२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

‘वार टु’ मा रजाटोसको इन्ट्री

हलिउडका उम्दा स्टन्ट डाइरेक्टर स्पिरो रजाटोस बलिउड फिल्म ‘वार टु’ मा जोडिएका छन् । मुखर्जीको निर्देशनमा बन्ने फिल्ममा ऋतिक रोशनसँगै एनटीआर जुनियरको मुख्य अभिनय रहनेछ ।
हिमेश

काठमाडौँ — स्पिरो रजाटोस । हलिउड पछ्याउनेका लागि यो नयाँ नाम होइन । सुरुमा उनी स्टन्टम्यान थिए । पछि स्टन्ट डाइरेक्टर भए । त्यसपछि कलाकार र निर्देशक पनि भए । तय छ, उनको निर्देशन गर्ने सिनेमा पनि त ‘एक्सन’ ले भरिएको हुनुपर्छ । विश्वभर सबैभन्दा बढी रुचाइने सुपरहिरोमध्येमा पर्छ, क्याप्टेन अमेरिका ।

‘वार टु’ मा रजाटोसको इन्ट्री

यसका केही सिरिजमा काम गरेका छन् रजाटोसले । ती हुन्, ‘क्याप्टेन अमेरिका : सिभिल वार’ र ‘क्याप्टेन अमेरिका ः द फ्रस्ट सोल्जर’ ।

त्यसका साथै, ‘फास्ट एक्स’, ‘एफ नाइन ः द फास्ट सागा’, भेनम’, ‘फास्ट एन्ड फ्युरियस–६’, ‘फ्युरियस–७, ‘द फेट अफ द फ्युरियस’ लगायत उनले काम गरेका फिल्मको सूची निकै लामो छ । १९६० मा जन्मिएका रजाटोस उमेरले ६३ वर्ष लागे । उनले १९८० को दशकको सुरुआतमा स्टन्टम्यानका रूपमा फिल्मका काम थालेका थिए । ‘स्ट्रिट्स अफ फायर’, ‘द गुनिज’, ‘कमान्डो’, ‘रोबोकप’ त्यतिबेलाका उनका चर्चित फिल्म हुन् । त्यसयता रजाटोस निरन्तर फिल्म क्षेत्रमा क्रियाशील छन् ।

१९८० को दशकको अन्त्यतिरबाट भने उनी एक्सन फिल्ममा सेकेन्ड युनिट डाइरेक्टरका रूपमा सक्रिय भए । पछिल्लो एक दशकयता भने रजाटोस ‘क्याप्टेन अमेरिका,’ ‘द एक्सपान्डेबल्स’, ‘फास्ट एन्ड फ्युरियस’, ‘भेनम’, ‘कङ स्कल आइल्यान्ड’, ‘द ग्रे मेन’ लगायतका ब्लकबस्टर हलिउड फिल्मका युनिट डाइरेक्टर तथा स्टन्ट कोअर्डिनेटर छन् ।

अब यिनै रजाटोस पुनः बलिउड फिल्मसँग जोडिएका छन् । खासमा उनी अयान मुखर्जी निर्देशित फिल्म ‘वार टु’ मा आबद्ध भएका छन् । मुखर्जीले २००९ मा ‘वेक अप सिड’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए । त्यसयता उनले ‘ए जवानी हे दिवानी’ र ‘ब्रह्मास्त्र : पार्ट वान, शिव’ निर्देशन गरिसकेका छन् ।

पछिलो पटक रजाटोसले एक वर्षअघि बलिउड फिल्म ‘जवान’मा काम गरेका थिए । एट्ली निर्देशित फिल्मले बक्स अफिसमा तहल्का मच्चाएको थियो । फिल्ममार्फत नयनतारा र विजय सेतुपतिले पनि बलिउडमा डेब्यु गरेका थिए । ‘जवान’ मा काम गर्नुभन्दा एक दशकअघि रजाटोस ‘रावन’ फिल्ममा जोडिएका थिए । फिल्मका निर्देशक हुन् अनुभव सिन्हा । र, यो फिल्ममा पनि शाहरूख खानले खेलेका थिए, लिड रोल । त्यसका साथै रजाटोसले ‘कम्बख्त इस्क’, ‘कुर्बान काइट्स’ र ‘माइ नेम इज खान’ सँग पनि जोडिएका थिए ।

