कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विचारै विचारको सरगर्मी

प्रकृति मायावी शक्ति हो । उसले माया पनि गर्छे, छल पनि । त्यसैले प्रकृतिबाट अलग हुनुपर्छ, जगत्को भूलभुलैयामा लाग्नुहुँदैन भन्छ उपन्यास ।

लेखक पाठकको पछुवा बन्ने कि अगुवा हुने ? साहित्यका मञ्चहरूमा आक्कलझुक्कल यस्ता प्रश्न उठ्दै आएका छन् । पाठक रिझाउने नाममा सतही र हल्काफुल्का रचना लेख्ने अनि उपन्यासको नाममा प्रेम, विवाह, सन्तान उत्पादन आदि मामुली कुरा थोपर्ने चलन बढ्दै जाँदा गम्भीर पाठ खोज्ने एउटा वर्ग वाक्कदिक्क र निराश छ । के जीवनको गहिराइमा गएर दर्शनलाई आख्यान बनाएर लेख्न सकिँदैन ?

विचारै विचारको सरगर्मी

सस्तोमस्तो आख्यानको दबदबाका कारण आजका पढालिखा मानिसलाई सांख्यदर्शनका बारेमा थाहा छैन । उपनिषद्, न्याय वैशेषिक दर्शन कुन चराको नाम हो भन्ने पनि थाहा छैन । पात्रहरू राखेर दार्शनिक छलफल, विचार विमर्श गरेर अघि बढ्ने पद्धति पनि साहित्यमा छ भन्ने ज्ञान पाठकलाई त परै जाओस्, लेखकहरूलाई समेत छैन । ख्यातानामा समालोचक एवं आख्यानकार कृष्ण गौतमका निम्ति आख्यानको ध्येय मनोरञ्जनका लागि मनोरञ्जन होइन, जीवनदर्शन हो । उनी आफ्ना आख्यानमा पात्रहरूका माध्यमबाट दार्शनिक चिन्तनको चुरो बहस गराउँछन् र त्यसलाई उज्यालिन दिन्छन् । ‘अद्वैत’ त्यही उपक्रमको एउटा अग्लो आख्यान हो ।

दर्शन आफैंमा जटिल विधा हुँदै हो । तर, गौतम हरेक डिस्कोर्सलाई रोमाञ्चक, अद्भुत र कौतकमय बनाइदिन्छन् । प्रस्तुत उपन्यासमा उनले कसैलाई मुखपात्र बनाएका छैनन् । कुनै निर्णय दिएका पनि छैनन् । न अद्वैत, द्वैत र बहुलवाद कुन ठीक हो भनेर अलमलिएका छन्, न त यौन सम्बन्ध वा आध्यात्मिक पक्ष लिनुपर्छ भनेर जोर लगाएका छन् । उपन्यासकारका रूपमा गौतमको रुचि कुनै वाद ठीक हो भन्नेमा छैन, बरु विचारहरूको सरगर्मी सिर्जना गर्नुमा छ । उनको आख्यान सामर्थ्य यही हो ।

आद्यतत्त्वको खोज मानिसले आदिकालदेखि गर्दै आएको छ । तार्किक सकारात्मकतावादीदेखि भाषा वैज्ञानिकसम्मले जे–जे भन्दै आए पनि नैतिकता र सौन्दर्यलाई मानिसले छाड्न सक्दैन । ती कुराले मानिसको मनमा घचघची दिइरहन्छन् । हाम्रा वैदिक ऋषिमुनिहरूलाई नदिने कुरै भएन । ऋग्वेदको नासदीय सूक्तमा समेत आद्यतत्त्वको बारेमा चर्चा छ, ‘एकं सद् विप्रा बहुधा वदन्ति’ ।

