भाजपाको निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधि भारत भ्रमणमा
काठमाडौँ — भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधिहरू भारत भ्रमणमा गएका छन् ।
भाजपाको कार्यक्रम ‘बीजेपीलाई बुझौं’ भन्ने कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका नेता तथा सांसद उदय शम्शेर राणा, एमाले नेता विष्णु रिमाल, माओवादीका नेता मातृका यादव, रास्वपाका नेता शिशिर खनाल र जनमत पार्टीका नेता जयकान्त राउत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
भाजपाले विज्ञप्ति जारी गर्दै १० मुलुकका १८ राजनीतिक दलका प्रतिनिधिहरू भारतमा आउन लागेको जानकारी दिएको हो । उनीहरूले भाजपाका अध्यक्ष जेपी नड्डा, भारतका विदेशमन्त्री एस. जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनीहरू ५ दिने भ्रमणको लागि भारत गएका हुन् । भाजपाको निमन्त्रणामा नेपालका नेताहरूसहित श्रीलंका, अस्ट्रेलिया, भियतनाम, बंगलादेश, इजरायल, युगान्डा, तान्जानिया, रुस, मौरिससका दलहरूको प्रतिनिधि गएका हुन् । ‘बीजेपीलाई बुझौं’ भन्ने कार्यक्रम भाजपाले विगत केही वर्षयता विदेशीहरूलाई लक्षित गर्दै आइरहेको छ ।
प्रकाशित : वैशाख १९, २०८१ ११:४१