जापानी विदेशमन्त्री योको नेपालमा
काठमाडौँ — जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आएकी छन् । परराष्ट्र स्रोतका अनुसार उनी दिउँसो करिब १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएकी हुन् । दक्षिण एसिया भ्रमणपछि उनी जापान फर्कने कार्यक्रम छ । उनको यो पहिलो नेपाल भ्रमण हो ।
भ्रमणमा जापानी विदेशमन्त्री योकोले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डलका तहमा भेटवार्ता गर्नेछिन् ।
उक्त अवसरमा ती भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धको समीक्षासँगै आगामी यात्राको बारेमा छलफल गरिने गृहकार्य भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
‘जापानी विदेशमन्त्रीज्यूको नेपाल भ्रमणका दौरान नेपाल र जापानबीचको सबै द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । साथै, दुई मुलुकबीचको सम्बन्धका आगामी बाटोमा विषयमा पनि कुराकानी हुनेछ,’ परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले भने ।
प्रकाशित : वैशाख २३, २०८१ ११:५६