कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालमा लगानीका प्रशस्त अवसर छन् भन्ने तथ्य स्थापित भयो : अर्थमन्त्री पुन 

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन, २०२४ सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताएका हुन् । 

नेपालमा लगानीका प्रशस्त अवसर छन् भन्ने तथ्य स्थापित भयो : अर्थमन्त्री पुन 

लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले सरकार उत्साहित भएको पनि मन्त्री पुनकोभनाइ थियो । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि गन्तव्य भएको पुष्टि गरेको उनको धारणा थियो ।

बैठकमा विकास साझेदारहरूसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधुर बनाइने मन्त्री पुनले प्रतिबद्धता जनाए । ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ,' मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसर छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं ।’

सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश गएको पनि उनले बताए ।

नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए । ‘उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौं,' उनले भने, ‘त्यो समर्थनका लागि सरकारका तर्फबाट भन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो ।’

मन्त्री पुनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनामा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएको बताए । विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उनको भनाइ थियो । यस्तै, विकास साझेदारहरूले चासो राख्दै आएको मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए ।

सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानी अनुकूल वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको पनि मन्त्री पुनको भनाइ थियो। नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको उनले बताए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि अरु क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

नेपाल दुई ठूला उदयीमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा अवस्थित हुनुले पनि नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको मन्त्री पुनले बताए । नेपालको जैविक विविधता तथा प्राकृतिक श्रोतहरूको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको उनको भनाइ थियो । आगामी दिनमा थप नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने उनले प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने बताए ।

प्रकाशित : वैशाख १७, २०८१ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?