२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

उपेन्द्रको निरन्तर ओरालो यात्रा

शिक्षक पेसाबाट सामाजिक अभियन्ता हुँदै २०६३ को मधेश विद्रोहबाट एकैचोटि राजनीतिक शिखरमा उक्लिएका यादव एकपछि अर्को राजनीतिक क्षति व्यहोर्दै
नेताहरूमा आफूभन्दा परको कुरा नहेर्ने, फाइदा भए ठीक, नभए बेठिक भन्ने प्रवृत्ति छ, उनीहरूमा समाजलाई हेर्ने र राजनीतिलाई बुझ्ने दृष्टिकोणमै पनि कमजोरी देखिन्छ ।-तुलनारायण साह, विश्लेषक

काठमाडौँ — पटक–पटक टुटफुट हुँदै आएको जनता समाजवादी पार्टी, नेपाल फेरि एक पटक सत्ताको गोलचक्करका कारण विभाजित बनेको छ । १२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई सोमबार निर्वाचन आयोगले दलको मान्यता दिएको छ ।

उपेन्द्रको निरन्तर ओरालो यात्रा

उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसद्मा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् । केही समयअघि मात्रै जसपा नेपालबाट बाबुराम भट्टराई नेतृत्वको समूह अलग्गिएको थियो । त्यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए । महतोले त लोसपाबाट अलग्गिएर छुट्टै मोर्चा सञ्चालन गरेका छन् ।

राजनीतिमा प्रवेशअघि यादव गणित र विज्ञानका शिक्षक थिए । शिक्षक पेसाबाट सामाजिक अभियन्ता हुँदै २०६३ को मधेश विद्रोहबाट एकैचोटि शिखरमा उक्लिएका यादवले राजनीतिको कक्षामा भने अंकगणित र विज्ञानको जोडघटाउ मिलाउन कहिल्यै सकेनन् । उनीमाथि वैज्ञानिक ढंगले पार्टी चलाउन नसकेको र पार्टीभित्रको अंकगणितलाई आफ्नो वशमा राख्न नसकेको आरोप छ ।

वन तथा वातावरणमन्त्रीसमेत रहेका नेता नवलकिशोर साह सुडी आफैं संलग्न भएको सत्ता समीकरण ढाल्न अध्यक्ष यादव नै लागेपछि सरकार जोगाउन पार्टी विभाजन गर्नुपरेको बताउँछन् । संयोग नै मान्नुपर्छ, अहिले पार्टी विभाजन गर्न जसपाभित्र जुन–जुन नेता सक्रिय भए, चार वर्षअघि पनि तीनै नेता एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सत्ता टिकाउन विभाजनको प्रयासमा सक्रिय थिए ।

ओलीले आफ्नो सत्ता टिकाउन जसपालाई विभाजन गर्ने उद्देश्यका साथ २०७७ वैशाख ९ मा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–६ मा दलसम्बन्धी प्रावधान संशोधन गरेर अध्यादेश ल्याएका थिए । जसमा केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै दल खोल्न पाउने ऐनको प्रावधानलाई सहज बनाउँदै दुईमध्ये कुनै एकमा ४० प्रतिशत पुर्‍याए हुने व्यवस्था समावेश गरिएको थियो ।

प्रदीप यादव, मोहम्मद इस्तियाक राई, रेणु यादवसहितका नेताहरूकै सक्रियतामा छुट्टै दल दर्ता गर्ने प्रयास त्यतिबेला रातरात असफल बनेको थियो । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झासहितको सामूहिक नेतृत्वमा चलेको राष्ट्रिय जनता पार्टीसँग पार्टी एकीकरण गरेपछि यादव नेतृत्वको पार्टी प्राविधिक कारणले फुट्नबाट जोगिएको थियो ।

अहिले सरकारको नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भए पनि गठबन्धनको मुख्य शक्ति केन्द्रमा एमाले अध्यक्ष ओली नै छन् । आफू शक्तिमा रहेकै बेला ओलीले पुरानो प्रतिशोध साँधेको यादव निकट नेताहरू बताउँछन् । ‘हामीले सत्ताले पार्टी फुटाइदिएको हो भनेर बिनाप्रमाण ठोकुवा त गरेका छैनौं, तर यो विभाजनमा कुनै न कुनै शक्ति रहेको हुनुपर्छ भन्ने नै छ,’ जसपा नेपालका प्रवक्ता मनीष सुमनले भने, ‘अध्यक्ष फर्केपछि समग्र समीक्षा गरेर अघि बढ्छौं ।’ यादव मंगलबार बिहान १ बजे स्वदेश फर्कंदै छन् । मधेशका जानकार तथा विश्लेषक डा. भोगेन्द्र झा जसपा नेपाल विभाजित हुनुमा अन्य भूराजनीतिक कारण नभएको बताउँछन् । ‘माधवकुमार नेपालसँग उपेन्द्रको सामीप्य बढ्दै जानु । नेपाल र यादव दुवैको कुरा कांग्रेससँग मिल्दै जानुलाई सत्ता गठबन्धनले रुचाएन,’ उनले भने ।

यादवले नेतृत्व गरेको दलमा विभाजनको शृंखला यतिमै सीमित छैन । उनले नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरम पहिलो संविधानसभाकै कार्यकालमा चार टुक्रामा विभाजित भएको थियो । भलै त्यसले ठूलो जनमत आकर्षित गर्न सकेन । तर, २०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्थापित गर्न फोरमबाट विजय गच्छदारले विद्रोह गरेर पार्टी विभाजित गरेपछि भने संसदीय शक्तिको हिसाबले यादवको राजनीतिक यात्रा ओरालो लाग्न थालेको हो ।

