न्यायप्रणाली मै आक्रमण भयो, भ्रामक सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गर : न्यायाधीश समाज

काठमाडौँ — न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित/ प्रसारित भ्रामक समाचार न्यायप्रणालीप्रतिकै आक्रमण भएको उल्लेख गर्दै यसबारे आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

न्यायप्रणाली मै आक्रमण भयो, भ्रामक सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गर : न्यायाधीश समाज

समाजका महासचिव टेकनारायण कुँवरले आइतबार विज्ञप्ति जारी गर्दै सीधाकुरा डट कम नामक अनलाइन टि.भि./ समाचारबाट 'भ्रष्टाचारका चारसय मुद्दा हराउने गोप्य डिल' भन्ने शीर्षक दिई २०८१ वैशाख १४ गते प्रसारित र प्रकाशित गरिएको सामग्रीको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

'कुनै न्यायाधीश विशेषबाट कुनै काम कारबाही वा फैसला बदनियतपूर्वक वा कानुन विपरीत भएको भन्ने लाग्छ भने सो सम्बन्धमा सम्बन्धित निकायमा कानुन बमोजिम कै प्रक्रिया अबलम्बन गरेर उपचारको खोजि गर्नु एउटा कुरा हो तर त्यसतर्फ नलागी कुनै तथ्यको सत्य असत्यको परीक्षण पनि नगरी कुनै न्यायाधीश विशेषलाई मुछेर अदालतबाट भएको फैसलामा अनुचित प्रभाव परेको भन्ने किसिमको निष्कर्ष प्रमाणित भइसके जस्तो गरी समाचार सम्प्रेषण हुनु एउटा न्यायाधीश विशेषको विरुद्धमा मात्र नभएर समग्र न्यायप्रणाली प्रति कै आक्रमण हो भन्ने यो समाजले ठानेको छ' महासचिव कुँवरको विज्ञप्तिमा छ ।

जुन फैसलाको विषयलाई लिएर न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम मुछिएको हो सो फैसला गर्ने इजलासमा उनी समावेश नरहेको भएको व्यहोरा सोही फैसलाबाट देखिएको समाजले उल्लेख गरेको छ ।

'समाचार संस्थाबाट निर्वाह गरिने यस प्रकारको भूमिकाले आम नागरिकको आस्थाको धरोहरको रुपमा रहेको न्यायपालिका र न्यायप्रणाली प्रति नै भ्रम सिर्जना भई समग्र राज्य प्रणालीप्रति नै आम जनसाधारणमा वितृष्णा उत्पन्न गराउँछ भन्ने यो समाजको ठहर छ' विज्ञप्तिमा छ,'समाचारमा आएका विषयहरुबाट भ्रमित नहुन र यस सम्बन्धमा आवश्यक जाँचबुझ भई सम्बन्धित समाचार संस्थालाई कानूनको दायरामा ल्याउने तर्फ आवश्यक कारबाही हुन पनि सम्बन्धित सबैमा यो समाज अनुरोध गर्दछ ।'

सम्बन्धित समाचारहरू


प्रकाशित : वैशाख १६, २०८१ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?