कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

चिया चखाउँदै 'लेडिबग'

वैदेशिक रोजगारीका सिलसिलामा एक दशक मलेसियामा बिताएका इलामका हरि गुरुङ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकलाई चिया चखाउँछन् । स्वादिलो चिया मन पराउनेले उनलाई पछिसम्म सम्झन्छन् । विदेशी पर्यटकले त अझ स्वदेश फर्केपछि पनि चिया पठाइदिन अनुरोध गर्छन् ।
पर्वत पोर्तेल

इलाम — इलामको चोक बजार नपुग्दै नवीन चोक जोड्ने बाटोको घुम्तीमै छ, हरि गुरुङको इलाम टि हाउस । खासमा उनको त्यो पसलमा दर्जनौं स्वाद र जातका चिया बिक्रीमा छन् । त्यहाँ पुग्ने ग्राहक हुन् या पाहुना, चिया नचखाई उनी हतपत पठाउँदैनन् । टि हाउसभित्र छ, काठको मुढा चिल्याएर बनाएको टेबल । टेबल वरिपरि चार–पाँच थान स्टुल ।

चिया चखाउँदै 'लेडिबग'

त्यही टुलमा पाहुनालाई राखेर चखाउँछन् सुगन्धित चियाको स्वाद । स्वाद चाख्न स्वदेशी मात्रै हैन, विदेशी पर्यटक पनि बाक्लै आउजाउ गर्छन् । कहिले चीन त कहिले जापानबाट आएका पाहुनालाई स्वादिलो चिया नचखाउने त कुरै भएन । चिया मन पराउनेले विदेश फर्किएपछि पनि सम्पर्क गर्छन् र चिया पठाइदिन भन्छन् ।

सन् २००९ मा मलेसियाबाट फर्किएका हुन् हरि । एक दशकपछि गाउँ फर्किएका उनले आफ्नै पौरख देखाउन थाले । मलेसियाबाट फर्किएपछि के गर्ने ? फेरि उतै जाने कि गाउँमै केही गर्ने ? उनलाई अन्योल नभएको हैन । तर, उनको भित्री मनले भन्यो, ‘गाउँमै बस् केटा ।’ गाउँमा त बस्ने तर के गरेर बस्ने ? मलेसियामा जोडेको थोरै जेथा केमा लगानी गर्ने ? पुन: उनमा द्विविधा जन्मियो । त्यसलाई भने चाँडै चिरे । र, अर्को वर्ष सुरु गरे, इलाम टि हाउस । खासमा चियासँग गुरुङ परिवारको गाढा सम्बन्ध छ । हरि पाँचौं पुस्ता हुन्, जसको चियासँग प्रत्यक्ष साइनो गाँसिएको छ ।

‘बाजेबराजुका पालादेखि सबै परिवार चियासँग जोडिएका छौं,’ ब्ल्याक टिको एक सुर्को तानेपछि हरिले सुनाए, ‘चियासँगको लामो लिगेसीबाट बाहिर उम्किन मुस्किल भयो ।’ उनलाई लाग्छ, चिया उनको जिनमै छ । यसको स्वाद नसानसामा दौडिरहेको छ । जसरी हाम्रो शरीरमा दौडिन्छ रगत । ‘चिया प्यासन थियो, यसलाई प्रोफेसनमा ढालियो,’ चिटिक्कको किट्लीबाट कपमा चिया खन्याएपछि उनी बोले, ‘चिया हाम्रो मौलिक संस्कृति बनिसक्यो ।’

चिया व्यापार गर्ने निधो त गरे । तर, चियाका भेराइटीबारे उनी बेखबर थिए । उनले सुरुमा चिनेको चिया ब्ल्याक, लिफ्ट र सीटीसी मात्रै थियो । तर, चियाको पोखरीमा पौडिन थाले, बल्ल चाल पाए चिया त पौडिनै नसकिने समुद्र पो रहेछ । ‘गहिराइमा डुब्दै जाँदा चियाबारे धेरै ज्ञान मिल्यो,’ उनी सुनाउँछन्, ‘खासमा चिया मेरा लागि विश्वविद्यालय पनि हो ।’ नेपालमा पहिलो पटक चिया इलाममै रोपिएको थियो । विसं १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणमा गएका बेला चिनियाँ समकक्षीले चियाको बिरुवा उपहार दिएको इतिहासमा उल्लेख छ । जंगबहादुरले त्यो चिया रोप्ने आदेश तत्कालीन बडाहाकिम जंगबहादुरकै ज्वाइँ गजराजसिंह थापालाई दिए । अनि नेपालमा चिया खेती आरम्भ भयो ।