२०६४ सालको पहिलो संविधानसभामा यादव नेतृत्वको संघीय समाजवादी फोरम ३० प्रत्यक्ष, २२ समानुपातिक र २ मनोनीत गरी ५४ सिटसहित संसद्मा चौथो राजनीतिक दल बनेको थियो । गच्छदारले ४० प्रतिशत सांसद लिएर आफ्नो नेतृत्वमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेपछि पनि पार्टी विभाजन रोकिएन । अमर यादव नेतृत्वको तराई मधेश फोरम, भाग्यनाथ गुप्ताको मधेशी जनअधिकार फोरम (मधेश) र जयप्रसाद गुप्ताको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी बने ।

विश्लेषक तुलनारायण साह यादव नेतृत्वको पार्टी बारम्बार विभाजन हुनुका पछि नेतृत्वको काम गर्ने तौरतरिका मूल कारण रहे पनि यसका पछि सामाजिक र सत्ताको लेनदेन नै प्रमुख समस्या रहेको बताउँछन् । ‘आदिवासी जनजाति र नेवार समुदायले पार्टी बनाउने प्रयास गरे । चलेन । थारूले पार्टी बनाए । तर, आज त्यसको हालत कस्तो छ जगजाहेर छ । उपेन्द्रजी नै सम्पूर्ण कारण भएको भए महन्थ ठाकुरको पार्टी चल्नुपर्थ्यो । ठाकुरको समस्या भए, राजेन्द्र महतोको पार्टी चल्थ्यो होला । तर, कुनै पार्टी पनि बलियो हुन सकेनन्,’ साह भन्छन, ‘त्यसैले सीमान्तकृत समुदायको राजनीतिक कारणको प्रक्रियासँग जोडिएको सामाजिक समस्या पनि यसको कारण हो । आफूभन्दा परको कुरा नहेर्ने, फाइदा भए ठीक, नभए बेठिक भन्ने प्रवृत्ति छ । नेताहरूबाट समाजलाई हेर्ने र राजनीतिलाई बुझ्ने दृष्टिकोणमै समस्या देखिँदा यो स्थिति भोग्नुपरेको हो ।’

जसपामा विभाजन मात्रै छैन । जोडिने शृंखला पनि छ । उपेन्द्रले नेतृत्व गरेको दलमा अशोक राईले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी, बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति मात्रै होइन, महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारीसमेत उनकै पार्टीमा गोलबन्द भइसकेका थिए । तर, अहिलेसम्म त्यसरी जोडिएका कुनै नेता यादवको पक्षमा रहन सकेनन् । सत्ता र शक्तिका लागि विभाजित भएका छन् ।

विश्लेषक साहका अनुसार हरेक पार्टी सत्ताको लेनदेन नमिल्दा नै फुट्ने र जुट्ने गरेका छन् । ‘राजनीतिक पार्टीहरूको एकीकरण, गठबन्धन र विभाजनको विकासक्रमलाई हेर्ने हो भने संघर्ष, आन्दोलन र निर्वाचनका बेलामा गठबन्धन गर्ने, अस्तित्व जोगाउन संकट पर्‍यो भने एकीकरण गर्ने, पार्टीहरूबीचमा नजिक हुने गर्छन्,’ साह भन्छन्, ‘तर सत्ता बाँडफाँटको कुरा जब आउन थाल्छ त्यसपछि विभाजनतिर जाने देखिन्छ । मधेशकेन्द्रित दलको मात्रै होइन, सबै दलको यो साझा समस्या बनेको छ ।’

नेता मोहम्मद इस्तियाक राई पार्टी विभाजनको मुख्य कारण नै अध्यक्ष यादवको प्रवृत्ति र कार्यशैली रहेको बताउँछन् । ‘हामी गलत थियौं भने महन्थ, जेपी, विजय, राजेन्द्र, बाबुराम सबै गलत कसरी हुन्छन् ? एउटै व्यक्तिका कारण यस्तो सिनियर नेताहरू किन टिक्न सकेका छैनन् ? बाबुराम भट्टराई जस्तो प्रधानमन्त्री भइसकेको मान्छेले नेतृत्व स्वीकार गरेर आउनुभयो । तर, टिक्न सक्नुभएन । महन्थ ठाकुर, विजयकुमार गच्छदार उपेन्द्रभन्दा सिनियर हुन् । तर, उनीहरूलाई पार्टी छोडेर जान बाध्य पारियो । हामी सुधार होला भनेर बस्यौं । तर, भएन । त्यही भएर यो निर्णय लिनुपरेको हो,’ उनले भने ।

तर, जसपा नेपालका प्रवक्ता सुमन कार्यशैलीको आलोचना सबै अध्यक्षमाथि हुने बताउँछन् । ‘हिजो कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको कार्यशैलीमाथि शेरबहादुर देउवाले प्रश्न उठाउनुभयो । पार्टी विभाजित भयो । देउवाको कार्यशैलीको अहिले आलोचना भइरहेको छ । जयप्रकाश प्रसाद गुप्ताले यसरी नै उपेन्द्रजीको आलोचना गर्नुहुन्थ्यो । फुटेर आफैं अध्यक्ष भएपछि उहाँमाथि पनि त्यस्तै प्रश्न उठ्यो,’ सुमनले भने, ‘अध्यक्ष विधान र विधिले बाँधिएको हुन्छ । त्यो विधान र विधि हामी सबैले बनाएका हौं । त्यही विधानअनुसार अध्यक्ष चल्नुभएको छ ।’

प्रकाशित : वैशाख २५, २०८१ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?