१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

माओवादी महासचिव गुरुङको नेतृत्वमा टोली चीन भ्रमणमा व्यस्त

काठमाडौँ — नयाँ सत्ता समीकरण बनेपछि सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रको उच्च स्तरीय टोली १० दिने भ्रमणमा व्यस्त रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टील (सीपीसी)को निमन्त्रणमा महासचिव देव गुरुङको नेतृत्वमा चीन भ्रमणमा गएको हो । त्यसअघि माओवादीको टोली सोमबार हुनान पुगी त्यहाँको कम्युनिस्ट पार्टी प्रमुखसँग छलफल गरेको छ ।

माओवादी महासचिव गुरुङको नेतृत्वमा टोली चीन भ्रमणमा व्यस्त

माओवादी टोलीले सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ चिनचाओसँग शनिबार बेइजिङमा भेटवार्ता गरेको थियो । भेटवार्तामा माओवादी र सीपीसीबीच थप सम्बन्ध विस्तारबारे छलफल भएको भ्रमण टोलीमा रहेका प्रवास विभाग प्रमुख ओम शर्माले जानकारी दिए ।

‘खासगरी दुई कम्युनिस्ट पार्टीबीच सम्बन्ध बलियो बनाउनेबारे छलफल केन्द्रित भयो,’ उनले भने, ‘दुई कम्युनिस्ट एमाले माओवादीको नेतृत्वमा नयाँ समीकरण बनेपछि हाम्रो पार्टीको उच्चस्तरीय भ्रमण हो ।’ महासचिव गुरुङले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको सन्देश लिएर चीन गएका हुन् ।

भेटमा सीपीसी विदेश विभाग प्रमुख लिउले नेपालमा वामपन्थीबीच सहकार्य हुनु राम्रो भएको उल्लेख गर्दै सीपीसी माओवादीसँग सम्बन्ध विस्तार गरी काम गर्न इच्छुक भएको धारणा राखेका थिए ।

एमाले माओवादीसहितको नयाँ सत्ता समीकरण बनेपछि चीनले सन्तुष्टि व्यक्त गर्दै नेपालमा वामपन्थी मिल्नु उचित हुने सुझाव दिँदै आएको छ । महासचिव गुरुङ चीनले लिएको नीतिप्रति नजिक देखिन्छन् । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनको विरोध गर्दै यसको नेपालमा कार्यान्वयन गर्न नहुने धारणा राखेका थिए ।

त्यस्तै माओवादी टोलीले हुनान प्रान्तका पार्टी सचिव सेन चाओ मिङसँग पनि भेटवार्ता गरेको छ । त्यसपछि कुइचाउ प्रान्तको भ्रमण गर्ने तालिका रहेको छ । वैशाख ५ मा प्रस्थान गरेको भ्रमण टोलीमा महासचिव गुरुङ, स्थायी कमिटी सदस्य परशुराम तामाङ, कमला रोका, केन्द्रीय सदस्य ओम शर्मालगायत टोली छन् ।

२०८० साउनमा पनि गुरुङले चीन भ्रमण गरेका थिए । गत जेठमा उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमण भएको थियो ।

प्रकाशित : वैशाख ११, २०८१ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?