कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सामाजिक कर्ममा ‘इलाम ग्रिन’

पछिल्लो समय प्रयोगकर्ताको चाप र ‘फेक आईडी’ ले सामाजिक भनिने सञ्जाल (अ) सामाजिक बन्दै गइरहेको छ । तर, सबै सामाजिक सञ्जाल ‘असामाजिक’ हुँदैनन् भन्ने गतिलो सन्देश प्रवाह गर्न सफल भएको छ, ‘इलाम ग्रिन’ । 
पर्वत पोर्तेल

इलाम — ठीक १२ वर्षअघि अर्थात सन् २०१२ तिर स्थानीय तह कर्मचारीहरूकै अधीनमा थियो । त्यो जनप्रतिनिधिविहीन समयमै पर्यटकीय गन्तव्य इलामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको शंखघोष भएको थियो । त्यस्तै अभियान अन्य जिल्लाले पनि थालेका थिए तर इलाममा जस्तो अन्त प्रभावकारी हुन सकेन ।

सामाजिक कर्ममा ‘इलाम ग्रिन’

प्लास्टिकमुक्त अभियानलगत्तै इलाममा अर्को अभियान चल्यो, ‘सुर्तीजन्य वस्तु मुक्त इलाम’ त्यसको अगुवाइ गरेका थिए, सुदीप श्रेष्ठले । ‘सुर्तीजन्य वस्तु नियन्त्रणसम्बन्धी ऐन बनाएर नियमन गर्नुपर्ने अभियान हामीले सुरु गरेका थियौं,’ सुदीपले सुनाए, ‘संयोग नै मान्नुपर्छ, हाम्रो अभियानपछि सरकार ऐन बनाउन बाध्य भयो ।’

जब ऐन बन्यो तब त्यसबारे गाउँ–गाउँमा प्रचार गर्नुपर्ने भयो । अनि इलाम नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज दाहालले एउटा जुक्ति दिए, फेसबुक पेज सञ्चालनको । उनको जुक्तिलाई शिरोधार्य गर्दै इलामेली पत्रकारद्वय राजेश पराजुली र सुदीप श्रेष्ठले त्यही बेला थालनी गरे, ‘इलाम ग्रिन’ नामको फेसबुक पेज । ‘अधिकृत दाहालले फेसबुक पेज सूचना सम्प्रेषणको राम्रो विकल्प हुन सक्ने कुरा गरेपछि राजेश पराजुलीसँग मिलेर फेसबुक पेज चलाउन सुरु गर्‍यौं,’ सुदीपले सुनाए, ‘त्यसयता पेज निरन्तर चलिरहेको छ ।’

१२ वर्षअघि सामाजिक सञ्जालका प्रयोगकर्ता अहिले जस्तो बग्रेल्ती थिएनन् । प्रयोगकर्ताको चापले यो सामाजिक भनिने सञ्जाल (अ) सामाजिक बन्दो छ । तर, सबै सामाजिक सञ्जालहरू भने ‘असामाजिक’ हुँदैनन् भन्ने गतिलो सन्देश प्रवाह गरेको छ, इलाम ग्रिनले । भर्खरै फेसबुक चलाउन सुरु गर्दै गरेका इलामेलीलाई इलाम ग्रिनले लत नै फेसबुक चलाउने लगाइदियो । कुनै घटना या दुर्घटनाबारे थाहा पाउने दरिलो माध्यम बनिदियो, इलाम ग्रिन । ‘कुनै घटनाबारे वुझ्न मान्छेहरू ग्रिन इलामलाई नै विश्वासिलो माध्यम ठान्न थाले,’ इलाम ग्रिन पेजका संस्थापक सुदीप श्रेष्ठले सुनाए, ‘बिस्तारै हामी त भुइँमान्छेका सुख, दु:खका साथी पो बन्दै गएछौ ।’

आम मान्छेको सुखदु:खको सारथि बन्दै गएको इलाम ग्रिनले घटना दुर्घटनाको सूचना त दिन्छ नै, सँगै उपचार नपाएर अलपत्र परेकाहरूको उद्धार गरी उपचारको पहल गर्छ । असहायहरूलाई सहयोग गर्छ । रगत चाहिएकालाई तत्काल रगत जुटाएर ज्यान जोगाउने सामर्थ्य राख्छ । प्राकृतिक विपत्ति हुनुअघि सचेत गराउँछ । विपत्तिपछि समस्यामा परेकाहरूलाई होस्टेमा हैंसे गर्छ । एक पटक एक बालक आगोमा जलेर गम्भीर घाइते भए । विपन्न परिवारका तिनको उपचार समस्या थियो । यो कुरा थाहा पाएको इलाम ग्रिनले सानो समाचार बनाएर पोस्ट गरेको मात्रै के थियो, सहयोगी हातहरूको लाम लाग्यो ।


