२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

उपनिर्वाचन : आश्वासन बाँड्दै नेता, बिच्किएका मतदाता

आफ्ना उम्मेदवारको प्रचार गर्न शीर्ष नेताहरूको दौडधुप
लक्ष्मी गौतम

इलाम — इलाम चोक बजारको लाँकुरी चौतारी अहिले उम्मेदवारका आश्वासन बाँड्ने थलो बनेको छ । दिनहुँ कुनै न कुनै राजनीतिक दल र उम्मेदवार आफ्ना एजेन्डा राख्दै मतदाता आकर्षित गरिरहेका छन् ।

उपनिर्वाचन : आश्वासन बाँड्दै नेता, बिच्किएका मतदाता

वैशाख १५ मा हुने इलाम–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारका क्रममा सदरमुकाममा मात्रै नभएर टोल बस्तीमा आयोजना हुने आमसभा, कोणसभा र मतदाता भेटघाटलगायतमा उम्मेदवारसँगै तिनलाई सघाउन आएका विभिन्न दलका नेताहरू पनि आफ्ना चुनावी एजेन्डा पस्किइरहेका भेटिन्छन् ।

तीन दिन अघि इलाम आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना उम्मेदवार सुहाङ नेम्वाङलाई जिताए सबै खालका समस्या समाधान गर्ने आश्वासन दिए । उनले जितेमा माई नगरपालिकाको खानेपानी समस्यासँगै वर्षौंदेखि अधुरो रहेको दमक चिसापानी–रवि सडक, राँके–रवि–भेडेटार र नेपालटार मंगलबारे जितपुरसहितका सडक ३ वर्षभित्रै कायापलट गरिदिनेसम्मका आश्वासन दिन भ्याए ओलीले । उता, कांग्रेस उम्मेदवार डम्बर खड्का भने यसअघि एमालेले निरन्तर चुनाव जिते पनि विकास नगरेको भन्दै यसपालि आफ्नो लागि भोट हाल्न मतदातालाई भनिरहेका छन् । प्रजातन्त्र प्राप्तिपछिका ३४ वर्षमा २०५१ को मध्यावधिबाहेकका सबै चुनाव जिते पनि एमालेले सबै आयोजना आधा अधुरो छोडेको उनको आरोप छ । आफूसँग भएको ज्ञान र सीपसँगै स्रोतसाधन परिचालन गरेर पनि विकास निर्माण पूरा गर्ने उनको एजेन्डा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू पनि चुनावी र्‍यालीसहितको जम्बो टोली लिएर सारंगी रेट्दै, नाच्दै इलाम केन्द्रित छन् । उनले पनि एमाले, कांग्रेस, माओवादीलगायत वर्षौं सत्ता र शक्तिमा रहेकाले यसपालि आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । उनको पक्षमा माहोल बनाउन यतिबेला रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र संघीय सांसदसहित विभिन्न स्थानबाट पाँच सयभन्दा बढी नेता इलाम केन्द्रीत छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने संघीयता खारेजीको मुद्दालाई प्राथमिकतामा राखेको छ । संघीयता देशका लागि आर्थिक बोझ र ऋण थुपार्ने केन्द्रबिन्दुजस्तै बनेकाले निर्वाचित भएपछि प्रादेशिक संरचना खारेजीका लागि भूमिका खेल्ने उम्मेदवार लक्ष्मी गुरुङको भनाइ छ । बाँकेबाट आएर स्वतन्त्र उम्मेदवारी दिएका अर्जुनविक्रम शाहीको प्राथमिकतामा इलाममा बाँदर व्यवस्थापन गर्नेसम्मका एजेन्डा छन् । शिक्षा स्वास्थ्य र सूचना प्रविधिलाई व्यवस्थित गर्नु पनि आफ्नो एजेन्डा रहेको उनी सुनाउँछन् ।

अर्का स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले संघीताको प्रभावकारी कार्यान्वयन गर्दै पहिचान स्थापित गर्ने एजेन्डा पस्केका छन् । आफ्ना उम्मेदवारलाई सघाउन रौतहटदेखि आइपुगेका सिके राउतका दाजु जयकान्त राउत आफूहरू असली पहिचान पक्षधर भएको दाबी गर्दै उम्मेदवार प्रेमदीप थाम्सुहाङलाई भोट मागिरहेका छन् । इलाम क्याम्पसका प्राध्यापक अरुण नेपाल दल र उम्मेदवारले प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी बिर्सदा उनीहरूको प्रचार शैलीमा परम्परागतपनले निरन्तरता पाएको बताउँछन् ।

‘विधायकको मुख्य काम कानुनी निर्माणमा भूमिका खेल्नु हो, तर यहाँ उम्मेदवारले त्यो विषय उठाएकै पाइन्न,’ प्राध्यापक नेपाल भन्छन् । इलाम–४ जसबिरेमा चिया बगानमा काम गर्दै गर्दा भेटिएका जयकुमार राई भने उम्मेदवारले दिएका चुनावी आश्वासन पत्याइहाल्ने खालका नभएको बताउँछन् । ‘गलफत्ती भाषण सुनेर समय बर्बाद गर्नुभन्दा चिया स्याहार्नु नै उत्तम,’ उनी भन्छन् ।

प्रकाशित : वैशाख ११, २०८१ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?