२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा उनले यस्तो बताएका हुन् ।

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

भेटमा नयाँ चरणको आर्थिक सुधारका लागि सरकारको नेतृत्व र विकास साझेदारहसँगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकाले जानकारी दिए ।

‘नेपाल प्राकृतिक स्रोतसाधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति छ,’ उनले भने, ‘यद्यपि, यी फाइदाहरूलाई पूर्णरूपमा सदुपयोग गर्न र आर्थिक वृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेछ ।’

नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले बताए ।

भेटघाटमा आईएफसी प्रबन्धक होल्टम्यानले आइएफसी सधैं निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको बताए । नेपालको विकास कार्यमा आइएफसी निरन्तर सहयोग र सहकार्य गर्ने उनको भनाइ छ ।

होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गरिररहेकाे बताए । गत वर्ष आईएफसी र महासंघले संयुक्तरुपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रकाशित : वैशाख २७, २०८१ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?