२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बजेटमा महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुन आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्थाहरू राख्ने बताएका छन् ।
महिला उद्यमी महासंघका पदाधिकारी सोमबार मन्त्रालयमा गरेको छलफलमा अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बजेटमा महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

मन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटका अनुसार अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताएका थिए ।

‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु आफैं आत्मनिर्भर बन्छन् । छोरीहरु आर्थिक रुपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ’ मन्त्री पुनले भने ।

मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रुपले बलियो हुनुपर्ने अनिवार्य सतै रहेको उल्लेख गरे ।

मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गाको रजिष्ट्रेशनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको स्मरण पनि गरे । ‘२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ । बाबुआमाले पनि सम्पत्तिको हक राख्ने भएकाले पढाउनुपर्छ छोराछोरी बराबर हो भन्ने धारणाको विकास भएको छ । किनभने छोरी पढायो भने बुहारी पनि पढेकै आउँछ भन्ने लाग्न थालेको छ । यो सम्पत्ति सम्बन्धका कारण भएको परिवर्तन हो । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरुको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन’, उनको भनाई उदृृत गर्दै प्रेस नोटमा छ,'यो वर्षको बजेटमा हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।’ छलफलमा महासंघका अध्यक्ष शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवर्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

प्रकाशित : वैशाख २४, २०८१ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?