२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

काठमाडौँ — सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

१९९९ डिसेम्बर ३१ मा बोरिस यल्तसिनको राजीनामापछि कार्यवाहक राष्ट्रपति बनेका पुटिन त्यसयता निरन्तर रुसमा शासन गरिरहेका छन् । २००४ को राष्ट्रपतीय चुनावमा विजयी पुटिन लगातार दुई कार्यकाल राष्ट्रपति भए । कानुनी प्रावधानका कारण तेस्रो पटक राष्ट्रपति बन्न नपाएका पुटिनले २००८ मा आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाएका थिए ।

मेदभेदेभलाई राष्ट्रपति बनाएर उनी चार वर्ष प्रधानमन्त्री भएका थिए । राष्ट्रपति पदको कार्यकाल बढाएर ६ वर्ष पुर्‍याएका पुटिन २०१२, २०१८ र २०२४ का राष्ट्रपतीय चुनावमा विजयी भएका थिए । पुटिनले गत मार्चमा पाँचौं कार्यकालका लागि निर्वाचित हुनुअघि कानुन संशोधन गरेर थप एक कार्यकाल सत्तामा रहने बाटो खोलिसकेका छन् ।

सन् १९५२ अक्टोबर ७ मा रुस (तत्कालीन सोभियत संघ) को सेन्ट पिटर्सबर्गमा जन्मिएका पुटिन १९७५ मा रुसी गुप्तचर विभाग केजीबी (राष्ट्रिय सुरक्षा समिति) प्रवेश गरेका थिए । १९८४ मा सेन्ट पिटर्सबर्गको उपमेयर बनेका पुटिन त्यसपछि राष्ट्रपति कार्यालयमा उपप्रमुख प्रशासक भए । १९९९ मा रुसी राष्ट्रपति बोरिस यल्तसिनद्वारा प्रधानमन्त्री नियुक्त पुटिन उनको राजीनामासँगै कार्यवाहक राष्ट्रपति बनेका थिए ।

प्रकाशित : वैशाख २५, २०८१ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?