महिला फुटबल टोली सम्मानित
काठमाडौँ — वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । पहिलो पटक यो प्रतियोगिता खेल्नेक्रममा फाइनलसम्म पुग्नुलाई नेपाली महिला फुटबलको ठूलो सफलताको रूपमा हेरिएको छ ।
एनआईसी एसियले टोलीमा रहेका २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार प्रदान गर्यो । सोमबार एनआईसी एसियाका सीईओ रोशनकुमार न्यौपाने, सहायक सीईओ सन्तोषकुमार राठी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीलाई सम्मान गरेका थिए ।
नेपाली महिला फुटबलले असाधारण सफलता हात पारेकाले सम्मान गरेको बैंकले जनाएको छ । एन्फा अध्यक्ष नेम्वाङले सन् २०२७ वा २०३१ को महिला विश्वकपमा सहभागिता जनाउने उद्देश्यले नेपाली टोलीलाई साउदी अरेबियामा खेल्न पठाएको र नेपालले राम्रो खेलेर सबैका ध्यान तानेको सुनाए ।
१० वर्षअघि देखि खेल्न थाले पनि यस्तो सम्मान अहिलेसम्म नपाएको जनाउँदै कप्तान एन्जिला तुम्बापो सुब्बाले साउदी अरेबियाको सफलता अहिले ठूलै रहेको महसुस भएको जनाइन् । प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘नेपाल आएर यस्तो खाले सम्मान पाउँछौं भन्ने सोचेका थिएनौं । लगानी दोब्बर बढाउने हो भने नेपाली महिला फुटबल अझै माथि उठ्ने छ ।’
राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपाली महिला टोलीको प्रदर्शन र सम्मानले पुरुष फुटबल टोलीलाई उर्जा प्रदान गर्ने जनाए ।
अञ्जना ब्रान्ड प्रमोटर
एनआईसी एसिया बैंकले राष्ट्रिय टोलीकी गोलरक्षक अञ्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटरमा नियुक्त गरेको छ । महिला टोलीको सम्मान कार्यक्रममै बैंकले त्रिभुवन आर्मी क्लबबाट खेल्ने अञ्जनालाई आफ्नो ब्रान्ड प्रमोटर भनी घोषणा गरेको थियो । एक वर्षका लागि सम्झौता भए पनि आर्थिक पक्ष खुलाइएको छैन ।
प्रकाशित : वैशाख २५, २०८१ ०६:२१