२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

फिल्म समीक्षा : मुक्ति मात्र मृगतृष्णा ! 

रीना मोक्तान

काठमाडौँ — उनीहरु तलाउ छेउको बेन्चमा बसेर टोलाइरहेका छन् । उनीहरु अर्थात् मनिष र उनकी आमा । नजिकै खेलिरहेकी छिन्, मनिषकी बहिनी । त्यत्तिकैमा एकजना माग्ने तलाउ छेउ आइपुग्छ, र गोडा भिजाउने पानीमा उभिएर बाँसुरी बजाउन थाल्छ । पानीको तरंग, बाँसुरीको धुनमा नाचिरहे झैं देखिन्छ ।

फिल्म समीक्षा : मुक्ति मात्र मृगतृष्णा ! 

अनि मनिष र उनको परिवारलाई हेर्दै माग्नेले भन्छ, 'परमेश्वरले मुक्तिको बाटो देखाउनुहुन्छ । अनि सुन्नुस्, मुक्ति आफैभित्र छ ।' त्यसपछि विस्तारै क्यामेरा माग्नेबाट प्यान हुँदै मनिषतर्फ टक्क अडिन्छ । पृष्ठभूमिमा माओवादी लडाकुहरु लामबद्ध हिँडिरहन्छन् । निधारमा रातो फेटा बाँधेका उनीहरु पोखरी छेउ थकाई मेट्छन्, केहीले त्यहींको पानीले हातमुख धुन्छन् ।

‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’मा प्रदर्शन भएको 'मृगतृष्णा'को यो दृश्यमा पानीलाई बलियो बिम्बका रुपमा प्रयोग गरिएको छ । सन्तोष दाहाल निर्देशित फिल्मको यो दृश्यमा मुक्तिको बाटो खोजिरहेका दुई पात्र यहीं तलाउ छेउ भेटिन्छन् । जस्तो, माग्ने पात्र जो मुक्ति प्राप्त गर्न परमेश्वरमा भरोसा गर्छन् । उक्त पात्रले गर्ने कुराकानीले यो प्रस्ट हुन्छ कि, मुक्ति प्राप्त गर्न यो पात्रले धर्म परिवर्तन गरेको छ । त्यस्तै अर्का हुन् जनयुद्धका लडाकु । उनीहरु पुँजीवादबाट मुक्ति खोजिरहेका छन् । सर्वहारा वर्गका लागि मुक्ति चाहन्छन्, त्यसैले बन्दुक भिरेका छन् । पोखरीको यो पानीलाई निर्देशकले मिराज (मृगतृष्णा)का रुपमा यहाँ स्थापना गर्न खोजेको छ । फिल्मको शीर्षकमा भनिएझैं यो पानी मिराज हो, मुक्तिको मिराज ! झट्ट हेर्दा पानी देखिने तर छेउ पुग्दा अस्तित्व नभेटिने, मिराज ! फिल्मले उठाएको यो गम्भीर मुद्दा यही पहिलो दृश्यमै भेटिन्छ ।

२६ मिनेट लामो यो फिल्मले पुँजीवादसँगको विद्रोहलाई पनि बिम्बात्मक रुपमा प्रहार गरेको छ । पुँजीपति विरुद्धको यो लडाइँमा जनयुद्धका लडाकुहरुले मुक्तिको परिकल्पना गर्दै विद्रोह गरे, रगत बगाए । तर, नतिजामा उनीहरुले के पाए ? बन्दुक बोकेका योद्धाहरुले कल्पना गरेको भविष्य प्राप्त भयो त ? पुँजीवाद, अन्य थुप्रै वादहरुबाट नेपाली जनताले मुक्ति पाए त ? आमासँग मामाघर जाँदै गरेको सानो बालक मनिषको आँखाबाट यो भारी विषयभित्र फिल्मले बहस छेड्छ । साथै, मनिषको यही यात्रामार्फत निर्देशकले भन्छ, 'विद्रोह मृगतृष्णा हो' । जनयुद्धमा रटान गरिएको मुक्तिको नारा, विद्रोहलाई यो फिल्ममा निकै सशक्त ढंगले व्यंग्य गरिएको छ । फिल्ममा पानीको बिम्ब निकै कलात्मक छ । सुरुदेखि अन्तिमसम्म फिल्ममा पानीको निरन्तरता देखिन्छ ।

