कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रथम विश्वयुद्ध लडेका नेपाली बहादुरसिंह बरालको भारतमा सालिक निर्माण

काठमाडौँ — भारत बेलायती उपनिवेशमा रहेका बेला ‘ब्रिटिस गोर्खा सैनिक’का रुपका पहिलो विश्वयुद्ध लडेका नेपाली बहादुरसिंह बरालको भारतमा सालिक निर्माण भएको छ ।

प्रथम विश्वयुद्ध लडेका नेपाली बहादुरसिंह बरालको भारतमा सालिक निर्माण

भारतको हिमाचल प्रदेशको भाग्सुस्थित गोरखनाथ मन्दिर परिसरमा बरालको शनिबार अर्धकदको सालिक अनावरण गरिएको हो । बेलायती उपनिवेशकालीन भारतीय सेनाको पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनमा कार्यरत बराल सुरुमा सुवेदार मेजर पदबाट अवकास पाएका थिए ।

अवकासपछि पनि पुनः उनी गोर्खा राइफल्समै फर्केर विभिन्न लडाइँमा सामेल भए । त्यसपछि उनी ‘मानार्थ क्याप्टेन’सम्म बनेका थिए । सन् १८९२ अप्रिल २७ मा जन्मेका बरालको १९६२ अक्टोबर १६ मा निधन भएको थियो । सुवेदार मेजर पदमा कार्यरत रहेका बेला बराल पहिलो विश्वयुद्धमा फ्रान्सको लडाइँमा खटिएका थिए । लडाइँमा देखाएको उच्च कौशलता र वीरताको सम्मान गर्दै औपनिवेशकालीन ब्रिटिश सरकारले बराललाई ‘मेम्बर अफ भिक्टोरियन अर्डर’ र ‘अर्डर अफ ब्रिटिश इन्डिया’बाटसमेत सम्मान गरेको बहादुरसिंहका पनाती पुजन बरालले जानकारी दिए । ब्रिटिस गोर्खा सैनिकमै रहेका बेला बरालकै पहलमा भाक्सुमा गोरखनाथ मन्दिर निर्माण भएको बताइन्छ ।

बरालको जन्मजयन्तीको अवसर पारेर शनिबार भाग्सुस्थित गोरखनाथ मन्दिर परिसरमै पूर्वसांसद दिलकुमारी राईसहितको उपस्थितिमा सालिक अनावरण भएको उनका पनाती पुजन बरालले बताए । बहादुरसिंह बरालको पुर्खौली घर पहिलेको पाल्पा जिल्ला हो ।

बहादुरसिंह फौजी मात्र नभएर साहित्यकार तथा गीतकार पनि थिए । उनीद्वारा लिखित ‘बरालको आँसु’ नेपाली भाषामा लेखिएको गीत, गजल र भजनसहितका कृतिको संग्रह हो यसमा १६८ वटा रचनाहरू संकलित छन् ।

बहादुरसिंह बरालका बुवा सर्वजित बराल पनि बेलायती सेनामा कार्यरत थिए । पुजन बरालका अनुसार सर्वजितले वेलायती महारानी भिक्टोरियाको दरबारमा ६ वर्षसम्म सैनिक पार्श्ववर्ती भएर काम गरेका थिए । सर्वजीतले ‘मेम्बर अफ भिक्टोरिया अर्डर’ पाएका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?