१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५७

कामीरिता शेर्पा २९औं पटक सगरमाथा चढ्दै

सुरज कुँवर

काठमाडौँ — विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै २८ औं किर्तिमान ब्रेक गर्न सगरमाथा आधार शिविर पुगेका छन् । पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरुको समूहको गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न लागेका हुन् ।

कामीरिता शेर्पा २९औं पटक सगरमाथा चढ्दै

‘कामीरिता दाइ यसपाली आफ्नै २८ पटक सगरमाथा आरोहणको रेकर्ड ब्रेक गर्दैछन्,’ शुक्रबार सगरमाथा आधारशिविर पुगेका सेभन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले लुक्लाबाट कान्तिपुरसँग भने,‘ उहाँले यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडिसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण पनि गराउनुहुनेछ ।’ ५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय बनाएका छन् । ‘कामीरिताले दुइ पटकको आरोहणकालागि कोशिस गर्ने कुरा छ । सकियो भने गर्ने हो,’ अध्यक्ष शेर्पाले भने ।

सोलुखुम्बुको थामेका शेर्पाले गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाएका थिए । कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पा छन् । गत वर्षको वसन्तकालीन याममा उनले गरेको सगरमाथा आरोहण २७ औं पटक थियो । उनले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताकै हाराहारीमा सगरमाथा आरोहणको कीर्तिमानी बनाएपछि कामीरिताले पनि एक साता नबित्दै गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर २८ औं पटकको रेकर्ड बनाएका थिए ।

कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए भने पासाङदावाले २०५५ सालमा सगरमाथा आरोहण गरेका थिए । सगरमाथामा सबैभन्दा धेरै (२१ पटक) पुगेर आप्पा शेर्पाले ०६८ जेठमा रेकर्ड बनाएका थिए । उनको रेकर्ड हाराहारी ०७० जेठमा फुर्वा तासी शेर्पाले बनाएका थिए । यो २१ औं पटकको रेकर्डमा कामीरिता ०७४ जेठमा पुग्न सफल भएका थिए । त्यसयता उनी सगरमाथामा सर्वाधिक आरोहणको आफ्नै रेकर्ड बनाउँदै ब्रेक गर्दै आइरहेका छन् । उनले हिमाल आरोहणबाट विश्राम लिनेबारे अहिल्यै सोचिनसकेको भन्ने गरेका छन् ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार, कामीरिताले वसन्तकालीन यामका लागि सगरमाथा आरोहणको एकपटकका लागि अनुमति लिएका छन् । ‘यदी उहाँले दुईपटक आरोहण गर्ने चाहना राख्नुभएमा अनुमति लिन काठमाडौं आइरहनु पर्दैन । यसपटकदेखि सगरमाथा आधार शिविरमै पर्यटन विभागले फिल्ड अफिस स्थापना गरेको छ । त्यही ब्रिफिङ गरेर जुनसुकै आरोहीहरुले सगरमाथाको यात्रा दोब्बर-तेब्बर बनाउन सक्ने छन् ।’

यसैबीच संसारकै सबैभन्दा होचो व्यक्तिको नाममा सगरमाथा आरोहणको रेकर्ड बनाउन कास्कीका सागर सुनार (विश्वकर्मा) शुक्रबार काठमाडौंबाट सगरमाथातर्फ लागेका छन् । यो उनको दुई वर्षको अन्तरालपछि दोस्रो सगरमाथा आरोहणको प्रयास हो । उनी तीन फिट सात इन्च उचाइका छन् ।

विभागले शुक्रबारसम्म नेपालसहित ८० मुलुकका ८ सय ६१ आरोहीहरुलाई हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ । जसमा सगरमाथा आरोहणका लागि मात्रै ३७ वटा आरोहण दललाई अनुमति दिइएको छ । जसमा ७० महिला र ३ सय २० पुरुष गरी ३ सय ९० सदस्य छन् । यीबाट विभागले ५५ करोड ८५ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरिसकेको छ ।


प्रकाशित : वैशाख १४, २०८१ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?