बडाहाकिमले रोपेको चिया गोडमेल गर्ने कामचाहिँ हरिका जिजुबाजेले गरेका थिए, जो सेनाका सुवेदार थिए । उनैको निगरानीमा चिया बगान फस्टाएको थियो । जिजुबाजेपछि बाजे, आमा, बा सबै चियामै जोडिए । वर्षौंदेखि चियाको बोटमै लुकामारी खेल्दै आए । ‘जिजुबाजे, बाजेदेखि बुबाआमा अहिले बहिनी पनि चियामै संलग्न छन्,’ हरिले सुनाए, ‘चिया हाम्रो नसानसामा छ भन्दा पनि हुन्छ ।’ पछिल्लो समय भने हरि आफ्नै ट्रेडमार्कमा चिया बिक्री गर्छन् । ‘लेडिबग’ नामको ट्रेडमार्क पूर्वमा चर्चित मानिन्छ ।

यो स्वादिलो चियाको ट्रेडमार्क दर्ताको कथा भने साह्रै बेस्वादिलो छ । ट्रेडमार्क दर्ता गर्न उनलाई ‘महाभारत’ भयो । उद्योग तथा वाणिज्य मन्त्रालयमा ट्रेडमार्क दर्ता गर्न निकै पटक धाउनुपर्‍यो । दर्जनौं पटक त उनले ट्रेडमार्कका लागि नाम भिडाउन पठाए । ‘सबैले ट्रेडमार्कको नाम दर्ता गरेर राखेका हुँदा रहेछन्,’ उनले त्यो भोगाइ सुनाए, ‘दुई दर्जन बढी नाम भिडाउँदा पनि अर्कोसँग जुध्ने समस्या भयो ।’ नाम भिडाउँदा–भिडाउँदा थाकेर हैरान भएका उनले एक दिन सामाजिक सञ्जालमा कसैले रातो टिकटिके किराबारे पोस्ट गरेको देखे । उनले देखिरहेको त्यो रातो किराको अंग्रेजी नाम हो, लेडिबग ।

इन्टरनेटमा खोज्दै जाँदा लेडिबगका अनेकौं गुण पत्ता लगाए । यसले त वनस्पतिलाई मास्ने किराको सिकारी किरा पो रहेछ । इन्टरनेटका अनुसार एउटा वयस्क लेडिबगले आफ्नो जीवनकालमा करिब ५० हजार किराको सिकार गर्छ । अर्थात् प्रकृतिको कुचिकार किराबारे थाहा पाएपछि उनले चियाको ट्रेडमार्कको न्वारान गरे, ‘लेडिबग’ । ‘ट्रेडमार्क दर्ता सुरु गरेको करिब दुई वर्षपछि लेडिबग औपचारिक रूपमा दर्ता भयो,’ हरिले भने, ‘धन्न योचाहिँ अरूले दर्ता नगरेको नाम परेछ । भिडाउँदा नाम जुधेन । फेरि नाम पनि क्याची सुनियो ।’

टि हाउसमा न्यूनतम प्रतिकिलो ७ सयदेखि १२ हजार रुपैयाँसम्मको चिया पाइन्छ । उनको आफ्नै कारखाना त छैन । अरूको कारखानाले उत्पादन गरेका गुणस्तरीय चियालाई उनी आफ्नो ट्रेडमार्कमार्फत बजारीकरण गर्छन् । स्वदेशमा त खपत हुन्छ नै, भारत तथा तेस्रो देश पनि प्रशस्तै निर्यात गरेर मनग्ये आम्दानी गर्छन् । खासगरी जापान, क्यानडा, फिलिपिन्स, अस्ट्रेलियाजस्ता देशहरूले चिया मगाउँछन्, उनी प्रक्रिया पूरा गरेर निर्यात गर्छन् ।

इलामको भूबनोट छिमेकी दार्जिलिङको जस्तै छ । नागबेली बाटो, चिसो वातावरण अनि पहाडी भूगोल, ठ्याक्कै दार्जिलिङजस्तै छ इलाम । भूगोल मात्रै हैन, इलाम र दार्जिलिङमा उत्पादित कृषि उपजको स्वाद पनि उस्तै लाग्छ । हरेक उत्पादन अर्ग्यानिक अनि मीठो । ‘त्यसैले भारत निर्यात भएको नेपाली चियालाई भारतीयले दार्जिलिङ ब्राण्डका नाममा तेस्रो देश पठाएर मनग्ये आम्दानी गरिरहेका छन्,’ चियाबारे निकै जानकार हरिले हिमालय सांग्रिलाको ब्ल्याक टिको अन्तिम सुर्को तानेपछि सुनाए, ‘हाम्रो चिया दार्जिलिङ ब्राण्ड बनाएर भारतले तेस्रो देशमा निर्यातबाट डलर आर्जन गरिरहेको छ, हामी बेखबर छौं ।’

प्रकाशित : वैशाख १५, २०८१ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?