२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

स्नातक तहका ५ सय उत्तरपुस्तिका हराएकोमा अधिकारीलाई बर्खास्त गर्न सिफारिस

नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको ठहर
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित ७ जना अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि कार्यकारी परिषद्ले पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

स्नातक तहका ५ सय उत्तरपुस्तिका हराएकोमा अधिकारीलाई बर्खास्त गर्न सिफारिस

समितिले परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रक सुरेशजंग शाही र पवन बराललाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । छानबिन समिति स्रोतका अनुसार उनीहरू ३ जनालाई पदबाट हटाउनसमेत सुझाव दिइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख सहप्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उपप्रशासक निलम पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको स्रोतले जनायो । उनीहरूले पदीय जिम्मेवारीअनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।

उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कारबाही सिफारिस गरिएको छ । उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको छानबिन समितिले औंल्याएको छ ।

समितिमा त्रिविका कानुनी सल्लाहकार नारायण खनाल र अनुगमन निर्देशनालयका उपनिर्देशक विष्णु वाग्ले सदस्य थिए । समितिले गतसाता उपकुलपति केशरजंग बराललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा परीक्षा नियन्त्रक जोशी कार्यालय समयमै मदिरा सेवन गरी आउने गरेकाले तत्काल पदबाट हटाउन भनिएको छ । गत चैतमा उनी कार्यालयमै बेहोस भएका थिए । उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदा सरकारी कर्मचारी कार्यालय समयभित्रै मदिरा सेवन गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ । ‘शिक्षण अस्पतालले नै परीक्षा नियन्त्रकलाई अल्कोहल डिसअर्डर भन्ने रिपोर्ट दिएको छ,’ समितिका एक सदस्यले भने, ‘कार्यालय समयमै मदिरा सेवन गरेको पाइएपछि उनलाई थप कारबाही गर्नसमेत भनेका छौं ।’

प्रतिवेदनले दोषी देखाएका दुई कर्मचारीको रजिस्ट्रार कार्यालयले सोमबारबाट जिम्मेवारी खोसेको छ । भट्टलाई पब्लिक युथ क्याम्पस र पोखरेललाई इन्जिनियरिङ अध्ययन संस्थान सरुवा गरिएको रजिस्ट्रार कार्यालयले जनाएको छ । रजिस्ट्रार केदार रिजालले छानबिन प्रतिवेदन अध्ययन भइरहेको जनाए । थप कारबाही प्रतिवेदन कार्यकारी परिषद्मा पेस गरेर त्यहींबाट गरिने उनले बताए । परीक्षा नियन्त्रण कार्यालयमा ३ जना सहपरीक्षा नियन्त्रक रहने व्यवस्था छ । उपकुलपति कार्यालय स्रोतले दोषी देखिएका पदाधिकारी र कर्मचारीलाई हटाएर नयाँ पदाधिकारी र कर्मचारीको सेट नै पठाउने तयारी भइरहेको जनाएको छ ।

शाही कांग्रेस, बराल माओवादी कोटाबाट पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटाको पालामा नियुक्त भएका थिए । एमाले कोटामा राजेन्द्रकुमार पोखरेललाई सहपरीक्षा नियन्त्रक नियुक्त गरिएको थियो । बाँस्कोटाको पालामा पनि परीक्षाको काममा अनियमितता गरेको आरोपमा जोशीमाथि कारबाही गर्न कार्यकारी परिषद्ले फाइल उठाएको थियो । तर राजनीतिक दबाबका कारण उनी कारबाहीबाट जोगिएका थिए । उनी कांग्रेस कोटामा परीक्षा नियन्त्रक नियुक्ति भएका हुन् । उनलाई कारबाही नगर्न कांग्रेस सभापति शेरबहादुर देउवाले नै दबाब दिने गरेको तत्कालीन कार्यकारी परिषद्का एक सदस्यले जनाए । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट नतिजा प्रकाशन गर्न १८ महिनासम्म ढिलासुस्ती गर्ने, प्रश्नपत्र त्रुटि हुने, हुबहु सोध्ने, उत्तरपुस्तिका हराउने, साटफेर गर्नेलगायतका अनियमितता र बेथिति हुँदै आएको छ ।

पछिल्लो पटक २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नम्बर ४२२) र शिक्षाशास्त्र संकायतर्फको शिक्षाको आधार विषय (कोड नम्बर ४१२) का उत्तरपुस्तिकाहरू हराएको गत चैतमा थाहा भएको थियो । नतिजा सार्वजनिक गर्ने बेला उत्तरपुस्तिका नभेटिएपछि पुनः परीक्षा सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका हराएका विद्यार्थीको परीक्षा चैत २१ गतेदेखि सञ्चालन गरिएको थियो । चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र दाङको देउखुरी बहुमुखीलगायत क्याम्पसका उत्तरपुस्तिका हराएको थियो ।

परीक्षा सकिएर देशभरबाट ल्याएको उत्तरपुस्तिका परीक्षण भएर पनि फिर्ता आएपछि सम्परीक्षण गर्ने बेलामा भेटिएको थिएन । सयदेखि डेढ सय विद्यार्थीको उत्तरपुस्तिका राखिएको छुट्टाछट्टै पोकाहरू नै हराएका थिए । हराएका उत्तरपुस्तिकाका प्राप्तांक मार्क लेजरमा चढाउन बाँकी नै थियो । नतिजा प्रकाशन भएको ४ महिनापछि मात्र उत्तरपुस्तिका नष्ट गर्न सकिने व्यवस्था छ । २०७९ मा पनि व्यवस्थापन संकायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा लिएको थियो । उत्तरपुस्तिका हराउने जस्ता लापरबाही पटक–पटक दोहोरिँदै आए पनि छानबिन हुने तर कारबाहीमा पदाधिकारीले बेवास्ता गर्दै आएका छन् ।

प्रकाशित : वैशाख २६, २०८१ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?