सहयोगी हातहरूकै कारण ती बालक मृत्युको मुखबाट जोगिए । आज पनि उनको नाममा बैंकमा रकम जम्मा छ । भविष्यमा त्यो रकम उनलाई उपलब्ध गराउने योजना उनीहरूको छ । एक पटक लामो समयदेखि बेपत्ता एक व्यक्ति पेजकै कारण फेला परे अनि वर्षौंपछि परिवारसँग उनको मिलन गर्ने काम भयो । बिरामीको उपचार, बिछोडमा परेका मान्छेहरूको पुनर्मिलनजस्ता सामाजिक कर्मका कारण आम मान्छेले पेज मन पराउँदै गए, जोडिँदै गए ।

‘हामी सत्तालाई भने सधैं प्रश्न गर्छौं,’ सुदीपले थपे, ‘स्थानीय सरकारका बेथितिदेखि सेवाग्राहीका समस्यालाई खुलस्त रूपमा उजागर गरेर न्याय दिने काम गर्छौं ।’ स्थापनाको १२ वर्षमा ९२ हजार फलोअर्स बनिसकेका छन् । जबकि करिब ३ लाख जनसंख्या रहेको इलामका आधाभन्दा बढीले यही पेजलाई सूचनाको दरिलो स्रोत मान्ने गरेका छन् । ‘इलाम ग्रिन मेरो मनपर्ने फेसबुक पेज हो,’ स्थानीय सागर गुरुङले भने, ‘यहाँ सबै किसिमका सूचना तथा सामग्रीहरू हुन्छन्, जसले हामीलाई धेरै जानकारी दिन्छ ।’ इलाम ग्रिनका ७० प्रतिशत फलोअर्स २२ देखि ४५ वर्ष उमेर समूहका छन् ।

दुई वर्षअघि फेसबुक पेजलाई थोरै विस्तार गरेर ग्रिन मिडिया प्रालिका रूपमा दर्ता गरी वेबसाइट पनि सञ्चालन सुरु गरेका छन् । चुनावका बेला विभिन्न दलहरूले पेजलाई प्रयोग गर्न खोज्छन् । तर, उनीहरू त्यसमा सचेत छन् । कुनै पनि दलको पक्षमा प्रचार–प्रसार गर्दैनन् । ‘हामीहरू जतिसक्दो कुनै दल र संघसंस्थाहरूको प्रभावमा पर्नु नपरोस् भनेर सधैं सचेत रहन्छौं,’ सुदीपले सुनाए, ‘दलहरूको भन्दा आम मान्छेको पक्षधरता लिन्छौं हामी ।’

बिनाखर्च बनेको पेजले अहिले सामाजिक कर्मसँगै केही वैधानिक आम्दानी पनि गर्छ । विज्ञापनहरू छाउँछन् । कम मूल्य लिएर छापिदिन्छन् । कृषि, मानवीय सुरक्षा, उद्धार, विपत्ति, शिक्षा, स्वास्थ्य, धर्म संस्कृतिका विज्ञापन गर्नुपरेमा पैसा लाग्दैन । तर, कसैले व्यापारिक विज्ञापन गर्न खोज्छन्, त्यसको भने उनीहरू न्यूनतम शुल्क असुल्छन् । ‘हामीले पेजको फलोअर्स र लाइक बढाउन कहिल्यै बुस्ट गरेनौं,’ सुदीपले सुनाए, ‘रियालिटी शो र भोटिङ गर्ने कार्यक्रमको कहिल्यै प्रचार गर्दैनौं ।’

यो पेजका संवाददाता गाउँ–गाउँमा सक्रिय छन् । गाउँमा भएका घटना, दुर्घटनादेखि सकारात्मक–नकारात्मक सूचनाहरू ती ‘गाउँले संवाददाता’ हरूबाट प्राप्त हुन्छ । ‘हामीले सिटिजन जर्नालिज्मको प्रयोग गरेर सूचना सम्प्रेषण गरिरहेका छौं,’ ‘उनीहरूबाट घटनापरक समाचारहरू आउँछन्, अनौठा घटनाहरू पनि पठाउँछन् ।’ पश्चिम इलामको फाकफोकथुम ७ एकतप्पाका प्रकाश परिवार गाउँमा केही नयाँ घटना भयो या कसैलाई समस्या परेमा इलाम ग्रिनलाई सम्झिहाल्छन् । अनि पेजमा सूचना र जानकारी हाल्दिन सुदीपलाई भन्छन् ।

सुदीपले सत्यतथ्य क्रस चेक गरेपछि गाउँलेबाट पाएको जानकारीलाई सूचनाका रूपमा पेजमा राख्छन् । कतिपय अवस्थामा राज्यका निकायहरूले पनि सर्वसाधारणको हितमा सूचना जारी गर्नुपर्दा सम्झिने पहिलो पेज इलाम ग्रिन नै हो । ‘पेजले आनन्दचाहिँ,’ मज्जाले दिएको छ, ‘सुदीपले हाँस्दै भने, ‘आम मान्छेहरूलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने रहेछ ।’

प्रकाशित : वैशाख २२, २०८१ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?