कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अवधी लोककलामा नयाँ पुस्ता

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ की २५ वर्षीया खुश्बु खातुन कपिलवस्तु बहुमुखी क्याम्पसमा एमबीएस अध्ययरत छिन् । मुस्लिम समुदायकी उनी अवध क्षेत्रमा बस्ने भएकाले अवधी संस्कृतिमा कला भर्दै छिन् । उनले दीपावलीमा बहिनीले दाजुभाइलाई टीका लगाइदिँदा भित्तामा टाँस्ने चित्र बनाएकी छन् । हरियो रङको क्यानभासमा उनले चन्द्रसूर्य, कलश, स्वस्तिक छाप, कमलको फूल, धनुष, चौका बेलना र त्रिशूलका चिटिक्कका चित्र कोरेकी छन् । 

अवधी लोककलामा नयाँ पुस्ता

आफू मुस्लिम भए पनि अवधी लोककलाबारे जान्ने उत्सुकता जागेर ब्रस समाएकी हुन् । ‘सृजना बनाउन जातधर्मले छेक्दैन,’ उनले भनिन्, ‘पहिलो प्रयासमै राम्रो बनाएँ ।’ उनीजस्तै बीबीएस अध्ययन गरेकी २२ वर्षे सञ्चिता अग्रहरीले तराई मधेश क्षेत्रमा ‘करवा चौथ’ को पूजाका बेला राखिने चित्रको सिर्जना गरेकी थिइन् । त्यो बेला चाल्नोले श्रीमान्को अनुहार हेरिन्छ । त्यसैलाई उतारेर चित्र बनाएकी थिइन् । चित्रमा रातिको अध्यात्मिक वातावरण, पूजाआजाका सामग्रीसहित चन्द्रसूर्यलाई क्यानभासमा उतारिएको थियो ।

हराउँदै गएको अवधी लोककलाको संरक्षण संवर्द्धन गर्न नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र शिक्षा तथा संस्कृति प्रवर्द्धन केन्द्रको समन्वयमा तौलिहवामा तीनदिने कार्यशाला आयोजना गरेर प्रशिक्षण दिइएको थियो । एसईई दिएर बसेकादेखि एबीएस अध्ययन गरिरहेकासम्मले क्यानभासमा चित्र उतार्न सिकेका थिए । उनीहरूले बिस्तारै बिर्संदै गएको अवध समाजको पुरानो संस्कृतिलाई ब्रसको सहायताले चित्रमा उतारेका थिए । त्यस्तै पुराना मूल्यमान्यता र परम्परालाई पनि उतारेका थिए ।

तराईका लोभ्याउने जनजीवन, जनश्रुति, पर्व र संस्कार तथा मूल्यमान्यतालाई मुख्य विषयवस्तु बनाई क्यानभास रंग्याएका थिए । लोककलामा धनी मानिने अवध क्षेत्रमा युवा पिँढीलाई कलाकर्मतिर आकर्षित गरी संस्कृति संरक्षण गर्ने अभियानअन्तर्गत कार्यशाला गरिएको अवधि लोककला विशेषज्ञ विक्रममणि त्रिपाठीले बताए ।

कार्यशालामा पतिको दीर्घायुको कामना गर्दै मनाइने ‘करवा चौथ’ र विवाह भएपछि नवदम्पतीहरू घरको कुल पूजा गर्ने ठाउँमा पहिलो पटक जाँदा राख्ने चित्र ‘कोहवर’ बनाएका थिए । त्यस्तै घरका भित्तामा हातको पञ्जा छापेर बनाइने एपन, भक्ति तथा प्रेमको प्रतीकका रूपमा रहेको गंगा यमुनाको लोकचित्र र विभिन्न व्रत, पर्व तथा संस्कारमा सगुनका रूपमा ढोकामा बनाइने चराको चित्र सोनचिरैया बनाएका थिए ।

सहभागीले बनाएका २५ चित्रहरू प्रदर्शनी गरिएको थियो । सुख सुविधा त्यागेर राजकुमार सिद्धार्थ पीपलको रूखमुनि ज्ञान प्राप्तिका लागि ध्यानमग्न बसेको कपिलवस्तु नगरपालिकाकी रागिनी अग्रहरीले बनाएको क्यानभास सिर्जनाले पनि सबैको मन जितेको थियो । उनले सबैको वाहवाही पाएकी थिइन् । ‘पहिलो प्रयासमै राम्रै भयो,’ उनले भनिन्, ‘अब नियमित अभ्यास गर्छु र यसैमा भविष्य खोज्छु ।’ अवधकला र बुद्धसँग सम्बन्धित थलोबीच पुरानो सांस्कृतिक सम्बन्ध रहेकाले त्यसलाई चित्रमा उतारेर कला पर्यटनको विकास गर्ने गरी सीप दिइएको अवधि लोककला विशेषज्ञ पशुपतिमणि त्रिपाठीले बताए ।

प्रकाशित : वैशाख २२, २०८१ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?