२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट

सडक सुधार र पुल निर्माण गरेर राम्रोसँग सवारी सञ्चालन गर्न अझै एक वर्ष लाग्ने 
विमल खतिवडा

काठमाडौँ — नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गत हुम्लाको लालीबगर–दुल्लीकुना खण्डको छारे भीरमा ट्र्याक खोलेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यो काम सेनाले गत चैतमै सके पनि अहिले सडक चौडा पार्ने र ग्रेड मिलाउने काम गरिरहेको छ ।

राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट

चालु आर्थिक वर्षमै ट्र्याक खोलेको खण्डलाई स्तरोन्नति गरी सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ । सोहीअनुसार काम भइरहेको सहायक रथी एवं सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । ‘अहिले सेनाले जिम्मा लिएको खण्डको ट्र्याक खोल्ने काम भएको छ,’ उनले भने, ‘ट्र्याक खुलेको खण्ड भएर केही टिपर र ट्र्याक्टर सदरमुकाम पुगेका छन्, राम्रोसँग सवारीसाधन गुड्न मिल्ने गरी सडक सुधारको काम भइरहेको छ ।’

कालीकोटको खुलालुदेखि सिमकोट हुँदै हिल्सासम्मको कर्णाली करिडोरको दूरी २६९ किमि छ । यसमध्ये २४६ किमि सडक विभाग र २२.५ किमिमा सेनाले काम गरेको हो । हुम्लाको लालीबगर–दुल्लीकुना खण्ड ११ र कालीकोट–बाजुरा जोड्ने घाटपारीचौर–भुक्काखोला खण्ड ११.५ किमिमा कडा चट्टानसहितको पहाड भएकाले त्यहाँ काम गर्ने जिम्मेवारी सेनाले पाएको हो । चीनको सीमा क्षेत्र हिल्साबाट सिमकोटसम्म ९५ किमि सडकको ट्र्याक खोलिए पनि राष्ट्रिय सडक भने पुग्न सकेको थिएन ।

सल्लिसल्लाको कर्णालीमा अस्थायी बेलिब्रिज बनेपछि सर्केगाड गाउँपालिका–१ स्थित ल्याप्चेसम्म भने यातायातका साधन पुगेको छ । लालीबगर–दुल्लीकुना खण्डमा ११ किमिमध्ये सडक विभागबाट २.५ किमि ट्र्याक खोल्ने काम भइसकेको छ । ०७८ पुस ८ मा सेनाले लिएपछि अप्ठ्यारा भीरमा ट्र्याक खोल्ने काम गरेको हो । ट्र्याक खोल्ने काम भए पनि साना ठूला सवारी चल्ने सडक बनाउन समय लाग्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

‘सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी ट्र्याक खोल्ने काम सकिएको छ,’ ढकालले भने, ‘अब सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, ट्र्याक खोलेको सडकलाई चौडा गर्ने, ग्रेड मिलाउने र पुल निर्माणको काम गरिनेछ ।’ दोहोरो रूपमा गाडी चल्ने गरी भने सडक बनिसकेको छैन ।

सिमकोट नपुग्दै बीचमा पर्ने चुवा खोलामा भने अहिलेसम्म पक्की पुल निर्माण भइसकेको छैन, जसले गर्दा बर्खामा यो खण्ड भएर सवारीसाधन गुड्न समस्या हुनेछ । ‘हिउँदमा खोलाबाट ठूला सवारीसाधन चलाउन सकिनेछ,’ महानिर्देशक ढकालले भने, ‘यही सडकबाट यही बर्खामा सवारीसाधन चलाउन नसकिए पनि अर्को बर्खासम्म पुल बनिसक्नेछ, त्यसपछि सवारीसाधन राम्रोसँग चल्नेछन् ।’

सडक सुधारमा बजेटको समस्या हुन दिइने छैन । ट्र्याक खोल्ने काम सकिए पनि अप्ठ्यारो अझै टरिनसकेको सडक विभागअन्तर्गत उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक प्रेमप्रकाश खत्रीले बताए । ‘सडकलाई सहज बनाउन अझै बाँकी छ, ट्र्याक खुलेका केही भीर अझै अप्ठ्यारा र जोखिमपूर्ण छन्,’ उनले भने, ‘त्यसो त सुरुमा जुम्ला र जाजरकोट जिल्ला जोड्ने सडकको ट्र्याक खोल्दा यस्तै अप्ठ्यारो थियो, पछि सुधार गरिएको हो ।’

ट्र्याक खुले पनि अझै जोखिमपूर्ण रहेका आधा दर्जन भीर चौडा पार्न बाँकी छ । जुन भीर चौडा गर्न र ग्रेड मिलाउने जिम्मा विभागले सेनालाई दिने तयारी गरेको छ । हिल्सातर्फ ४ सय मिटरको एल्वाङ र ३ सय ५० मिटरको च्याछर भीर छ ।

त्यस्तै सिमकोट जोड्न सुधार गर्नुपर्ने १ सय मिटरको याङचु खोला नजिकको चट्टान छ । २ सय मिटरको भिगौंडा, १ सय ५० मिटरको बोक्चे गौंडा र २ सय मिटरको दुल्लीकुन्न भीर पनि सुधार गर्ने जिम्मा सेनालाई दिन लागिएको छ ।

प्रकाशित : वैशाख २५, २०८१ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?