कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘ननस्टप’ रजनीकान्त

तमिल सुपरस्टार रजनीकान्त पाँच दशकदेखि फिल्मी क्षेत्रमा सक्रिय छन् । उमेरले सात दशक पार गरिसकेका रजनीकान्त आगामी फिल्म ‘कुली’ मा भने सुन तस्करसँग भिडिरहेका देखिनेछन् । लोकेश कनगराजको निर्देशनमा बन्ने ‘कुली’ उनको १७१ औं फिल्म हो । 
हिमेश

काठमाडौँ — तमिल सुपरस्टार रजनीकान्त जति चर्चित छन्, त्यति नै सरल र उदार । संसारभर करोडौं फ्यान छन् । उनी उमेरले सात दशक नाघिसके । तर फिल्मी क्षेत्रमा अझै पनि निकै सक्रिय । नायक मात्र होइन, चरित्र अभिनेता होस् वा खलनायकको भूमिकामा निकै जम्छन् उनी । पर्दामा भयंकर एक्सन गरिरहेका उनी वास्तवमा भने निकै सरल रजनीकान्तको कुरै बेग्लै । उनको पछिल्लो पिःम याद छ ? त्यसमा उनी जेलर थिए । 

‘ननस्टप’ रजनीकान्त

एक्सन कमेडी फिल्मको नामै ‘जेलर’ हो । फिल्म गत वर्ष मात्रै रिलिज भएको हो । दक्षिण भारतमा रजनीकान्तको निकै ठूलो क्रेज छ  र फ्यानहरूले उनका फिल्म ‘फस्ट दिन फस्ट शो’ नै हेर्न चाहन्छन् । जसका कारण फिल्म रिलिज भएको दिन चेन्नई, बैंग्लोरलगायत केही भारतीय सहरमा कर्मचारीलाई बिदासमेत दिइन्छ । नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको ‘जेलर’ मा मुथुवेल पान्डियन (रजनीकान्त) एक सेवानिवृत्त जेलरको भूमिकामा छन् । उनी आफ्नो छोरालाई सधैं सत्यको बाटोमा हिँड्न प्रेरित गर्छन् । अब सबैलाई थाहा छ, यस्तो सत्यको बाटो सधैं कहाँ सजिलो हुन्छ र ? फेरि यी छोरा इमानदार प्रहरीमा पर्छन् । तर अन्त्यमा, सधैंझैं जित सत्यकै हुन्छ ।

कथा लगभग सुनेझैं लाग्न सक्छ । तर यसबीच रजनीकान्तले जस्तो प्रकारको अभिनय गर्छन्, त्यो विशेष हुने गर्छ । यसले नै फरक पार्ने हो । अब यिनै रजनीकान्त आफ्नो नयाँ फिल्ममा कुलीको भूमिकामा देखिनेछन् । भनेपछि फिल्मको नाम पनि ‘कुली’ नै हुनुपर्‍यो । फेरि सबैलाई के पनि राम्रोसँग थाहा छ भने उनका फिल्म कति बेला मात्रै रिलिज हुने हो, त्यसका लागि उनका प्रशंसकहरू अधैर्य बनेर पर्खिरहेका हुन्छन् । यो पनि विशेषतः दक्षिण भारतका उनका प्रशंसक । यस्तोमा पालो अब ‘कुली’ को । भर्खरै यसको टिजर रिलिज भएको छ । यसका निर्देशक छन्, लोकेश कनगराज । टिजरमा जे जस्तो देख्न पाइन्छ, त्यसले भन्छ, यो पक्कापक्की रजनीकान्त स्वाभाविकको फिल्म नै हुनेछ र यसलाई हेर्दा पनि छुट्टै मज्जा आउनेछ ।

अब त रजनीकान्त ७३ वर्षका भए । रजनीकान्तको स्वभावमा उमेरले भने कुनै परिवर्तन आएको छैन । पहिले पहिले जस्तो हुन्थ्यो, त्यस्तै छ । कम्तीमा कुलीको टिजरले त्यस्तै देखाउँछ । अन्य क्षेत्रका पेसाकर्मी रिटायर्ड भएकै दशक पार गरिसक्ने उमेर हो यो । तर रजनीकान्तको फिल्मी उडान भने जारी छ । त्यो पनि निकै वेगसँग । १९७५ यता फिल्मी दुनियाँमा सक्रिय रजनीकान्त २०२१ मा भारत सरकारबाट फिल्म क्षेत्रको विशिष्ट पुरस्कार दादासाहेब फाल्के अवार्डबाट सम्मानित भएका थिए । फ्यानहरूले भने उनलाई ‘थलाइवा’ अर्थात् बोस भनेर सम्बोधन गर्छन् ।

कर्नाटक राज्यको बैंग्लोरमा १९५० डिसेम्बर १२ मा जन्मिएका हुन्, शिवाजी राव गायकवाड । पाँच वर्षको उमेरमा नै आमा गुमाएका उनले कुली काम गरेर घर खर्चमा बुबालाई सघाउँथे । पछि बैंग्लोरकै बसमा कन्डक्टर भए । फिल्ममा लाग्नेबारे त सोचेका पनि थिएनन् । कन्डक्टको काम गर्दा उनको बोल्ने शैली र व्यवहार आफैंमा फिल्मी देखेपछि एक साथीले अभिनयमा लाग्न सल्लाह दिए । त्यसपछि २३ वर्षीय उनी मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना भएका थिए । त्यसपछि केही समय उनी नाटकमा रमाए ।

