कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

एएफपी

कारकास — विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन् । सरकारी नियन्त्रणमा पर्ने पत्रकारहरुमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन् । 

उल्लेखित मध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिर स्थितिको रिपोर्टिङकै लागि आएका हुन् । पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए । उनीहरुलाई सघाइ रहेका यस कार्यक्रमका उत्पादक एक जना स्थानीयलाई पनि सरकारी पक्षले नियन्त्रणमा लिएको छ ।


अन्य दुई जना चिलीका टेलिभिजन पत्रकारलाई पनि मङ्गलबार नै भेनेजुएलाको सरकारी पक्षले देश निकाला गरिदिएको चिलीका विदेशमन्त्री रोबर्टो अम्पुएरोले बताए । संवेदनशील मानिने “सुरक्षा क्षेत्र”मा काम गरेको भन्दै उनीहरुलाई पक्राउ गर्न थालिएको समाचारमा जनाइएको छ । “यो तानाशाही काम भयो, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजियो,” चिलीका मन्त्री रोबर्टोले ट्वीटरमा लेखेका छन् ।


पछिल्ला केही वर्षमा धेरै पत्रकारलाई नियन्त्रणमा लिने तथा देश निकाला गर्ने कार्य भइरहेको भन्दै आलोचना भएको छ । पत्रकारहरुलाई पक्राउ गरिएको बारेमा भेनेजुएलाका विदेश मन्त्री जर्ज एर्रेजाले बुधबार केही उल्लेख गरेनन् । तर धेरै विदेशी पत्रकारहरु रिपोर्टिङ गर्ने अनुमति बिना देश छिरेको बताईन् ।


विपक्षी नेता हुवाँ गुएइदोले केही दिन अगाडि आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक सङ्घर्ष चर्किएको छ । मङ्गलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ ।


लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् । विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो ।


निर्वाचन निस्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरुले निर्वाचन बहिस्कार गरेका थिए । विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उनले यही जनवरी १० मा शपथ ग्रहण गरेका थिए । उनको सपथसँगै देशभरि विरोध प्रदर्शनहरू भएका थिए । त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन् ।


चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् ।

प्रकाशित : माघ १७, २०७५ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?