रेडक्रस अनियमितता प्रकरण छानबिन गर्न समिति गठन

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । 

रेडक्रस अनियमितता प्रकरण छानबिन गर्न समिति गठन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा समिति गठन गरिएको हो । छानबिन समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र चार्टर एकाउन्टेन्ट रहेका छन् ।

रेडक्रसमा नीतिगत तथा आर्थिक भ्रष्टाचार भएको विषय छानबिन गरी दोषीउपर कारबाही माग गर्दै उजुरीहरु परेको भन्दै त्यस सम्बन्धमा सत्य-तथ्य छानबिन गर्न समिति गठन गरिएको परिषद्का कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले रेडक्रस कार्यालयलाई आइतबार गरेको पत्राचारमा उल्लेख छ । नीतिगत तथा आर्थिक भ्रष्टाचार विरुद्धका उजुरीउपर सत्य-तथ्य पत्ता लगाएर ४५ दिनभित्र सिफारिस सहितको प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । छानबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्मका लागि दैनिक प्रशासनिकसम्बन्धी कार्य र आपतकालीन कार्यक्रमबाहेक संस्थालाई दीर्घकालीन असर पर्ने प्रकृतिका कार्यहरु नगर्नु/नगराउन रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई निर्देशन दिइएको छ ।

आइतबार महिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत बोधार्थ लेखी रेडक्रस केन्द्रीय कार्यालयलाई परिषद्ले पठाएको पत्रमा भनिएको छ, ‘संस्थालाई दीर्घकाीन असर पर्ने प्रकृतिका कार्यहरु नगर्नु/नगराउन हुन निर्णायानुसार जानकारी गराइन्छ ।’

प्रकाशित : वैशाख १६, २०८१ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?