वेदमा बहुदेवतावाद छ अर्थात् धेरैथरीका देवतालाई सम्मान गर्ने, उपासना गर्ने, यज्ञ गर्ने आदि परम्परा छ । तर, एकथरीले आद्यतत्त्व ब्रह्म मात्रै हो भने । त्यही निष्कर्षलाई आचार्य शंकर (शंकराचार्य) ले नयाँ किसिमले व्याख्या गरे, ‘ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापर:’ । भौतिकवादीहरू जगत्लाई भौतिक मात्र मान्छन् । तर, आचार्य शंकरले भौतिकता भ्रम मात्र हो भनिदिए । उनको दृष्टिमा सम्पूर्ण जगत् नै ब्रह्म हो, चैतन्य हो, सद् चित् आनन्द हो । चैतन्य एउटै छ, सनातन छ । शंकरको आद्यतत्त्व एउटै हो भन्ने दर्शनलाई ‘अद्वैत’ उपन्यासमा मनोरथ नामक पात्रले अघि बढाएको छ । अर्थात् मनोरथ आचार्य शंकरतिर अभिमुख पात्र हो ।

आदिगुरु शंकराचार्यका सम्बन्धमा एउटा रोचक कथा छ । उनले मण्डन मिश्रलाई शास्त्रार्थमा हराए । तर मण्डनपत्नी उभय भारतीले त्यसलाई स्वीकार गरिनन् र आफैं शास्त्रार्थमा उत्रिइन् । उनले शंकराचार्यलाई कामशास्त्रसम्बन्धी प्रश्न गरिन् । कामकलालाई हेलत्व गर्ने संन्यासी शंकर पराजित भए । पछि उनी मृत राजाको देहमा प्रवेश गरे र उनकी रानीसँग भोगविलास गरे । कामशास्त्रमा पाण्डित्य हासिल गरेपछि मात्र उनको वेदान्तले प्रसिद्धि पायो भन्ने संकेत उपन्यासमा सञ्चिता नामक पात्रले गरेकी छे ।

उपन्यासमा अद्वैतवादको विपक्षमा सुवासिनी नामक पात्र मुखर भएर निस्केकी छ । उसको व्याख्या सांख्य मतमा आधारित छ । सांख्य दर्शनमा द्वैतवाद छ अर्थात् प्रकृति र पुरुष । प्रकृति र पुरुष नभईकन त सृष्टि हुँदै हुँदैन भन्ने उसको जिकिर छ । सांख्य दर्शनले प्रकृतिलाई नै अन्तिम सत्य मानेको छ । उसको व्याख्यामा सम्पूर्ण संसार प्रकृतिको सिर्जना हो । आजका सामन्तवाद, समाजवाद, पुँजीवाद पनि प्रकृतिकै विविधतामय सिर्जना हो । प्रकृतिका औजार बुद्धि र कर्मेन्द्रियद्वारा सृष्टि सभ्यताको रूपमा विकसित हुन्छ ।

अद्वैतवाद एक किसिमको तानाशाही हो भन्ने सुवासिनीको जिकिर छ । चीनको यिन याङ दर्शनमा जस्तै सांख्य दर्शनमा यौनिकताको रूपरेखा छ । सुवासिनीको मतमा सबैलाई एउटै वादमा धकेल्नु मानिसको स्वतन्त्रताको अपहरण हो । सृष्टिको मूललाई नै यौनिकतामा लैजानुपर्छ । जब कि मनोरथले अद्वैतलाई नै विशाल पाठशाला मानेको छ, समावेशिताको अर्को रूप मानेको छ । ‘अद्वैत’को अर्को पात्र सुरथ बहुलवादी छ । उसलाई चार्वाकवादी पनि भनिएको छ । चार्वाक अर्थात् मीठो बोलेर भ्रमित बनाउने पात्र । उसको मतमा सृष्टि बहुलतामै विकसित भएको हो । बहुलता नै आद्यतत्त्व हो । आम मानिस बहुलतामै बाँचिरहेका छन् । उनीहरू आ–आफ्ना विचार, चिन्तन र दृष्टिकोण प्रकट गर्छन् । तसर्थ आजको जमानामा मानिस अद्वैत वा द्वैतमा खुम्चिन सक्दैन । सुरथको चिन्तनमा बहुलवाद नै सत्य हो ।

