काठमाडौं महानगरको सीपमूलक तालिममा मागको ४ गुणा बढी आवेदन
काठमाडौँ — काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीपमूलक तालिममा मागभन्दा चार गुणा बढी आवेदन परेको छ । महानगरपालिकाले टुँडिखेलमा बुधबारदेखि सञ्चालन गरिरहेको सीप मेला–२०८१ मा २ हजार ८१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगारी’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखेको थियो ।
त्यसमा ९ हजार ५ सय जनाले सहभागिताका लागि नाम दर्ता गराएको महानगरपालिकाले जनाएको छ ।
एउटा सत्रमा २० जना गरेर दैनिक २९ वटा सत्र सञ्चालन गरी तालिम दिइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । ‘मेलामा सम्भव नभए अर्को तालिम आयोजना गरेर भए पनि नाम टिपाएका सबैलाई तालिम दिन्छौं,’ उनले भने, ‘तालिममा सहभागीहरूलाई विभिन्न कम्पनीसँग सहकार्य गरेर रोजगारी दिन पनि पहल गर्छौं ।’
तालिम कार्यक्रममा रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघसंस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ छन् । तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपीटीईएन), ग्लोकल, सिप्रदी ट्रेडिङ र सीसीटीभी स्टेसन एन्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।
सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ । अटोमोबाइल्स, अटो एयर कन्डिसन, मोटरसाइकल र स्कुटर रिपेयर, इलेक्ट्रिकल कार रिपेयर, सिकर्मी, टायल एन्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङलगायत तालिम छन् । सीप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सीपमूलक तालिम सञ्चालन हुन्छ ।
महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सीपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदै छ । नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध हुनेछन् ।
यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरूलाई ‘सीप मेला’ मा रोजगारदाताहरूसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य रहेको महानगरपालिकाको भनाइ छ ।
प्रकाशित : वैशाख २२, २०८१ ०७:०४