आमाबाट सिकेको सीपले स्वरोजगार
कञ्चनपुर — लालझाडी गाउँपालिका–४ मा पर्ने खल्ला जाइँस्थित दोदा नदीको बगर । वरिपरि लौका, काँक्रा, फर्सी र खरबुजा खेती । बगरको बीचमा फुसको छाप्रो । त्यही छाप्रोमुनि डाँडा जाइँकी मन्तुरा राना कपडा सिउने मेसिनमा व्यस्त छिन् ।
घरी लहरे तरकारीको रेखदेख गर्न बाहिर निस्कन्छिन् । घरी भित्र पसेर मेसिनमा कपडा सिउँछिन् । ४६ वर्षीया मन्तुरा रानाथारू समुदायका परम्परागत पहिरन सिउने काममा लागेकी छन् । बगरमा लगाएको तरकारीको रेखदेखसँगै परम्परागत कपडा सिउन व्यस्त देखिन्छिन् उनी ।
रानाथारू समुदायले लगाउन अंगिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्छिन् उनले । यसमा ती कपडामा फूलजस्तै देखिने फुर्का, आकर्षक डिजाइनलगायत काम गर्नुपर्छ । ‘एक सेट तयार गर्न एक/डेढ महिना लाग्छ,’ रानाले भनिन्, ‘त्यसको ६/७ हजार लिन्छौं ।’ उनका अनुसार कपडासहित १५ हजारभन्दा बढी पर्छ । यसबाट उनलाई घर खर्च चलाउन निकै सहज भएको छ ।
विगतमा रानाथारू महिलाले लगाउने परम्परागत कपडा हातैले सिउने गरिन्थ्यो । खेतीपातीको काम सकेर फुर्सदमा महिलाले घरमै सिउँथे । तर अहिले यसले हातैले सिउने महिला निकै कम छन् । यसरी समय पनि धेरै लाग्छ । त्यही भएर मेसिनबाट सिउन थालेको मन्तुरा बताउँछिन् । उसो त अहिले रानाथारू महिला परम्परागत पहिरन निकै कम लगाउँछन् । ग्रामीण भेगमा वृद्धाहरू मात्रै कहींकतै यो ड्रेसमा देखिन्छन् । तर पनि चाडपर्व तथा विवाहलगायत विभिन्न किसिमका मेला महोत्सवमा भने नयाँ पुस्तादेखि वृद्धाहरूसम्म परम्परागत ड्रेसमा देखिन्छन् । यसका लागि समेत उनीहरूले यो ड्रेस सिलाएर राख्ने गरेको राना बताउँछिन् ।
मन्तुरा आफैं पनि परम्परागत पहिरन निकै कम लगाउँछिन् । घरमा काम गर्दा होस् वा खेतबारीमा काम गर्दा कुर्तासुरुवाल लगाउँछिन् । मेला महोत्सवदेखि विवाह व्रतबन्ध र चाडपर्वमा भने अरूले जस्तै उनले पनि परम्परागत पहिरन लगाउँछिन् । केही वर्षअघिसम्म मन्तुरा पनि आफ्ना परम्परागत पहिरन हातैले सिउँथिन् । उनले सानैदेखि आमा र हजुरआमाबाट सिकेकी हुन् । आमा र हजुरआमालाई सघाउने क्रममा उनले पनि सिकेकी हुन् । सानो छँदा सिकेको यही सीपले अहिले उनलाई स्वरोजगार बनाएको हो ।
डाँडा जाइँकी घुम्नी राना पनि मन्तुरा जस्तै आफ्नो समुदायका मौलिक ड्रेस बनाउन सिपालु छिन् । उनले पनि सानैमा आमा र हजुरआमाबाट हातले सिउन सिकेकी हुन् । तर अहिले हातले सिउन निकै समय लाग्छ । त्यसकारण मेसिनबाट सिउन थालेको उनले बताइन् । उनले वर्षमा ८/१० सेट ड्रेसहरू सिउँछिन्, त्यो पनि घरपरिवारका सदस्यहरूको सहयोगमा ।
यो ड्रेस सिउन आवश्यक पर्ने कपडादेखि फुर्का बनाउने सामग्री स्थानीय बजारमा पाइँदैन । महेन्द्रनगर, धनगढी र भारतको बसही पुग्नुपर्छ । बेलौरी बजारमा पनि फाटफुट रूपमा पाउँछ । घुम्नीका अनुसार कुनै बेला सामान नपाएर काम रोकिन्छ । पोसाक तयार पार्न सितारा, ऊनी धागो, विभिन्न रंगका कपडा आवश्यक पर्ने उनले बताइन् । लगानी र मिहिनेत बढी भएका कारण सिलाइ महँगो हुने उनले बताइन् । रानाथारू समुदायको बसोबास सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मात्रै छ ।
प्रकाशित : वैशाख २५, २०८१ ०७:१३