उपन्यासकी अर्की पात्र मनोरमा भने जैन मत अनेकान्तवादमा विश्वास गर्छे । जैन मत अनुसार कुनै पनि वस्तुमा अनन्त गुण हुन्छन् । मुक्त या कैवल्य प्राप्त साधकलाई नै त्यसको ज्ञान सम्भव हुन्छ । तर यसले ईश्वरमा विश्वास गर्दैन । यो पनि एक किसिसको बहुलवाद नै हो । हरेक चिजमा सत्यताका अनेक कोण हुन्छन्, तिनको पहिचान गर्नुपर्छ भन्ने उसको मत छ । पहिले सुरथबाट प्रभावित मनोरमाको विचारमा एकै कोणबाट मात्र हेरेर सत्यको ज्ञान हासिल गर्न सकिँदैन । बहुल कोणका आधारमा सत्यको परीक्षण गर्नुपर्छ । उपन्यासमा अनेकान्तवादलाई खोलाको उपमा दिइएको छ । खोला कसैका लागि बिजुली निकाल्ने ठाउँ हो, कसैका लागि सिँचाइ, धोइपखाल्ने वा पानी खाने ठाउँ हो । खालि पानी भनेर मात्र भएन, खोलाको उपयोगिता अनेक हुन्छ ।

उपन्यासको उपसंहार भने भाषिक दृष्टिबाट भएको छ । अहिलेको युग भाषावैज्ञानिक युग हो । भाषाले जता लग्यो, कुरा त्यतै जान्छ । राजनीतिकर्मीको एउटा भाषा छ, त्यसले एकातिर तान्छ । दार्शनिकको भाषाको बेग्लै छ, त्यसले अर्कातिर तान्छ । सम्पूर्ण सृष्टि बनाउने तत्त्व भाषा हो भन्ने उत्तरसंरचनावादी तर्कलाई उत्तरआधुनिकतावादले पनि स्वीकार गरेको छ । उत्तरआधुनिकताका निम्ति त अझ भाषा नै सबथोक हो । आचार्य भर्तृहरिले भनेअनुसार भाषा कालको नियन्त्रण रहन्छ । कालले गर्दाखेरि नै सत्यका अनेक रूप गोचर हुन्छन् ।

अहिले उहिलेका कुरा खुइले भन्ने चलन छ । तर उपन्यासले पहिलेका कुरा पनि परिमार्जित रूपमा आउन सक्छन्, तिनले दिशानिर्देश गर्न सक्छन् भन्ने मत राखेको छ । आजका मानिस मन्दिर पनि गएका छन्, मधुशाला पनि गएकै छन्, वेश्यालय पनि धाएकै छन् । हाम्रो विचार के हो ? हामीले आफूलाई कहाँ स्थापित गर्ने ? उमेर ढल्केपछि कता लाग्ने ? के गर्ने ? भन्ने कुरालाई पनि ‘अद्वैत’ले पश्चिमको दार्शनिक आलोकमा पूर्वीय दृष्टिकोणलाई उजागर गरेको छ । हामीले लामो समयदेखि खालि अस्तित्ववाद, मार्क्सवाद, विसंगतिवाद मात्र फलाकिरह्यौं । तिनीहरूको मात्र चर्चा गर्‍यौं । आफूलाई वा आफ्ना पूर्वजहरूलाई सम्झने कष्ट गरेनौं । यजुर्वेदको हाँगो बृहदराण्डयक उपनिषद्को उद्गम थलो जनकपुरलाई बिर्स्यौं । जैन दर्शन र बौद्ध दर्शनको मूलथलो कपिलवस्तुलाई सम्झेनौं । यी नेपाली दर्शनलाई भुल्यौं भन्ने चिन्तन पनि उपन्यासकारमा नजानिँदो गरी छ ।

