कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीको भ्रमणले अन्तर्राष्ट्रिय राजनीति तरंगित : नेता नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि अन्तर्राष्ट्रिय राजनीति नै तरंगित भएको टिप्पणी गरेका छन् ।

सीको भ्रमणले अन्तर्राष्ट्रिय राजनीति तरंगित : नेता नेपाल

मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले अब सरकार प्रमुखस्तरीय यस्ता भ्रमणका लागि २३ वर्ष कुर्नुपर्ने वातावरण बनाउन नहुने बताए । ‘मुलुकमा शान्ति स्थापना र स्थायित्व कायम भइसकेको छ, अब राष्ट्रपतिस्तरीय भ्रमण ५/५ वर्षमा हुनुपर्छ,’ नेपालले भने ।


चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टितबाट भुजडित राष्ट्र बनाउन सघाउने भनी दिएको अभिव्यक्ति सकारात्मक भएको उनले बताए । अरू मुलुकसँग समझदारी गर्दा आफ्नो देशको हितबारे पनि सोच्नुपर्ने भन्दै उनले आफैंलाई हीनताबोध हुने गरी समझदारी गर्न नहुने प्रतिक्रिया दिए । सीले भनेजस्तै नेपाल कम्युनिस्ट पार्टी र उसले बनाएको सरकार जनतासँग सधैंभरि निकट भइरहनुपर्ने नेपालको भनाइ थियो ।


कार्यक्रममा नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले करिब ३ सय वर्षअघि नेपाल भूजडित मुलुक भएको स्मरण गर्दै फेरि त्यो अवसर आएको बताए । ‘१९२३ मा ब्रिटिससँग भएको सम्झौतापछि नेपाल लगभग उपनिवेशमा गयो, त्यसअघि हामी भूजडित नै थियौं,’ उनले भने, ‘काठमाडौं विश्वका राम्रा सहरमध्ये एक थियो, हाम्रो व्यापार उत्तरदक्षिणमा बराबरी हुन्थ्यो ।’ उनले सीको नेपाल भ्रमणपछि फेरि नेपाललाई भूजडित राष्ट्र बन्ने मौका आएको बताए ।


भुसालले चीन र भारतको मित्रता र शत्रुता दुवैको असर नेपाललाई पर्न नहुने टिप्पणी गरे । ‘नेपालको अवस्था धनी छिमेकीको बिहेको बीचमा नाच्दै गरेका गरिब बालबालिकाजस्तो आउन सक्छ,’ नेता भुसालले भने, ‘त्यसमा हामी नेपाली सधैं चनाखो हुनुपर्छ ।’


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेकपाको शुद्धीकरण र सुदृढीकरणका लागि चिनियाँ राष्ट्रपतिको सन्देश अनुकरणीय रहेको बताए । उनले सीको नेपाल बसाइ ऐतिहासिक भएको प्रतिक्रया दिए । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले छिमेकीको द्रुत आर्थिक विकासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताइन् ।

प्रकाशित : कार्तिक ५, २०७६ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?