१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

नेसपा अध्यक्ष यादवको आरोप : 'राष्ट्रपति पद नपाएपछि बाबुराम पार्टी एकताको विपक्षमा उभिनुभयो'

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् । 

नेसपा अध्यक्ष यादवको आरोप : 'राष्ट्रपति पद नपाएपछि बाबुराम पार्टी एकताको विपक्षमा उभिनुभयो'

पार्टीले ललितपुरमा शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपतिको पद नपाएपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको आरोप लगाएका हुन् । उनले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरेका हुन् । ‘उहाँ (बाबुराम भट्टराई)लाई राष्ट्रपति बनाइदिएको भए यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । राष्ट्रपति बन्न सक्नुभएन ।डा. सापले मलाई भन्नुभयो, राष्ट्रपति भएन, हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔं ।' भट्टराईसँग भएको कुराकानीबारे अध्यक्ष यादवले भने, 'मैले कुरा गरेको छु प्रचण्डसँग, मैले डा. सापलाई भनेँ, तपाईं पनि हिँड्नुस्, प्रचण्डजीले भन्नुभयो-मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साप विचलित हुनुभयो ।'

आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र त्यो पनि नपाएको यादवले उल्लेख गरे । अन्तिममा पत्नी यमीको लागि गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य मागेको र सो पनि नपाएपछि एकता हुन नसकेको उनको भनाइ थियो ।

'प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो-गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस्,' अध्यक्ष यादवले भने, 'यो राजनीतिक पार्टी उहाँको पारिवारिक जस्तो भयो । आफू, श्रीमती, बुहारी, छोरी सबैको लागि राजनीति गर्न सकिन्छ ? अनि प्रचण्डजीले मलाई सोध्नुभयो, कसरी तपाईं दिनुहुन्छ ? पार्टी एकता गराउनुस्, बाबुरामले जे–जे भन्छ सबै दिनुस् । पार्टी एकताबिना केही नदिनुस् मैले भनेको प्रचण्डजीलाई । यथार्थ कुरा यही हो ।लुकाउनुपर्ने कुरा होइन । अनि हामीलाई चाहिँ मुद्दा लगाउने, लोभीपापी बनाउने ? यो देशमा हामीभन्दा बढी लोभीपापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्नसक्छु ।’

उनले बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोपसमेत लगाए । अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उहाँसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरुको भएको प्रस्ट पारेको बताए । उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए ।

अध्यक्ष यादवले बाबुराम वामपन्थी विचारबाट भाग्दाखेरी केशरजंग रायमाझीजस्तै हुन पुगेको टिप्पणी गरे ।

प्रकाशित : वैशाख ८, २०८१ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?