यी नेपाली दर्शनले नैतिक दृष्टिकोणले कर्मयोगी जीवन नै उत्तम हो भन्ने मात्र दर्शाएको छैन, नेपाली चिन्तन, दर्शन र संस्कृतिलाई उँचो देखाएको छ । हजारौं वर्षको इतिहास औंल्याएको छ । पश्चिमा दर्शनको दृष्टान्त दिएर नेपालमात्र होइन, दक्षिण पूर्वी एसिया, मुस्लिम दर्शनबाट समेत पाठकमा एकखाले दार्शनिक चेतना जगाउन खोजेको छ ।

उपन्यासको नाम ‘अद्वैत’ भए पनि यसमा फगत अद्वैतवाद मात्र छैन, द्वैतवाद पनि छ । बहुलवाद पनि छ । परम्पराले हामीलाई अद्वैतजस्तो एकलवादी, द्वैतवादी र बहुलवादी विविध बाटो देखाएको छ । उपन्यासले कुनै पनि मतको अन्ध समर्थन गरेको छैन । पात्रहरूले आ–आफ्नो इच्छाअनुसार आफ्नो विचार राखेका छन्, बस् । उपन्यासको सुखद पक्ष के हो भने अद्वैत मान्नुपर्छ भन्ने पनि छैन, बहुल मान्नुपर्छ भन्ने पनि छैन । आजको बहुलवादी युगमा सबैले एउटै दर्शन मान्नुपर्छ भन्ने छैन । सबैको आआफ्नो विचार हुन्छ, अझ व्यक्तिगत स्वतन्त्रता सबैभन्दा ठूलो कुरा हो भन्ने मान्यतामा उपन्यास सतीसालझैं उभिएको छ ।

‘अद्वैत’को औपन्यासिक अवदान यौनिकताको विश्लेषण पनि हो । यौनिकतालाई पर सार्ने कुरा सरासर अनुचित हो भन्ने मनोरमाको धारणा छ । बृहदराण्डयक उपनिषद्ले पनि यौनिकताको अनुभूति र ब्रह्मानुभूतिबीच समानता छ भनेको संकेत उसले गरेकी छ । उसको भनाइमा यौनिकता र ब्रह्मानुभूतिलाई अलग गर्न मिल्दैन ।

तर मनोरथले मनोरमाको धारणालाई स्विकारेको छैन । उसका निम्ति यौनिकता अस्थायी, अस्थिर र निम्न मूल्यको छ, ।

ब्रह्मानुभूति भनेको ईश्वरीय वा आध्यात्मिक अनुभूति त्योभन्दा उच्चतर मूल्यको हो । उसले यौनाभूति, सौन्दर्यानुभूति र आध्यात्मिक अनुभूतिको कोटि निर्धारणसमेत गरेको छ । अर्थात् रसवाद वा सौन्दर्यवाद ब्रह्मानुभूतिभन्दा तल र यौनानुभूतिभन्दा माथि हो भन्ने उसको तर्क छ । उपन्यासमा पात्रहरूबीच एक खाले घम्साघम्सी छ । त्यो विचारहरूको द्वन्द्वको संकेत हो । मनोरथ र सुरथबीचको कुस्ताकुस्तीलाई सुवासिनीले छुट्याएकी छ । विभिन्न सामाजिक, राजनीतिक, आर्थिक, कला, धर्म इत्यादि प्रसंग उपन्यासमा आउँछन् । सबैभन्दा महत्त्वपूर्ण कुरा विभिन्न पात्रहरू राखेर दार्शनिक कुरालाई सजिलो र पठनीय बनाउने प्रयत्न छ । जसलाई दर्शनबारे प्रवेशिका ज्ञान छैन, उसलाई पक्कै अप्ठ्यारो लाग्नेछ, ‘अद्वैत’ ।