फिल्मको अर्को दृश्यमा जमेको पानीमा हजुरबुवाको छायाँ देखिन्छ । त्यही शान्त पानीमा मनिषले औंला चोपेर तरंगित बनाउँदा हजुरबुवाको छायाँ हराउँछ । उक्त दृश्यमा हजुरबुवाले गरेको विद्रोह र त्यसको नतिजा देखाइएको छ । मनिषका हजुरबुवा छोरालाई विद्रोहीहरुबाट पर मणीपुरमा सुरक्षित बनाउन चाहन्छन् । त्यसैले मनिषका काकालाई मुक्ति चाहिएको छ, जनयुद्धका लडाकुबाट । त्यसैले गाउँ छोडेर मणिपुर जाने तयारीमा छ । उनलाई बन्दुक समाएर विद्रोही बन्नु छैन, विद्रोहीबाट स्वतन्त्रता चाहिएको छ । त्यसैले भान्जालाई काँधमा बोकेर गाउँ छाड्छ । मनिषकी आमा र बहिनी अगाडि हिँडिरहेका हुन्छन्, मामा र मनिष पछाडि । त्यत्तिकैमा बन्दुक चलेको आवाज सुनिन्छ ! जमेको पानीमा तरंग ल्याइदिएको दृश्यले हजुरबुवाको अवस्था बोलिदिएको छ । यो दृश्यमा हजुरबुवाले कल्पेको मुक्तिको अवसान भयो भन्ने गहिरो अर्थ दिन खोजिएको छ । विद्रोह, मुक्तिको परिकल्पनाले ल्याएको नतिजामा पनि फिल्मको यो दृश्यले कटाक्ष बोल्छ ।


तर, बन्दुकको गोलीले मनिषको हजुरबुवालाई छेड्यो वा मामालाई ? त्यतातिर भने अंग्रेजी नाम 'द मिराज' दिइएको 'मृगतृष्णा' प्रस्ट छैन । गाउँबाट सँगै निक्लिएका मामा अन्तिमसम्मको यात्रामा कतै देखिँदैनन् । फर्कँदै गर्दाको एउटा दृश्यमा मनिष, आमा र बहिनीमात्र देखिन्छन् । मामा कहाँ गए त ? गुड्दै गरेको बसमा ? या धुँवा बनेर उड्दै गरेको आकाशमा ? त्यसबारे भने फिल्मले खासै बोल्दैन । निर्देशक दाहालले यी पक्षलाई कमजोर पक्षलाई सरल तरिकाले प्रस्तुत गर्न जानेका छैनन् । फिल्मको कमजोर पाटो यी नै हुन् ।

फिल्ममा अर्को एउटा दृश्य छ, चिहानसँग सम्बन्धित । मामाघर जाँदै गर्दा बाटोमा मनिषले चिहान देख्छ, त्यो चिहानलाई हेर्दै उनी टोलाइरहन्छन् । त्यत्तिकैमा चिहानमा घरको ढोका देखिन्छ । त्यही ढोकाबाट एकजना पात्रले पानी हुत्याउँछिन् । उनी को हुन् ? सायद मनिषकी हजुरआमा ! फिल्मले यो पात्रबारे प्रस्ट बोल्दैन । चिहानमा कोरिएको मिति पनि खासै प्रस्ट छैन । दुई पटक चिहान देखाउँदा फरक-फरक मिति त्यहाँ देखाइएको छ, त्यसको खास अर्थ दर्शकबीच संसार नहुने किसिमको छ ।

जनयुद्धलाई पृष्ठभूमि बनाई निर्माण गरिएको यो फिल्मले समातेको आस्पेक्ट रेसियो, रंग संयोजन र पार्श्व ध्वनीमा मिहिनेत छ । फिल्मले कथ्य वाचनमा समावेश गरेको आस्पेक्ट रेसियोले दर्शकलाई कथा घट्दै गरेको समयमा दर्शकलाई पुर्‍याउँछ । निर्देशकले फिल्मभित्रका चरित्र, उनीहरुको साँघुरिएको परिवेश देखाउनलाई यस्तो रेसियोको प्रयोग गरेका हुन् ।

फिल्ममा क्यामेरालाई अधिकांश समय बालकको नजरबाट नै देखाउन खोजिएको छ । फिल्ममा अधिकांश समय क्यामेरा प्यानिङ भएको छ । पर्दामा देखिने अधिकांश चरित्र र उनीहरुको ‘प्वोइन्ट अफ भ्यु’ देखाउन क्यामेराले महत्त्वपूर्ण भूमिका खेलेको छ । साथै, रंग संयोजन पनि कथाको समय र मुड देखाउने किसिमले प्रयोग गरिएको छ । फिल्मले २०५० तिरको कथा प्रस्तुत गरेको छ । त्यतिबेलाको समय र परिस्थितिलाई रंग संयोजनमार्फत पनि जनाउने कोसिस गरिएको छ । पार्श्व ध्वनीमै पनि साउन्ड डिजाइनरले ध्यान पुर्‍याएका छन् । सुरुको दृश्य, जब कुनै पात्रले तलाउको पानी चलाउँछन्, त्यसमा पानीको आवाज, सँगै त्यही समयमा जंगलबाट किराहरु कराइरहेको आवाजलाई समेत मिहिन ढंगमा फिल्ममा प्रयोग गरिएको छ ।

प्रकाशित : वैशाख २३, २०८१ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?