कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बर्सेनि बजेट आउँछ, कुलो बन्दैन

२० गाउँका किसान सिँचाइबाट वञ्चित 
अर्जुन शाह

धनगढी — यति बेला तराईमा धानको बेर्ना राख्ने समय सुरु भइसक्यो । तर कैलालीको कैलारी गाउँपालिकाका २० गाउँका डेढ हजारभन्दा बढी किसानको ९ हजार हेक्टर जमिन सिँचाइ नपाएर समयमा खेती लगाउन नपाउने अवस्थामा छ ।

बर्सेनि बजेट आउँछ, कुलो बन्दैन

कैलारी गाउँका किसानको सिँचाइ अभावको समस्या टार्न गुर्गी सिँचाइ योजनाका नाममा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई वर्षदेखि संघ सरकारबाट विशेष अनुदानमार्फत बजेट विनियोजन गर्दै आएको छ । तर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीको लापरबाहीका कारण विनियोजित बजेट बर्सेनि फ्रिज हुँदै आएको छ ।

चालु आर्थिक वर्षमा पनि बजेट फ्रिज हुने अवस्था आउन थालेको भन्दै किसान आक्रोशित छन् । डिभिजन कार्यालयले भने डीपीआर तयार नभएको भन्दै किसानलाई टार्दै आएको छ । गत आर्थिक वर्ष ०७९/८० मा कैलारी गाउँपालिकामा गुर्गी सिँचाइ आयोजना निर्माणका लागि ६ करोड बजेट विनियोजन भएको थियो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयअन्तर्गत कार्यान्वयनका लागि विनियोजित उक्त बजेट कार्यालयको लापरबाहीले फ्रिज भयो ।

चालु आर्थिक वर्ष ०८०/८१ मा सोही शीर्षकअन्तर्गत १२ करोड विनियोजित छ । तर डिभिजन कार्यालयले योजना निर्माणको सुरसारै नगर्दा यस वर्ष पनि उक्त बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । किसान भने सिँचाइको वैकल्पिक व्यवस्था नभएकाले अकासे वर्षाको भरमा छन् । ‘योजना निर्माणका लागि पोहोर पनि बजेट आएको थियो, यस वर्ष पनि बजेट आएको छ । तर कार्यान्वयन नै गर्दैनन्,’ कैलारी ५ पबेरा गाउँका किसान भीष्म चौधरीले भने, ‘खेतीपाती गर्ने जमिन छ । तर सिँचाइ नभएर खेतीपाती राम्रो हुँदैन ।’

कैलारी–१ का बिसनपुर, लवनपुर, मनाउ, हरिनगर, डम्मरा गाउँ, वडा नम्बर ५ का सडकपुर, पबेरा, गोब्रैला, जग्दहवा, मनिकापुर, बैसपुर गाउँ र वडा नम्बर ७ का सतनपुर, सिउपुर, नारायणपुर, वसन्ता, छटकपुर वसन्ता, भुइयाफाटा, रामपुर गाउँका किसानको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नभएर बाँझै छ । यी गाउँमा थारू समुदायको बसोबास छ । स्थानीयका अनुसार कैलालीकै सबैभन्दा पुरानो र ठूलो सिँचाइ कुलो हो, गुर्गी सिँचाइ कुलो । तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले गाउँलेलाई परिचालन गरेर परम्परागत शैलीमा कुलो निर्माण गरेको स्थानीय बताउँछन् ।

स्थानीयले वर्षौंसम्म त्यही परम्परागत कुलोबाट सिँचाइको काम काम चलाएका थिए । कुलो अहिले पनि छ । ०२६ सालमा कैलारी २ कुकुरभुक्कामा ढुंगाको बाँध बनाएर खेतसम्म पानी लगिएको थियो । ‘वर्षको एक पटक सबै गाउँले मिलेर कुलो सोहर्न जान्थ्यौं,’ भीष्मले भने, ‘माटो र स्याउलाले बारेर परम्परागत शैलीमा कुलो निर्माण गरिएको थियो ।’ पछि जिल्ला विकास समिति (जिविस) ले पनि त्यही ठाउँमा बाँध निर्माण गरेर सिँचाइ कुलो सञ्चालनमा ल्याएको थियो ।

आर्थिक वर्ष ०६२/६३ मा तत्कालीन जिविसबाट सिँचाइ आयोजनाका लागि डेढ करोड बजेट विनियोजन भयो । उक्त बजेटबाट पक्की बाँध तथा फराकिलो सिँचाइ कुलो निर्माण भयो । तर ०६४ सालमा आएको बाढीले बाँध भत्काएपछि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको स्थानीय दयाशंकर चौधरी बताउँछन् । बाँध भत्किएकाले सिँचाइको असुविधा मात्रै होइन, कैलारी ७ का बस्ती बर्खामा बर्सेनि डुबानमा पर्छन् । कुलोको बाँध बनेको भए बाढी पनि रोकिन्थ्यो ।

‘त्यही बाँध नभएकाले हामीलाई बर्खामा बाढीले बिचल्ली पार्छ,’ स्थानीय तीर्था चौधरीले भने, ‘हामीलाई त दोहोरो संकट भएको छ ।’ बजेट आएर पनि कार्यान्वयन नभएकामा यति बेला कैलारीका प्रभावित किसान आक्रोशित छन् । गत वर्ष र यस वर्ष पनि पटकपटक उनीहरूले प्रदेश सरकारको भौतिक योजना र जलस्रोत तथा सिँचाइ योजनामा दौडधुप र हारगुहार गरे । केही उपाय नलागेपछि उनीहरू यति बेला संघर्ष समिति नै गठन गरेका आन्दोलित हुने मनस्थितिमा छन् । बुधबार प्रभावित सबै गाउँका भलमान्साले धनगढीस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा पुगेर सातदिने अल्टिमेटम दिएका छन् ।

पाँच वर्षअघि तयार भएको डीपीआर गत आर्थिक वर्ष नै मन्त्रालयमा पठाएको भए पनि स्वीकृत पनि नभएर र जवाफ पनि नआएको सिँचाइ डिभिजन कार्यालयका प्रमुख अमरबहादुर पालले जनाए ।

प्रकाशित : वैशाख १७, २०८१ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?