के. बालाचन्दर रजनीका गडफादर हुन् । उनले रजनीलाई नाटकबाट ल्याएर फिल्म खेलाएका थिए । तमिल भाषा सिक्न सल्लाह दिएका बालाचन्दरले नै उनको नाम रजनीकान्त राखिदिएका थिए । सुरुमा भिलेनको भूमिकाबाट वाक्क भएर फिल्म क्षेत्र नै छाड्ने सोच बनाएका थिए रजनीकान्तले । तर त्यहीबेला ‘चिलकम्पा चेप्पिन्डी’ र ‘भुवन ओरु केल्विकुरी’ मा मुख्य अभिनेताको भूमिका पाए । १९८० मा अमिताभ बच्चन अभिनीत ‘डन’ को रिमेक ‘बिल्ला’ चलेपछि भने उनलाई राहत मिल्यो । फिल्मले नै उनी तमिल फिल्मको टप स्टारमा स्थापित भए । सोही वर्ष रिलिज भएको ‘बैरवी’ को सफलता पछि फिल्मका निर्देशक एम. भास्करले रजनीकान्तलाई सुपरस्टारको दर्जा दिए ।

उनै रजनीकान्तको १ सय ७१ औं फिल्म हो, ‘कुली’ । यु–ट्युबमा उपलब्ध त्यस टिजरमा देखाइएको छ, केही बदमास देखिनेहरू गोदाममा छन्, तस्करी गरिएका सुनसँगै । त्यहाँ सुनैसुन मात्र छ । सुनको अपार भण्डार नै छ भन्दा हुन्छ । ठीक त्यही बेला त्यहाँ इन्ट्री हुन्छ, रजनीकान्तको । त्यसपछि के हुन्छ, सबैलाई थाहा हुनुपर्छ, एक्सन चल्छ । अनि त ती बदमासहरू भाग्न बाध्य हुन्छन् । सुनको जञ्जिरले बदमासमाथि आक्रमण गरिरहेका छन् । जम्माजम्मी तीन मिनेट र १६ सेकेन्डको छ, यो टिजर, तर यसले धेरैथोक भन्छ ।

फिल्मको टिजर आफैंमा सानदार छ । टिजर नै यति राम्रो छ भने फिल्म झन् सानदार हुने निश्चित छ । यसलाई हेरेर भारतीय मिडियाले के अनुमान गरेका छन् भने सायद रजनीकान्त यस फिल्ममा सुन तस्करसँग भिड्नेछन् । अब एक जना कुलीले कसरी त्यो काम गर्नेछ, त्यसका लागि त त्यो फिल्म नै हेर्नुपर्नेछ । त्यसैले सुरुमा यसको नाम नै ‘थलाइवर १७१’ राख्ने योजना थियो । तर पछि नाम फेरेर ‘कुली’ राखियो ।

फिल्ममा श्रुति हसन पनि हुनेछिन् । यो फिल्मको अर्को ठूलो विशेषता रहेको छ, यसलाई आईम्याक्स स्वरूपमा सुट गरिनेछ । भारतीय मिडियामा चुहाइएको जानकारीअनुसार ‘कुली’ मा सक्दो नयाँ प्रविधि प्रयोग हुनेछ, त्यो पनि आईम्याक्सका रूपमा । कनगराज आफैंमा सफल निर्देशक हुन् । उनले यसअघि पनि आईम्याक्स फिल्मको निर्देशन गरिसकेका छन् । आईम्याक्स फिल्ममा प्रविधिक रूपमा अब्बल हाई–रिजोलुसनका क्यामरा प्रयोग गरिन्छ । यसका प्रोजेक्टर, पर्दा र थिएटर आफैंमा ठूला हुने गर्छन्, अहिले हामीले हेरिआएका फिल्म भन्दा ।

अनुमान गरौं, सबै ठूलो र भव्यमा रजनीकान्तको प्रस्तुति कस्तो हुने होला ? त्यसो त रजनीकान्तले कुलीको भूमिकामा खेल्न लागेको यो नै पहिलो पटक भने होइन । यसअघि उनले ‘उझइपली’, ‘मनन’, ‘मुलम मलरुम’ लगायतका फिल्ममा कुलीको भूमिका निभाइसकेका छन् । यसमध्ये उझइपली १९९३ को फिल्म हो, जसले कमाइमा सबै खाले कीर्तिमानलाई उछिनेको थियो । यही फिल्मको बेला त हो, रजनीकान्त र ड्रिस्टिब्युटरबीच विवाद चलेको ।

यसपल्टको ‘कुली’ मा अनिरुद्ध रविचन्दरको संगीत हुनेछ । उनी त्यही संगीतकार हुन्, जसले ‘जेलर’ मा पनि संगीत भरेका थिए । फिल्मले मनग्य कमाइ पनि गरेको थियो । त्यसो त रजनीकान्तको ठ्याक्कै पछिल्लो फिल्म ‘साल सलाम’ थियो । त्यसको निर्देशक अरू केही होइन, उनकै छोरी ऐश्वर्या थिइन् । तर यसमा रजनीकान्तको भूमिका छोटो मात्रै थियो । यो खासै चल्न पनि सकेन । सन पिक्चर्सले बनाउन लागेको ‘कुली’ भने ब्लकबस्टर हुने अनुमान छ । यो फिल्म अर्को वर्ष रिलिज हुने बताइएको छ ।

प्रकाशित : वैशाख १८, २०८१ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?