उपन्यासमा दर्शनका विभिन्न संकेत र सूचना छन् । हरेक अध्यायका सामाजिक घटना मनोवैज्ञानिक एवं दार्शनिक अर्थ दिने खालका छन् । अचेतनसँग चेतनको गहन र सूक्ष्म सम्बन्ध देखाएको छ । आचार्य शंकरको ब्रह्म जीवात्मा, ईश्वरपछि मात्र आउँछ । उनी ज्ञानबाट मात्र मुक्ति मिल्ने ठान्छन् । भजन, उपासना, कीर्तन उनका निम्ति ब्रह्ममा पुग्ने सिँढी मात्र हुन् । हिगेलको विश्वात्मा रेखीय छ भने वेदान्तको विश्वात्मा चक्रीय छ ।

प्रकृति मायावी शक्ति हो । उसले माया पनि गर्छे, छल पनि गर्छे । त्यसैले प्रकृतिबाट अलग हुनुपर्छ, जगत्को भूलभुलैयामा लाग्नु हुँदैन भन्ने चर्चा पनि उपन्यासमा छ । कमलले हिलोमा फुलेर पनि अलग हुन सक्नुपर्छ, दार्शनिक हुनका लागि तटस्थता वा वैराग्यभाव हुनुपर्छ समेत भनेको छ । उपन्यासको पुछार पानामा एक पात्रले अनुष्टुप छन्दमा गाएको छ, ‘पुँजी हो ब्रह्मको शक्ति, ब्रह्म भौतिक मूल हो, बजार पुँजीको जादु जहाँ मानिस भुल्दछ... ।’

यो उपन्यास आफैंमा पूर्वीय दर्शनलाई बुझाउने प्रयत्न हो । सार्वभौम चैतन्यमा नगईकन हिन्दु दर्शन सन्तुष्ट हुन सक्दैन । हिन्दु दर्शनमा एकातिर वेदान्त छ भने अर्कातिर मीमांसा । मीमांसा गृहस्थ जीवनको कर्मकाण्ड हो भने वेदान्त गृहस्थबाट निवृत्त हुँदै जाने दर्शन । मीमांसा गृहस्थ जीवनको कर्मकाण्ड हो भने वेदान्त गृहस्थबाट निवृत्त हुँदै जाने दर्शन हो ।

उपन्यासको ध्येय नै दार्शनिक विमर्श भएकाले गैरआख्यानको तत्त्व भारी भरकम छ नै । कतिपय पृष्ठमा फुटनोट नै दिइएको छ । उपन्यासमा विभिन्न मत, वाद, विचार, दर्शनको चर्चापरिचर्चा छ । तर, अद्वैत भन्ने एकदेशीय नाम किन भन्ने प्रश्न उठ्न सक्छ । अझ आवरणमा बहुरङले बहुलवादको संकेत गरेको छ । यद्यपि अद्वैत आफैंमा सापेक्षतावादी शब्द हो । अर्थात् अद्वैतसँग द्वैत पनि छ, द्वैतसँग बहुल पनि छ । पूर्वीय अलंकारशास्त्र अनुसार भाषामा कहिले अंशले सम्पूर्णतालाई अभिव्यक्त गर्छ, कहिले सम्पूर्णताले अंशलाई अभिव्यक्त गर्छ ।

नामैको कुरा गर्दा बालकृष्ण समको नाटक ‘प्रल्हाद’मा हिरण्यकशिपू पात्रको केन्द्रीयता छ । जोन मिल्टनको महाकाव्य ‘प्याराडाइज लस्ट’मा नायक क्राइस्टभन्दा शैतान नै बलवान् छ । नाम जे भए पनि कुन वाद ठीक भन्ने जुँगा लडाइँमा नफसीकन उपन्यासमा ‘ओपन इन्डिङ’ भएको छ । कुन वाद अँगाल्ने भन्ने स्वतन्त्रता लेखकले पाठकलाई नै खुला छाडिदिएका छन् ।

प्रकाशित : वैशाख २२, २०८१ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?