२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

तुवाँलोले छेक्यो पोखरा

दैनिक ६० उडान हुने पोखराका दुई विमानस्थल सोमबार र मंगलबार ठप्प
सुरज कुँवर

काठमाडौँ — दैनिक ४५ सय हाराहारी यात्रुको ओहोरदोहोर हुने पोखरा क्षेत्रीय विमानस्थलमा सोमबार र मंगलबार एउटै उडान भएन । शुक्रबारयता डढेलो मिसिएको तुवाँलोका कारण उडान प्रभावित हुँदै आएको छ । तुवाँलोकै कारण काठमाडौंबाट पश्चिम तराईका भैरहवा, नेपालगन्ज, धनगढीतर्फ उड्दै गरेका जहाज जब मनकामना कटेर बन्दीपुर आकाशमा पस्छन्, न राम्ररी पोखरा देखिन्छ न फेवा र बेगनास ताल नै । 

तुवाँलोले छेक्यो पोखरा

‘हामी पश्चिमतिर जाँदै गर्दा ककपिटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि छ्याङ्गै सफा देखिन्छन्,’ बुद्ध एयरका एक वरिष्ठ एटीआर पाइलटले भने, ‘तर हिजोआज पोखरा जस्ता भित्री उपत्यकाहरू धूवाँ, धूलो मिसिएको तुवाँलोले डम्मै भरिएको छ ।’ उनका अनुसार, १२ हजार ५ सय फिट उचाइभन्दा माथि आकाश सफा छ । तर त्यसभन्दा तल मध्यपहाडी क्षेत्रको आकाश भने चुरे क्षेत्रको डढेलो र धूलो मिश्रित तुवाँलोले प्रभावित छ । ‘माथिबाट सीधा तल (भर्टिकल) हेर्दा धुमिलो भुइँ देखिन्छ तर जहाजलाई अवतरण गराउन सीधा हेर्दा अगाडि देखिँदैन,’ ती पाइलटले भने ।

पोखरा क्षेत्रीय विमानस्थल प्रमुख नविना कर्माचार्यले मंगलबारबाट मौसम सुधार हुने पूर्वानुमान गरिएको भए पनि त्यस्तो हुन नसकेको बताइन् । ‘हिजो (सोमबार) र आज (मंगलबार) तुवाँलोले ठप्पै बनायो,’ उनले कान्तिपुरसँग भनिन्, ‘विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले मंगलबारबाट मौसममा सुधार हुने पूर्वानुमान गरेको थियो । तर, पानी पर्ने संकेत देखिँदैन, हावा पनि छैन । तत्काल सुधारको सम्भावना कमै छ ।’

पोखरामा हेरेर उडान गर्दा ५ हजार मिटर अनि उपकरणको सहायता (आईएलएस) बाट उडान गराउँदा न्यूनतम ३६ सय मिटरसम्म ‘भिजिबिलिटी’ आवश्यक पर्छ । तर पोखरामा शुक्रबारयता ‘भिजिबिलिटी’ ३ हजार मिटरभन्दा माथि स्थिर हुन सकेको छैन । केहीबेर सुधार भए पनि फेरि घटिहाल्छ ।

सोमबार साँझ केहीबेर पोखराको भिजिबिलिटी ३५ सय पुगेपछि काठमाडौं विमानस्थलमा बुद्धका तीन, यतीका दुई र श्रीको एक गरी ६ वटा विमान पोखरा उड्न तयार भएका थिए, ती जहाजमा झन्डै ४ सय यात्रु थिए । ‘तर पोखरामा भिजिबिलिटी ३५ सयबाट घटेर ३ हजारमा झरेको खबर आयो,’ एटीआर विमानका प्रशिक्षक पाइलटसमेत रहेका ती क्याप्टेनले भने, ‘टावरबाट त्यो खबर आउनासाथ पोखरा उड्न तयार भएका ६ वटै जहाजका उडान रद्द भए ।’ उडान रद्द भए पनि वायुसेवा कम्पनीले सबै यात्रुलाई फिर्ता पठाइयो ।

पोखरा विमानस्थलको हवाई सुरक्षा प्रमुख इमानाथ अधिकारीका अनुसार, छिमेकी जिल्ला स्याङ्जा, तनहँॅ, पर्वत, म्याग्दीका जंगलमा लागेको डढेलोको धूवाँले पोखरा र आसपासको वायुमण्डल ढाकेको छ । ‘हामी हरेक दिन विमानस्थलको टावरमा पुग्छौं तर मौसममा सुधार नभएकाले जहाज आउँदैन, फर्किन्छौं,’ एटीसी अधिकारीले भने । उनका अनुसार, तीव्र बेगको हावा नचल्दा तुवाँलोका कारण नजिकैका पहाड र डाँडा ढाकिएका छन् । ‘अहिले धेरै ठाउँमा बिजुली, सडक बिस्तारको काम पनि भइरहेको आकाशबाट देखिन्छ । अनि पहाडमा डोजरले खनेकाले सडकको धूलो पनि गाडी गुड्दा उड्ने गर्छ । वनमा लागेको डढेलोको धूवाँसँग मिसिन्छ,’ ती क्याप्टेनले भने । उनका अनुसार, तराईका आकाशमा भने तीव्र बेगमा हावा चलेकाले त्यहाँको धूवाँ र धूलो चुरेफेदी हुँदै मध्यपहाडतर्फ पसेको जहाजबाट देखिन्छ ।

पोखरामा बसेर हवाई यातायात क्षेत्रमा ३३ वर्ष बिताइसकेका गौतम बरालले तुवाँलोका कारण उडान ठप्प भएको घटना पोखराका लागि नौलो भएको बताए । ‘म २०४७ देखि पोखरा विमानस्थलमा हवाई सेवामा जोडिएको हुँ, यसअघि यसरी तुवाँलोकै कारण दुई दिनसम्म उडान नै ठप्प भएको कहिल्यै न देखियो न सुनियो । यो पहिलो पटक हो,’ बरालले भने, ‘अहिले पोखरामा जहाज नउडेका कारण माइक्रो, पर्यटक बस मात्रै होइन लोकल बस पनि खचाखच भरिएर काठमाडौं गइरहेका छन् ।’ नागरिक उडानमा मध्यपहाडका विमानस्थलमध्ये पोखरा सबैभन्दा ब्यस्त मानिन्छ । पोखरामा दुईटा विमानस्थल एकसाथ सञ्चालनमा छन् । क्षेत्रीय विमानस्थल र पुरानो विमानस्थल ।

पुरानो विमानस्थलबाट हिमाली जिल्ला जोमसोम, मनाङका लागि नियमित तथा चार्टर गरी दैनिक १० उडान हुन्छन् । त्यहीँबाट हेलिकोप्टर र अल्ट्रालाइटका उडान पनि हुन्छन् । यता अन्तर्राष्ट्रिय उडानका लागि एक वर्षअघिबाट सञ्चालनमा ल्याइएको नयाँ विमानस्थलबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्जका लागि दुईतर्फी गरेर दैनिक ६० हाराहारी उडान हुन्छन् ।

प्रकाशित : वैशाख १९, २०८१ ०६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?