२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

एक अर्ब लगानीमा फर्च्युन रिसोर्ट

भारतको आईटीसी ग्रुप अफ होटल्सअन्तर्गतको ‘फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पा’ शाकाहारी पारखीका लागि उत्तम

काठमाडौँ — एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा भक्तपुरमा ‘फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पा’ सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मंगलबार २४ रोपनीमा फैलिएको फर्च्युनको उद्घाटन गरे ।

एक अर्ब लगानीमा फर्च्युन रिसोर्ट

स्वदेशीसँगै बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा मन्त्री भण्डारीको भनाइ छ । ‘निजी होटल–रिसोर्ट निर्माण र सञ्चालन हुँदा पर्यटकीय गन्तव्य बढ्छ । पर्यटन ‘हब’ का रूपमा विकास हुँदा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘यसले नेपालको पर्यटन क्षेत्रमा सघाउँछ । होटल सञ्चालन हुँदा काम गर्ने अवसर प्राप्त हुन्छ, रोजगारी बढ्छ । सँगसँगै आन्तरिक राजस्व पनि वृद्धि हुन्छ ।’

भक्तपुर सांस्कृतिक एवं पर्यटकीय जिल्ला भएकै कारण रिसोर्ट सञ्चालनले पर्यटकलाई धेरै सहज हुने भण्डारीले जनाए । नेपालको आन्तरिक स्रोत र साधनको उपयोग गरेर उद्यमशीलतामार्फत व्यापार घाटा न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा रहेको रिसोर्ट १४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा छ । भारतको आईटीसी ग्रुप अफ होटल्सअन्तर्गत रहेर सञ्चालनमा आएको रिसोर्टले भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रामा अगाडि बढेको कम्पनीले जनाएको छ ।

भारत बाहिर अन्तर्राष्ट्रिय यात्राको डेब्युमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हर्षित भएको फर्च्युन होटल्सका प्रबन्ध निर्देशक समीर एमसीले बताए । ‘नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमा फर्च्युन रिसोर्ट उद्घाटन गरेका छौं । दक्षिण एसिया र नजिकका थप मुलुकमा हाम्रो उपस्थिति बढाउँदै जानेछौं,’ उनले भने, ‘आज भएको उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुंगा हो ।’

सांस्कृतिक सम्पदा एवं प्राकृतिक सौन्दर्यले उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकलाई फर्च्युन पहिलो रोजाइमा पर्ने उनले बताए । सोही कारण सञ्जालको प्रयोग गर्दे फर्च्युन होटल्सको सुविधा नेपालमा पनि ल्याइएको एमसीको दाबी छ । ‘भक्तपुरमा पहिलो रिसोर्ट सुरु गर्दैगर्दा विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा रिसोर्ट सञ्चालन गरिएको छ । यस अवधारणाले नेपाल आउने पर्यटकको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ,’ उनले भने ।

फर्च्युन होटल्ससँग सहकार्य गरी नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउन पाउँदा खुसी लागेको हिलटेक हेल्थ एन्ड होम्स प्रालिका अध्यक्ष कमल जैनले बताए । ‘फर्च्युन होटल्स होटल सञ्जाल मात्र नभई हाम्रा लागि उत्कृष्ट साझेदार हो । फर्च्युन रिसोर्टमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ,’ उनले भने । होटलमा कटेज तथा न्यानो र आधुनिक गरी ६६ वटा कोठा छन् । यसलाई विस्तार गर्दे १५० पुर्‍याइने जनाइएको छ । रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, साउना, स्टिम रुम, जिम, स्विमिङ पुललगायत सुविधा रहेको कम्पनीको दाबी छ । शाकाहारी खानाका पारखीलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्ट बहुउपयोगी हुने जनाइएको छ । रिसोर्टमा ६ सय पाहुना अट्ने हल रहेको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०८१ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?