विपद्मा सघाउने निजी क्षेत्रका ८ व्यवसायलाई सम्मान गरिने
काठमाडौँ — राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मान गर्ने भएको छ ।
एनबीआईले आगामी जेठ २३ मा विपद्को पूर्वतयारी, दिगो रूपमा व्यवसाय सञ्चालन गर्न तथा जोखिम न्यूनीकरणमा योगदान पुर्याउने व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने जनाएको छ ।
‘समुदायलाई उत्थानशील बनाउनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ । यस कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजी क्षेत्रको हौसला अभिवृद्धि गर्ने र यस क्षेत्रमा जागरुक र थप क्रियाशील बनाउन टेवा पुग्नेछ भन्ने एनबीआईको विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सहभागीहरूलाई विपद् व्यवस्थापनमा थप सजग बनाई मुलुकभित्र र विभिन्न मुलुकमा यससम्बन्धी गरिँदै आएका सफल प्रयास, चुनौती र सिकाइ आदानप्रदान गर्न उक्त कार्यक्रम साझा मञ्चका रूपमा स्थापित हुनेछ ।’
दुई सत्रमा सञ्चालन हुने कार्यक्रममा पहिलो सत्रका दुई वटा प्यानल छलफलमा उत्थानशील अर्थतन्त्र निर्माणमा विपद् व्यवस्थापनको महत्त्व र विपद् व्यवस्थापन तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको बढ्दो भूमिकाबारे अन्तर्क्रिया गरिनेछ । दोस्रो सत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेख्य र प्रशंसायोग्य योगदान पुर्याएका ८ व्यवसायलाई सम्मान गर्ने जनाइएको छ ।
प्रकाशित : वैशाख २५, २०८१ ०७:३५