२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

‘एआई’ मा जनावरको कल्पना

मीरा तामाङ

काठमाडौँ — सूचना प्रविधिको युगमा ‘एआई’ भन्नेबित्तिकै जोसुकैलाई लाग्छ, कृत्रिम बौद्धिकता । तर बत्तीसपुतलीस्थित शिल्पी थियटरमा एक्रो थियटर अभ्यास प्रस्तुतिमा भने विद्यार्थीहरूले यसको फरक अर्थ निकालेका छन् । नाटकको शीर्षकमा उल्लेख ‘ए’ ले एनमिल (जनावर) र ‘आई’ ले इम्याजिनेसन (कल्पना) बुझाउँछ । खासमा ‘एआई’ नाटकमा अभिनय गर्ने कलाकारले दर्शकलाई समेत जनावरको कल्पनामा पुर्‍याउँछन् । 

‘एआई’ मा जनावरको कल्पना

पवित्रा खड्काले निर्देशन गरेको नाटकका १० पात्रले आफूमा जनावरको आत्मा खोज्छन् । जनावरको कल्पना गर्दै कलात्मक ढंगमा प्रस्तुति दिन्छन् । निर्देशक खड्का आफूलाई कहिले घोडा भन्न रुचाउँछिन् त कहिले लाटोकोसेरो । उनले अभिनय सिक्न आएका आफ्ना विद्यार्थीलाई त्यही अभ्यास गराउने क्रममा नाटक ‘एआई’ तयार भएको हो । नाटकलाई पूर्ण रूपमा एक्रोबेटिक थिएटर प्रदर्शनीको नाम दिइएको छ, जहाँ पात्रहरूले शब्दको प्रयोगले होइन शरीरको चालले कथा बताउँछन् ।

चराजस्ता मान्छे भनौं वा मान्छे जस्ता चरा कल्पेर पात्रहरू लुकामारी खेल्दै, खेलाउँदै सुरु हुन्छ नाटक । नाटकले दस जना साथीहरूबीचको सम्बन्ध, खोज, भोक, भोगाइ, रोजाइ र बुझाइलाई रमाइलो ढंगले चित्रण गर्छ । दर्शकले अन्य नाटकमा जसरी यसमा समाजका कुनै पीडित महिला पात्र वा राजनीतिका कुरा वा इतिहास भेटिँदैन । नाटकले आफ्नो खोज र कल्पनाको माध्यम कति सत्य, सहज र सम्भव छ भन्ने सामूहिक र शारीरिक चालमार्फत देखाउँछ ।

‘हामी हिजोजस्तो आज छैनौं र आजजस्ता भोलि पक्कै रहँदैनौं । दिनहुँ कुनै न कुनै तरिकाले हामी परिवर्तित भइरहेका हुन्छौं,’ नाटकमा अभिनय गर्ने सुवेक्षा पनेरुले भनिन्, ‘अवधारणा यस नाटकले उठाएको छ ।’ नाटकको अभिनयले आफ्नो क्षमता थप निखार्ने अवसर पाएको उनले बताइन् । ‘९ जना पुरुष साथीहरूको समूहमा एक्ली युवतीका रूपमा एक्रोबेटिक थिएटरका क्रममा धेरै कुरा सिक्न पाएकी छु,’ उनले भनिन् । सामूहिक कार्यमा संलग्न हुनु भनेको अन्य साथीहरूसँग समन्वय गर्ने क्षमता पनि बढ्छ ।

नाटक शिल्पी थियटरमा वैशाख १३ देखि प्रदर्शनमा आएको हो । एक घण्टा लामो नाटक २२ गतेसम्म प्रदर्शन हुनेछ । नाटकमा पनेरुसहित विशाल पुलामी, विजय ढुंगेल, विष्णु श्रेष्ठ, जयप्रकाश ताजपुरिया, निरन्जन मगर, राजु खतिवडा, रमन श्रेष्ठ, सुमन राई र सुशान्त दाहालले अभिनय गरेका छन् ।

(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख १७, २०८१ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?