौता गरेको रूखबाट गत वर्ष मात्रै ३ करोड रुपैयाँ आम्दानी भएको थियो । यसैबाट बुझ्न सकिन्छ, बुद्धचित्तको कारोबार कति ठूलो छ भनेर ।

कैयौं स्थानीयले बुद्धचित्तको चोरी रोक्न सुरक्षा दस्ता नै परिचालन गरिरहेका छन् भने कतिपयले तारजाली वा बेरबार गर्ने र क्लोज सर्किट क्यामेरा राख्ने काम गरिरहेका छन् । तर यतिले मात्रै बुद्धचित्तको सुरक्षा सम्भव भइरहेको देखिन्न । शेरबहादुरसँग बुद्धचित्त किन्ने सम्झौता गरेका समीपले सुनाए, ‘पोहोर जेठको दोस्रो साताबाट सुरक्षा परिचालन गरिएको थियो, फल लाग्ने बेला भएपछि सुरक्षा व्यवस्था कडा पार्ने योजना बनाएका थियौं, फूल फुल्दै गर्दा आपराधिक समूहले बोट नै काटिदिए, यसबाट हामीलाई दुई करोडभन्दा माथिको क्षति भएको छ ।’ यो घटनापछि उनीहरूले रूखको आम्दानीस्वरूप घटनामा संलग्न अपराधीबाट ३० वर्षको आम्दानी रकम र ठेकेदारबाट ५ वर्षको क्षतिपूर्ति रकम दिलाउनुपर्ने माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले यो घटनामा ८ जनाविरुद्ध किटानी जाहेरी परे पनि तेमाल गाउँपालिका–६ का ४१ वर्षीय मानबहादुर तामाङ, तेमाल गाउँपालिका–३ का दुर्गालाल तामाङ र रोशी गाउँपालिका–५ का ३६ वर्षीय धीरज भनिने श्यामकृष्ण मैनालीलाई पक्राउ गरिसकेको छ । ‘प्रारम्भिक सोधपुछ, पुराना घटनाहरू हेरेर पनि अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले भनिन् । घटनाबारे जिल्लास्तरीय सुरक्षा समितिको बैठकमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । भनिन्, ‘कतिपय अवस्थामा बुद्धचित्त धनीले गाउँपालिकामा शान्तिसुरक्षाका लागि निवेदन दिएपछि पनि प्रहरी परिचालन गर्ने गरिएको छ ।’

बुद्धचित्तले कलह निम्त्याएको यो पहिलो घटना भने होइन । ०७७ असार ११ को राति सवा ११ बजे एउटा समूहले नागबेलीस्थित शेरबहादुरकै घरबाट गोली चलाएर बुद्धचित्त लुटपाट गरेको थियो । प्रहरीका अनुसार त्यति बेला सीसी क्यामेरासमेत तोडेर ९० लाख रुपैयाँ बराबरको बुद्धचित्तको माला लुटिएको थियो । यो काममा कम्तीमा २० जनाको समूहको परिचालन रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो । यस घटनामा प्रहरीले रोशी गाउँपालिका–६ का काले भनिने राधाकृष्ण मैनालीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको आदेशले ०७७ असोज २७ मा जनही २ लाख रुपैयाँको धरौटी राखी तारिखमा छुटेका छन् । यो मुद्दामा अदालतबाट फैसला भइसकेको छैन । यस घटनामा संलग्न अन्य ९ जना अझै पनि प्रहरीको फरार सूचीमा छन् । ०७७ सालयता जिल्ला प्रहरीमा बुद्धचित्त कारोबारसँग सम्बन्धित दुई वटा मुद्दा दर्ता भएको देखिन्छ । बुद्धचित्तको कारोबारमा अस्वस्थ प्रतिस्पर्धाका कारण वर्षैपिच्छे मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत काभ्रेका स्रेस्तेदार कर्णबहादुर राईको भनाइ छ । ०७४ सालयता काभ्रे जिल्ला अदालतमा बुद्धचित्त मालासम्बन्धी १४ वटा मुद्दाहरू दर्ता भएको देखिन्छ । ०७४ मा १, ०७६ मा १, ०७७ मा २, ०७८ मा २, ०७९ मा ४ र ०८० सालमा ४ वटा मुद्दा दर्ता भएका हुन् ।


प्रहरी र अदालतका अलावा स्थानीय तहका न्यायिक समितिमा पनि बुद्धचित्तसँग सम्बन्धित मुद्दा पुग्न थालेका छन् । ०७९ यता रोशी गाउँपालिकाको न्यायिक समितिमा बुद्धचित्तसँग सम्बन्धित ६ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ४ वटा फर्छ्योट भइसकेको र २ वटा बाँकी रहेको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक मिमबहादुर वाइबाले बताए । ‘समितिमा बुद्धचित्तको रूख, जग्गा, साँध–सिमाना, बुद्धचित्त माला कारोबार सम्झौता उल्लंघनलगायत विषयका मुद्दा दर्ता भएका छन्,’ उनले भने ।

बुद्धचित्त मालाको कारोबार सम्झौता र त्यसको उल्लंघनका विषयमा धेरै विवाद भएपछि पालिकाले बुद्धचित्तको कारोबार नियमन गर्न ०७६ मा कार्यविधि बनाएको थियो । यसलाई आर्थिक वर्ष ०८०/८१ मा ‘बुद्धचित्त फल दाना बिक्री तथा व्यवस्थापन कार्यविधि ०८०’ संशोधन गरिएको थियो । कार्यविधिअनुसार नै बुद्धचित्त फल दाना बिक्री तथा व्यवस्थापनका लागि जिल्लास्थित सुरक्षा निकायको समन्वयमा सुरक्षा र संरक्षण गर्ने गरिएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । कार्यविधिको कार्यान्वयनपछि विवाद अलि कम भएको थियो । तर, चैत २९ गते अकल्पनीय घटना घट्यो ।

तेमाल गाउँपालिकाका उपाध्यक्ष एवं पालिकाको न्यायिक समितिका संयोजक दलमान थोकरले भने काभ्रेको तेमाल गाउँपालिकामा बुद्धचित्त मालाको विषयलाई लिएर ठूला विवाद र अपारधजन्य गतिविधिहरू नभएको दाबी गरे । पालिकाको न्यायिक समितिमा आफूले जिम्मेवारी सम्हालेयता बुद्धचित्त मालाको विषयमा कुनै पनि मुद्दा दर्ता नभएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १५, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?