कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मौसममा सुधार आएपछि झन्डै एक सातापछि पोखरामा उडान नियमित

सुरज कुँवर

काठमाडौँ — मौसममा सुधार आएसँगै पोखरा विमानस्थलबाट उडान नियमित हुन थालेको छ । डढेलोको धुवाँ, धूलो मिसिएको तुँवालो (हेज र मिस्ट) का कारण शुक्रबारदेखि पोखरा विमानस्थल प्रभावित भएको थियो । 

मौसममा सुधार आएपछि झन्डै एक सातापछि पोखरामा उडान नियमित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक नवीना कर्माचार्यका अनुसार बिहीबार बिहानैदेखि पोखरामा रहेका दुवै विमानस्थल सञ्चालनमा आएका छन् । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुरानो आन्तरिक विमानस्थलबाट तीन किलोमिटर दूरीमा सञ्चालित छ ।

फेवातालनजिक रहेको पुरानो आन्तरिक विमानस्थलबाट हिमाली जिल्ला मुस्ताङ र मनाङमा उडान हुन्छन् । त्यहीबाट पर्यटकीय अल्ट्रा उडान र हेलिकोप्टर चार्टर उडान हुने गरेका छन् ।

‘पुरानो विमानस्थलमा पूरै भिएफआर (भीज्वल फ्लाइट रुल्स) प्रणाली अपनाई उडान सुरु भएको छ,’ महाप्रबन्धक कर्माचार्यले भनिन्, ‘ यता अन्तर्राष्ट्रिय विमानस्थलमा अलिअलि धमिलो छ । चालकदलले आँखाले हेरेर गर्ने भीएफआर उडान भने खुलिसकेको छैन । तर, उपकरणको सहायताबाट हुने (आईएफआर) उडान बिहानैदेखप सुरु भएको छ ।’

विमानस्थलको हवाई सुरक्षा प्रमुख इमानाथ अधिकारीका अनुसार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी ४ हजार मिटर हाराहारी रहेको छ । ‘पुरानो (फेवा विमानस्थल) मा आज तारा र समिटका ५–५ वटा जोमसोम उडान रहेका छन् । त्यो विमानस्थलबाट धमाधम उडान भइरहेका छन्,’ एयर ट्राफिक कन्ट्रोलर (एटीसी) समेत रहेका अधिकारीले भने । शुक्रबार, शनिबार र आइतबार आंशिक उडान भए पनि सोमबार र मंगलबार पोखराका दुवै विमानस्थल ठप्प भएका थिए । तुँवालोका कारण उडान नहुँदा तारा र समिटका दुईटा जहाज पोखराको आन्तरिक विमानस्थलमै रोकिएका थिए ।

पाइलटहरूका अनुसार, आखाले नदेखिने स–साना सुख्खा कणहरू हावामा हाबी हुने अनि एक हजार मिटर हाराहारी दूरीभन्दा पर दृश्यतामा अष्पष्टता हुँदा यसलाई उड्डयनकर्मीले हेज तथा मिस्ट भन्छन् ।

तुँवालो जस्तै देखिने यस्तो मौसममा फैलिने हावामा पानीका कणको उपस्थिति हुँदैन । यदि यस्तो हावामा डढेलोले उडाएर ल्याउने सुख्खा कण नभई पानीका कण भएमा यसलाई कुहिरो भनिन्छ । कुहिरो सामन्यतया: छिट्टै फैलिने र हल्का हावा चल्दा छिट्टै हराउँछ । तर, पोखराआसपासका जिल्लामा फैलिएको डढेलो, पहाडी जिल्लामा डोजरले खनेको धूले सडकबाट निरन्तर उड्ने धूलोले भित्री उपत्यकामा रहेको पोखरा दुईदिन उडान नै प्रभावित हुने गरी तुँवालोले ढाकिएको थियो ।

बुधबार भने दिउँसो १२:३० पछि केही सुधार हुँदै जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उपकरणको सहायताबाट हुने उडान आंशिक रूपमा खुला गरेको थियो । पोखरामा उडानअनुकूल मौसममा बुद्धले दैनिक २०, यतिले १० र श्रीले ३ उडान काठमाडौंबाट गर्छन् ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख २०, २०८१ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?