गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन
काठमाडौँ — डेढ वर्षअघि च्याटजीपीटी सार्वजनिक गरेर चर्चामा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी काम गर्ने संस्था ओपेनएआईले अब गुगल सर्च इन्जिनको विकल्पका रूपमा च्याटजीपीटी सर्च इन्जिन विकास गरिरहेको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा ओपेनएआईले आगामी दिनमा सार्वजिक गर्ने सर्च इन्जिनबारे अनेक सामाग्री प्रकाशन भइरहेका छन्।
सो फिचरमा प्रयोगकर्ताले च्याटजीपीटीलाई सोधेका प्रश्नको जवाफमा विभिन्न वेबसाइटहरूको लिंकसहित विवरणहरू आउनेछन् । आवश्यक परेको खण्डमा तस्बीरसहितको जवाफ दिने गरी सर्च इन्जिन विकासको काम भइरहेको बताइएको छ । प्रयोगकर्ताले ढोकाको बिँड कसरी फेर्ने भनेर प्रश्न सोधेमा च्याटजीपीटी सर्च इन्जिनले चित्रसहित प्रतिक्रिया दिने यसमा आबद्ध एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा द बिजनेस टाइम्सलाई बताएका छन् ।
च्याटजीपीटीले जीपीटी-४ प्रविधिमा बनेको माइक्रोसफ्टको कोपाइलट शैलीमा सर्च इन्जिन विकास गर्न लागेको प्रारम्भिक बुझाइ छ । हाल सर्च इन्जिनहरूमध्ये गुगल सबैभन्दा ठूलो प्लाटफर्मका रूपमा रहेको छ । यसले ९० प्रतिशत बजार हिस्सा ओगटेको बताइन्छ । एक अर्ब अमेरिकी लगर मूल्यांकन भएको कम्पनी परप्लेक्सिटिले पनि पछिल्लो समय चर्चा बटुलिरहेको छ । माइक्रोसफ्टले अल्फाबेटको गुगल र ओपेनएआईसँग प्रतिस्पर्धा बढाउन नयाँ एआई ल्यांग्वेज मोडल विकास गरिरहेको छ ।
यता, गुगल आफैंले पनि सर्च इन्जिनलाई थप शक्तीशाली बनाउन एआई प्रविधिमा विभिन्न अभ्यास थालेको छ । जेमिनाइ एआई मोडलको थप परिष्कृत भर्सन सार्वजनिक गर्ने योजना बनाइरहेको छ । यो सबैमाझ ओपेनएआईको सर्च इन्जिनलाई लिएर सामाजिक सञ्चालमा चर्चा बढेको छ । कतिपयले ‘सर्च डट च्याटजीपीटी डट कम’ ब्राउज गर्दा च्याटजीपीट डट कममा रिराउट भएपछि ओपेनएआईको सर्च इन्जिनबारे सवत्र चासो बढेको थियो । हाल त्यो डोमेन नेम राख्दा ‘नट फाउन्ड’ म्यासेजन देखिन्छ ।
प्रकाशित : वैशाख २६, २०८१ १५:४५