‘वार टु’ मा मुख्य भूमिका रहनेछ ऋतिक रोशनको । अनि उनका लागि रजाटोसले एक से एक डरलाग्दा स्टन्ट निकाल्नेछन् । एक्सन सिनेमाकै लागि धेरै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका रोजाटेसको आगमनले ‘वार–टु’ विशेष हुने निश्चित छ । अझ भनौं, यसका एक्सन हलिउड सिनेमाका भन्दा कम्तीका हुने छैनन् । अझ दाबी त के छ भने यस्तो एक्सन यसअघि कुनै बलिउड सिनेमामा देखिएकै थिएन ।

अनि ‘वार’को यस पटकको सिक्वेन्समा ऋतिकसँगै हुनेछन्, एनटीआर जुनियर पनि । खासगरी तेलगु फिल्ममा अभिनय गर्ने एनटीआर महँगो पारिश्रमिक लिने नायकमा पर्छन् । १९९१ मा बाल कलाकारका रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेका एनटीआरले पहिलो पटक २००१ मा ‘निन्नु चुँडाल्नी’ मा लिड रोल पाएका थिए । बलिउडमा भने ‘वार टु’ उनको डेब्यु फिल्म हुनेछ ।

एक्सन थ्रिलर रहने ‘वार–टु’को बजेट नै दुई सय करोड भारतीय रुपैयाँभन्दा बढी रहनेछ । ब्लकबस्टर सावित ‘वार’को बजेट भने १ सय ७० करोड भारतीय रुपैयाँको बराबर थियो । यसपल्ट पनि निर्देशक रहने छन्, आयान मुखर्जी । बलिउडबाट के समाचार आइरहेको छ भने यी निर्देशकले रजाटोससँग नजिक रहेर काम पनि सुरु गरिसकेका छन् ।

‘वार टु’ सन् २०२५ भित्र रिलिज भइसक्नेछ र यसका लागि अवसर बनाएको छ, भारतको स्वतन्त्रता दिवस । सन् २०१९ को सिक्वेन्समा टाइगर सराफ थिए । यसपल्ट उनको स्थान लिन लागेका हुन्, एनटीआर जुनियरले । ऋतिक र एनटीआरले सुटिङका लागि दुई महिनाको समय पनि छुटाइसकेका छन् । यसमध्ये एक महिना जतिको समयमा दुवै सँगसँगै हुनेछ । तय छ, ऋतिक र एनटीआर दुवै परस्पर विरोधी गुटमा हुनेछन् र एकले अर्कोलाई टक्कर दिनेछन् ।

‘पठान’ र ‘टाइगर थ्री’ को सफलतापछि अब यसराज फिल्म्सले आफ्नो पूरा ध्यान ‘वार टु’ मै लगाउने पनि भएको छ । जासुसी थ्रिलरको यस महाजालमा फेरि एकपल्ट ऋतिक एजेन्ट कबिरकै भूमिकामा हुनेछन् । देशमा आइपरेको नयाँ आपत्सँग लड्न उनी लागिपर्नेछन् । सन् २०१२ मा यसराज फिल्म्सले ‘एक था टाइगर’ बाट यस्ता जासुसी एक्सन थ्रिलर सिनेमा बनाउन सुरु गरेको हो । त्यसमा पनि उत्तिकै सनसनीपूर्ण एक्सन थिए, यी सबैलाई ‘वार टु’ ले उछिन्नेछ ।

प्रकाशित : वैशाख १०, २०८१ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?